मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना भएको प्रतियोगिताको हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला शनिबार विशेष समारोहकाबीच समापन गरिएको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितमा प्रतियोगिताको समापन कार्यक्रम आयोजना गरिएको थियो । जेष्ठ ७ गते मुख्यमन्त्री जम्कटे्टलले पिप्ले क्याम्पा रंगशालामै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा साथ आयोजना भएको दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, २२ रजत र २५ कांस्य गरी कुल ७८ पदक सहित च्याम्पियन बनेको हो । प्रतियोगिताको पहिलो संस्करणमा दोस्रो स्थानमा रहेको काठमाडौं दोश्रो संस्करणमा पहिलो स्थान बनाउन सफल भयो ।
प्रतियोगिताको पहिलो सस्करणमा पहिलो भएको चितवन दोस्रो सस्करणमा २३ स्वर्ण, २४ रजत र २५ कांस्य गरी कुल ७२ पदक सहित दोस्रो स्थानमा रह्यो । यस्तै काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य सहित ५३ पदक जित्दै तेस्रो स्थान बनाउन सफल भयो ।
पदक तालिकाको चौथो स्थानमा ललितपुर रहेको छ । उसले १९ स्वर्ण २७ रजत र २७ कास्य पदकाे जितेकाे छ । सिन्धुपाल्चोक पाँचौ र मकवानपुर छैटौं स्थानमा छ । सिन्धुपाल्चाेकले १७ स्वर्ण ८ रजत र १६ कास्य पदक र मकवानपुरले १६ स्वर्ण ११ रजत र १७ कास्य पदक हात पारेकाे हाे । त्यस्तै भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली क्रमशः सातौं, आठैं, नवौं, दशौं र एघारौं स्थानमा रहको छ ।
यसैगरी भक्तपुरले १४ स्वर्ण १४ रजत र ९ कास्य, नुवाकाेटले १० स्वर्ण १० रजत र २२ कास्य, रामेछापले १० स्वर्ण ९ रजत र १८ कास्य, दाेलखाले ३ स्वर्ण ११ रजत र ९ कास्य, सिन्धुलीले ३ स्वर्ण ७ रजत र १० कास्य पदक प्राप्त गरेका छन् । पदक तालिकाको अन्तिममा धादिङ र रसुवा रहेका छन् । धादिङले ६ रजत र १४ कास्य पदक प्राप्त गर्दा रसुवाले २ रजत र ५ कास्य पदका प्राप्त गरे ।
मकवानपुर, काठमाडौं, चितवन र ललितपुरमा संचालन गरिएकाे प्रतियाेगिता अन्तर्गतका १३ खेलमध्ये १२ खेलका कुल १ सय ६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।बागमती प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मुख्यमन्त्री जमकट्टेल, प्रदेशको आर्थिक मामिता तथा योजना मन्त्री बहादुर सिंह लामा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी लगायतले समापनमा टिम च्याम्पियन बनेको काठमाडौं, दोस्रो चितवन र तेस्रो काभ्रेलाई ट्रफी प्रदान गरिएको थियो । पहिलो पटक प्रदेश खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी प्रदान गरिएकाे हाे।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जेठ ७ गतेबाट सुरु भएकाे प्रतियोगितामा १३ खेल समावेश गरिएकाे थियाे । २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कास्य गरी ७ सय ९४ पदका लागि प्रतिस्पर्धा हुने बताइएकाे भए पनि १ सय ६८ स्वर्ण, १ सय ६४ रजत र २ सय १४ कास्य गरी ५ सय ५० पदकका लागि प्रतिस्पर्धा भएकाे थियाे ।
प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा प्रतिस्पर्धा गराइएकाे थियाे भने प्रतियोगिताको पुरुष फुटबल र एथ्लेटिक्स् हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा र महिला फुटबल हेटौडाकाे गौरीटार रंगशालामा खेलाइएका थिए । हेटौंडा–४ स्थित हुप्रचौरमा भलिबल, रग्वी, कराँते, तेक्वान्दो, आईटीटीफ र तेक्वान्दो खेलका प्रतिस्पर्धा भएकाे थियाे ।
