काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए ।
च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए ।
रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् । पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ ।
गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडी हरुलाई मध्येनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ ।
सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैंया रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्तरगत आईतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।
मकवानपुर । बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाले हात पारेको छ । काठमाडौंमा आयोजना भएको बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर बिजेता बनेको हो ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर विजेता बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भएका छन ।
५ विकेट लिए बापत शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले १३ हजार नगद प्रदान गरेका थिए ।
मकवानपुर । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने र नवप्रवेशी खेलाडीलाई प्रोत्साहन मिल्ने गरि मकवानपुरमा पालिका स्तरीय भलिबल हुने भएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान पर्व तिहारको अबसरमा बकैयाको खेलकुद विकास समितिको आयोजनामा पुरुष भलिबल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर गरी १४ जना हुनु पर्ने आयोजकले जनाएको छ । खेलाडीहरु आफ्नो वडाको हुनु पर्ने बताईएकोे छ । खेल तालिका कात्तिक १ गते मंगलबार सार्वजनिक हुनेछ ।
प्रतियोगिताका लागि सहभागीको दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा विजेता हुनेले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलकाे दोस्राे खेलमा बागमती प्रदेशले विजयी सुरुवात गरेकाे छ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको दोस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।
३५/३५ मिनेटकाे खेलाईएकाे खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे ।
खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बिच दोस्रो खेल हुनेछ ।
मकवानपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे उद्घाटन यही असाेज २८ गते हुने भय पनि आज आइतबारबाट पोखरामा खेल सुरु हुँदैछ । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । तोकिएको मितिमा समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन हुनु अघि नै केही खेल सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आज आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुने भएकाे हाे ।महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने बताइएकाे छ । यसैगरी आइतबारको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका बीचमा हुनेछ ।
महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस–प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटनलगायत अधिकांश खेलको मिति आउन अझै एक साता समय बाँकी रहेकाले खेलस्थल मर्मत, सरसफाइ र रङरोगनका काम भइरहेकाे छ । गण्डकी प्रदेशमा ४० वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद हुँदैछ । प्रतियोगितामा देशका सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । पोखरासहित गण्डकी प्रदेशका आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ ।
अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रङ्गशालामा हुनेछ। प्रतियोगितामा ३ सय ९२ स्वर्ण, ३ सय ९२ रजत र ६ सय कास्य गरी १ हजार ३ सय ८४ पदकका लागि खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशबाट सर्वाधिक ७ सय २ खेलाडी सहभागी हुँदैछन् । गण्डकीले प्रतियोगिताका सबै खेलमा भाग लिएको छ ।
राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाका ६ सय ७३ खेलाडी सहभागी हुँदैछन् । यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले प्रतियोगिताका लागि ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको छ ।
यसैगरी बागमती प्रदेशबाट ४ सय ३०, प्रदेश नं १ बाट ३ सय ७१, मधेस प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशबाट १ सय २३ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् । –