मकवानपुर । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।
आजै बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।
बिहीबार आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।
बागमती सरकारमा सहभागी राप्रपाले आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउदै र सरकारलाई दिएको समर्थन लिने निर्णय केही हप्ता अघि गरेको थियो । त्यसपछि राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिए पछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेशले सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।
राष्ट्रपती चयनको विषयमा केन्द्रीय राजनीतिमा नयाँ गठबन्धन निर्माण भए पछि त्यस्को प्रभाव प्रदेश सरकारमा समेत परेको हो । बागमती प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रस्ताब पेश गर्ने बताइएको छ ।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको बताएका छन । शनिबार हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै जम्कट्टेलले यस्तो बताएका हुन् ।
‘शान्तिप्रक्रिया टुंगोमा पु¥याउने मुद्धा ओलीले वास्ता नगरेको कारण गठबन्धनमा सम्बन्ध चिसिएको हो उनले भने ‘बाहिर हेर्दा राष्ट्रपती पदको मात्र मुद्दा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको बिषयमा कुरा नमिलेकोले गठबन्धन टुटेको हो।’
कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उनले आग्रह गरे । उनले तल्लो दर्जाको कर्मचारीको हकहितको बिषयमा पनि गम्भिर बन्न सुझाए ।कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाव दिन समेत उनले कर्मचारीहरुलाई नै आग्रह गरे । ‘कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागि पर्नुपर्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले बागमती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताए । बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास गर्ने योजना रहेको उनले बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरीबहादुर रावल, केन्द्रिय सदस्य बसन्तराज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी हुँदै ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै गरिएको दिवसका सन्दर्भमा शुभकामना दिएका हुन् ।
प्रमुखको शुभकामना सन्देशमा लैंगिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले महिला हक-अधिकारलाई सुनिश्चित गरेको उल्लेख छ । प्रमुख शर्माले लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरुमध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताएका छन् । यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा जोड दिँदै प्रमुख शर्माले जारी गरेको सन्देशमा भनिएको छ। ‘शिक्षा,स्वास्थ्य, सामाजिकीकरणजस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी-पुरुषहरुले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक छ’ सन्देशमा भनिएको छ।
नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न यो दिवसले प्रेरित गरोस् भँन्ने कामना पनि प्रदेश प्रमुख शर्मले गरेका छन् ।
“पितृसत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर,न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराँउदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस् ” शुभकामना सन्देशमा उल्लेख छ ।
मकवानपुर । आजबाट फागु अर्थात होलि पर्व सुरु भएको छ । यसै सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागु (होली) पर्वमा शुुभकामना दिदै फागु पर्व मौलिक विशेषतायुक्त संस्कृति बोकेको पर्व भएकोले राष्ट्रिय एकता कायम राख्ने बताएका छन ।
फागु पर्वको अबसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले ‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइँने यस्ता पर्वले नेपालीहरुबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने भनेका छन ।’
प्रमुख शर्माको शुभकामना सन्देशमा होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्बर्ध्दन गर्न सके राष्ट्रिय गौरवको धरोहर जर्गेना हुन सक्ने उल्लेख छ । यसलाई खुशी र सद्भावको पर्वका रुपमा मनाउँनुपर्ने भन्दै प्रमुख शर्माले भनेका छन,‘फागुलाई आपसी खुशी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढंगबाट हामीले मनाउँनु पर्दछ ।’
होलीले हाम्रो जीवन पनि उत्साहका रंगहरु भर्दै उल्लासमय बनाउन सकोस भन्ने कामना पनि प्रमुख शर्माले व्यक्त गरेका छन ।
रंगहरुको पर्व फागु (होली) आज पहाडी तथा हिमाली एवं भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ ।