मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आज भएको चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि बिभागिय टिम त्रिभुवन आर्मीले हात पारेको छ ।
साबिक बिजेता आर्मीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको घरेलु टिम एफसी विजय युथले १० लाख रुपैयाँ पाएको छ ।
चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यसअघि तेस्रो संस्करणमा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले नै बुलेट बाइकको प्रयोजन गरेको थियो । तेस्रो संस्करणमा मकवानपुरकै अमीर श्रेष्ठले बुलेट बाइक पाएका थिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको हो ।
मकवानपुर । हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल जेठ ३० गते साेमबार हुँदैछ । प्रतियोगिताको उपाधी लागि घरेलु टोली विजय युथ क्लब हेटाैडा र विभागीय टाेली नेपाल आर्मी क्लब भिड्दै छन् ।
यस अघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपमा पनि आर्मी र विजय युथ बीच नै फाइनल भिडन्त भएको थियो । फाइनलमा आर्मी विजेता बनेको थियो भने विजय युथ उपविजेता बनेको थियो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने दुई टोली बीचको खेल दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ । विजय युथ क्लब समुह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो । आर्मी समुह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको छ। विजय युथले नव जनजागृती युवा क्लब सिमरा र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । यस्तै आर्मीले नेपाल एपिएफ र क्यामरुनी टोली एभिनियर एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्बोकृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछ ।
आइतबार जेठ २९ गते भएकाे प्री म्याच कन्फ्रेन्समा प्रतियोगिताको उपाधी हात पार्ने योजनासहित आफ्नो टिम मैदान उत्रने नेपाल आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दाबी गरेका छन् । ‘घरेलु टोलीसँग खेल्न पाउँदा धेरै खुशी लागेको छ’ न्याैपानेले भने ‘घरेलु टोलीको दर्शकको मन जितेर उपाधी हात पार्छाै ।’ उनले फाइनल खेलमा आफ्नो टिममा नयाँ खेलाडी थप नहुने जानकारी दिए ।
आर्मीका कप्तान भरत खवासले फाइनलसम्म पुग्दा खुशी लागेको र फाइनल खेलका लागि पुरा तयारी रहेको बताए । घरेलु टोलीसँग खेल्दा केही असहज हुने र घरेलु टोलीलाई नै सर्मथन, हौसला मिल्ने उनको भनाई छ । कप्तान खवासले घरेलु दर्शकलाई मैदान आएर मनपर्ने टिमलाई हौसला प्रदान गरेर माया गरिदिन आग्रह समेत गरेका छन् ।
यस्तै विजय युथ क्लबका कप्तान अशोक बरालले उपाधी जित्ने गरी खेल्ने बताए । आफुहरु भन्दा सिनियर टिमले भरिएको आर्मीसँग खेल्न भने केही असहज हुने उनले बताए । राम्रै मिहेनत गरेर फाइनल पुगेको र फाइनलसम्म पुग्नु पनि ठुलो उपलब्धी हाे तर पनि फाइनल खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रन्छाैं बराल भने ।
चौथौं मकवानपुर गोल्डकपको संयोजक प्रताब विष्टको सभाध्यक्षतामा भएको प्री म्याच कन्प्रेन्समा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल लगायत जिल्ला फुटबल संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
मकवानपुर । साविक विजेता विभागीय टाेली त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हाे ।
खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दा खेलकाे निर्धारित समय बराबरीमा सकिएकाे थियाे । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो ।
टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो । सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानीय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो ।
सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।
अब जेठ ३० गते साेमबार हुने फाइनलमा विजय युथ र आर्मी उपाधिकाे लागि भिड्ने छन् । विजय युथले शुक्रबार विभागीय टाेली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा फाईलन प्रवेश गरेको छ ।
आज शुक्रबारबाट सुरू भएको सेमिफाइनल खेलमा बिजयी हुंदै विजय युथ क्लबले फाइनलको यात्रा तय गरेको हो । हेटौंडा–५ को पिप्ले रंगशालामा आजकाे पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथले फाईनल यात्रा तय गरेकाे हाे ।
प्रतियोगितामा विजय युथका विदेशी खेलाडी पेपेले गरेको पहिलाे गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे । विजय युथले जेठ ३० गते हुने फाइनलमा भोली हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासंग खेल खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा भोली शनिबार अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टाेली सहित १२ क्लबकाे सहभागिता रहेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज शुक्रबारबाट सेमिफाइनलको खेल हुने भएको छ ।
हेटौंडा-५ को पिप्ले रंगशालामा शुक्रबार फाइनल प्रवेशको लगि पहिलो खेल अपरान्न ४ बजे घरेलु टोली विजय युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । विजेता टोलीले जेठ ३० गते हुने फाइनल खेलमा प्रवेश पाउनेछ । विहीबार बिहान भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ सेमिफाईनलमा प्रवेश गरेको थियो ।
यसैगरि,दोस्रो सेमिफाइनल खेल शनिबार जेठ २८ गते अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । विहीबार पिप्ले रंगशालामा भएको दोस्रो खेलमा चर्चव्वाईज क्लब काठमाडौलाई ४-० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको हो ।
३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।
मोफसलको यो सबैभन्दा ठुलो धनराशीको यो प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।