त्यस्तै बक्सिङ्ग महिला र पुरुष खेल हेटौंडा–४ स्थित कर्भड हलमा तथा व्याटमिन्टन महिला र पुरुष हेटौंडा–११ थानाभ¥याङ्गस्थित कर्भड हलमा खेलाइएकाे थियाे । जुडो काठमाडौं, उसु त्रिपुरेश्वर, क्रिकेट चितवन, पौडी सादोबाटो ललितपुरमा प्रतिस्पर्धा गराइएकाे प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित बामगती प्रदेश खेलकुद बिकास परिषदले देशमै पहिलो पटक प्रदेश स्तरको खेलकुद प्रतियोगिता गत बर्ष आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा गत वर्ष ८ वटा विधामा खेल खेलाइएको मा दोस्रो संस्करणमा ५ खेल थप गर्दै १३ बिधामा प्रतियोगिता संचालन भएकाे हाे ।
प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेश समुह तयार र खेलाडीलाई नियमित अभ्यास एवम् प्रशिक्षणको उद्देश्यका साथ दोस्रो वर्ष पनि प्रतियोगिता सुरु गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । यस्तै दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको मस्कटको रुपमा लोपन्मुख सालकलाई प्रयोग गरिएको थियाे । ‘किसानको साथी’ को रुपमा हेर्ने गरिएको सालक संरक्षणको पहल स्वरुप मस्कटको रुपमा प्रयोग गरिएको बागमती प्रदेश खेलकुद परिषद कार्यालयले जनाएको छ ।
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा मकवानपुरले स्वर्ण जितेको छ । शनिबार हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फुटबल फाइनलमा काठमाडौंलाई ४-३ ले हराउदै मकवानपुर दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बनेको छ ।
खेलकुद प्रतियोगिताको अन्तिम दिन शनिबार भएको पुरुष फुटबलमा निर्धारित ९० मिनेटमा एक/एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित हासिल गर्यो ।
निकै प्रतिस्पर्धात्मक फाइनल खेलको तालमेल नमिल्दा खेल सुरु भएको १२ औँ सेकेण्डमा मकवानपुरले आत्मखाती गोल गरे संगै काठमाडौंले १–० को अग्रता बनायो ।
खेलको पहिलो हाफमा गोलको लागि संर्घषरत मकवानपुरले राम्रो अवसर पाएपनि काठमाडौंको पोष्टमा गोल गर्न सकेन । मकवानपुरका लागि खेलको ७० औँ मिनेट सुजन गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । मकवानपुरका कप्तान प्रितम स्याङ्बोको पासलाई सुजनले काठमाडौको पोष्टमा जाली चुमाए । त्यसपछिको समयमा दुबै तर्फबाट गोल हुन नसके पछि खेल पेनाल्टीमा धकेलियो ।
पेनाल्टीमा मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमा परिणत हुन सकेन । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे । काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दङ्वा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो ।
मकवानपुरका सुजन गुरुङ फाइनल खेलका म्यानअफ द क्याच घोषित भए । प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी मकवापुरका कप्तान प्रितम स्याङ्बो घोषित भए । विधागततर्फ उत्कृष्ट मकवानपुरका गोलरक्षक गोपी बर्तौला, रक्षक काठमाडौंका सौगात लामा, मिडफिल्डर मकवानपुरका स्याम्युल सुनार, फर्वाड खेमराज तामाङ, सर्वाधिक गोलकर्ता प्रितम स्याङ्बो घोषित हुँदा उत्कृष्ट प्रशिक्षकमा मकवानपुरकै बिजयलाल श्रेष्ठ चुनिए ।
बागमती खेलकुद प्रतियोगिताको पहिलो संस्करणमा मकवानपुरले ललितपुरलाई पराजित गर्दै फुटबलमा स्वर्ण जितेको थियो ।
