मकवानपुर । बागमती प्रदेश सभाकाे शनिबारकाे बैठकमा हेटौडामा भएकाे डाक्टर कुटपिट र १ किलाे सुन काण्डले प्रवेश पाएकाे छ । सांसद एकालाल श्रेष्ठले गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा भएको डाक्टरहरुमाथिको हातपातको विषयमा विशेष समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।
बागमती प्रदेशसभाकाे दाेस्राे अधिवेशनकाे ३१ औं वैठककाे विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषि को हो भनेर विशेष समिति बनाएर छानविन गर्नुपर्ने बताए । डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरि सृजना भयो भन्ने विषय पनि महत्वपूर्ण रहेको भन्दै उनले गम्भिर अनुसन्धानपछि निचोडमा पुग्नुपर्ने उनले बताए ।
यसैगरी केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा बागमती प्रदेशका मन्त्री समेत संलग्न भएकाेमा नेकपा एमालेले जवाफ माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाकाे नाम सुन प्रकरणमा संलग्न भएकाेमा सांसद समक्ष उनले जवाफ दिनुपर्ने माग गरेका हुन् । थपलियाले भने ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ। यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ ।’
गत मंगलबार प्रहरीले विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो । सो प्रकरणमा मन्त्री लामाको नाम मुछिएको भन्दै थपलियाले सरकारले र मन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।
यद्यपी मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् । मन्त्री र कांग्रेस जिल्ला समिति काभ्रे सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुन्छ, अर्कै प्रसंगमा खिचेको तस्वीरका कारण आफ्नो नाम जोड्नु गलत हुने उनले बताए ।
१ किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेकाेमा विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा मन्त्री लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन् ।
मन्त्री लामाले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबिनका लागि आफूले पनि सहयोग गर्ने उनले बताए ।
हेर्नुहाेस प्रदेश सभाकाे बैठकः
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्कोले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखाका प्रदिप कुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले मैनालीलाई आयोगको सदस्यमा नियूक्त गर्ने निर्णय गरेको हाे ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठका अनुसार बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, प्रदेशको एकल अधिकारमा संकुचन आउने गरी संघीय संसदबाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थपन प्राधिकरण ऐन, २०७९ पारित भएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
नेपालको संविधानको अनुसूची ६ मा सवारी साधन कर, यातायात र प्रदेश लोकमार्ग प्रदेशको एकल अधिकार सूचीमा समावेश गरिएकाेमा त्यसमा केन्द्र सरकारले उक्त ऐन मार्फत संकुचन ल्याएकाे भन्दै प्रदेश सरकार केन्द्र सरकार विरुद्ध सर्वोच्च जान लागेकाे हाे ।
यसैगरी प्रदेश सरकारले ११ औं तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई प्रदेश सभा सचिवालयकाे सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती ऐन लागू भएपछि ११ औं तहमा बढुवा भएका सचिवहरु मध्येबाट दर्जीलाई प्रदेश सभा सचिवमा सरुवा गर्ने निर्णय गरेकाे हाे ।
मकवानपुर । बागमती प्रदेश सरकारले संविधान दिवस ३ दिनसम्म मनाउने भएकाे छ । २०८० मा संविधान दिवस विविध कार्यक्रम आयोजना गरी ३ दिन मनाइने आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेशमा संविधान दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा ४७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । दिवसको अवसरमा प्रदेशका सवै जिल्लामा स्वास्थ्य परीक्षण, वृक्षारोपण, विविधता झल्कने झाँकी, प्रभातफेरी लगायतका कार्यक्रम गरिने छ । प्रदेश स्वास्थ्य मन्त्रालयले असोज २ गते प्रदेशको १३ वटै जिल्लामा मधुमेह तथा रक्तचाप निःशुल्क परीक्षण शिविर र हेटौंडामा रक्तदान कार्यक्रम गर्ने छ । यसैगरी साेही दिन वन तथा वातावरण मन्त्रालयले १३ वटै जिल्लामा वृक्षरोपण गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै, असोज ३ गते हेटौंडाको बुद्ध चोकबाट बजार क्षेत्रमा प्रादेशिक विविधता झल्कने गरी झाँकीसहित बाजागाजा गर्ने, मार्चपास तथा प्रभातफेरी कार्यक्रमको आयोजना गरिने छ । यसैगरी, असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने उनले जानकारी दिए ।
असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालय तथा अन्य कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, तीनै दिन सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गरिने छ भने सार्वजनिक निकाय र सार्वजनिक स्थलको हकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय झण्डा फहराइने उनले बताए ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन प्रति श्रद्धान्जली व्यक्त गर्दै मुलुकले असल नेता गुमाएकाे बताएका छन् ।
संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य नेम्वाङको मंगलबार विहान हृदयघातका कारण भएको निधनले आफूलाई मर्माहत बनाएको प्रदेश प्रमुख शर्माले विज्ञप्ति जारी गर्दै जनाएका छन् । प्रदेश प्रमुख शर्माले विज्ञप्तिमा नेम्वाङको निधनबाट मुलुकले एक कुशल सांसद एवम् असल, मृदुभाषी, समन्वयकारी नेता गुमाएको उल्लेख गरेका छन् ।
निधनकाे दुखद् घडीमा सरल नेता नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’ प्रमुखको श्रद्धाञ्जलीमा विज्ञप्तिमा भनिएको छ ‘उहाँकी जीवन संगिनी तथा नेम्वाङ परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । चालु आथिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि बैठक बस्न सकेको छैन ।
गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो । बैठकको लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो । तर बैठक २० गते पनि बस्न सकेन । त्यसपछि आज २४ गतेको लाग सभा आव्हान गरिएको छ ।
२ महिनापछि बोलाइएको बैठक १८ गते दिनभर दलको नेताहरुबीच सहमति हुन नसकेपछि २० बुधबारको लागि तय भएकोमा फेरि पनि सहमति हुन सकेन । दलहरुबीचको पछिल्लो सहमति अनुसार आज अपराह्न १ बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार आजको लागि बैठक सारिएको बताइएको भए पनि आज प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस नेता शेखर कोइराला हेटौंडा आउने कार्यक्रम भएकोले आज पनि बैठक प्रभावित हुने अनुमान गरिएको छ । बैठकमा माओवादी र काँग्रेस साँसदहरु सभामा अनुपस्थित हुने अनुमान गरिएको छ ।