मकवानपुर । हेटौँडामा जारी बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीमा महिलातर्फ मकवानपुर र पुरुषतर्फ भक्तपुरले स्वर्ण जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा महिलातर्फ मकवानपुरले ललितपुरलाई र पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई पराजित गर्दै उपाधी जितेको हो ।
महिलातर्फ मकवानपुरले ललितपुरलाई १७–१० स्कोरले हराउँदा पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्यो । मकवानपुरको महिला टिम चितवनलाई हराउँदै तथा पुरुष टिम रामेछापलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे । रग्बीको अन्तर्राष्ट्रिय नियम अनुसार १ ट्राइबाट ५ स्कोर प्राप्त हुन्छ भने १ कन्भर्सन वापत २ स्कोर प्राप्त हुन्छ।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे ।
दुईदिने भएको रग्बी प्रतियोगिताको पुरुषतर्फ ८ तथा महिला तर्फ ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न १३ खेल समावेश दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी पहिलोपटक समावेश गरिएको बागमती खेलकुद बिकास परिषदले जनाएको छ ।
मकवानपुर। दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ । विहीबार हेटाैडा ६ स्थित गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित गर्दै उपाधी हात पारेकाे हाे ।
काठमाडौंका लागि जीत दिलाउन सुजिता घलानले १० औं मिनेटमा र मनीषा थापा मगरले ५८ औं मिनेटमा गोल गरिन् । काठमाडौंकी सरिता ऐर प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् । अन्य व्यक्तिगत विधातर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट भए ।
महिला फुटबल तर्फ ९ टिमकाे सहभागिता रहेकाे प्रतियोगिता नकआउट आधारमा खेलाइएकाे थियाे ।
पुरुष फुटबलकाे उपाधीका लागि काठमाडौं र मकवानपुर भिड्ने
बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलकाे उपाधीकाे लागि मकवानपुर र काठमाडाै भिड्ने भएका छन् । विहीबारकाे समिफाइनल खेलबाट मकवानपुरले काभ्रेलाई र काठमाडाैले ललितपुरलाई हराउँदै फाइनलकाे समिकरण पुरा गरे ।
विहीबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलमा मकवानपुरले काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । यस्तै काठमाडाैले ललितपुरलाई १–० गोलअन्तरले पराजित गरेकाे हाे । मकवानपुरको जितमा कप्तान प्रितम स्याङ्बोले २ गोल गरे भने अर्को एक गोल अभिषेक लामाले गरे ।
काठमाडौंका लागि कब्बु कन्दङ्वाले ५०औं मिनेटमा गोल गरेका थिए । कन्दङ्वाकाे गाेल नै काठमाडाैलाई फाइनल यात्राकाे लागि निर्णायक गाेल भयाे । कन्दङ्वा म्यान अफ द म्याच घोषित भए । पुरुष फुटबलको फाइनल खेल शनिबार पिप्ले–क्याम्पा रंगशालामा हुने आयाेजक बागमती खेलकुद विकास परिषद्ले जनाएकाे छ ।
मकवानपुर । जारी दोस्रो बागमती प्रदेश खेलकुद अन्तरगत भलिबल प्रतियोगितामा काठमाडौंले महिलातर्फ र चितवनले पुरुषतर्फ स्वर्ण जितेका छन् ।
विहीबार हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले फाइनलमा दोलखालाई २५-५, २५-६ र २५-१२ को सोझो सेटमा हराउँदै महिला तर्फ स्वर्ण हात पार्याे । यस्तै चितवनले धादिङलाई २५-१७, २२-२५, २८-२६ र २५-१८ को सेटमा हराउँदै पुरुषतर्फ स्वर्ण जित्यो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २-१ ले र महिलामा चितवनले धादिङलाई २-० ले हराउँदै कांस्य पदक प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी भए ।
पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।
महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए ।