मकवानपुर । जेसीआई बसामाडीको आयोजनामा हेटौंडामा भएको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको छ ।
जेसीआई बसामाडीको २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको हो । शनिबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा आग्रा स्पोर्ट्स क्लबले विनयवावु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै उपाधि हात पारेको हो ।
फाइनल खेलमा आग्रा स्पोर्ट्सले विनयवावु प्रतिष्ठानलाई २५–२०, २६–२४ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिसँगै आग्राले ६५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता विनयवावुले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आग्राका पुजन गुरुङ घोषित हुँदा उत्कृष्ट स्पाइकर आग्राकै रमेश थिङ र सञ्जय थिङ घोषित भए ।
प्रतियोगितामा सहभागी ७ वटा टिम मध्ये बज्रबाराही युवा क्लब अनुशासित टिम घोषित भयो । प्रतियोगितामा विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जेसीआई बसामाडीका अध्यक्ष चिराग अग्रवालले नगद तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल बागमती प्रदेश सभा सदस्य छिन्तु प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस मकवानपुरका वरिष्ठ नेता तथा जेसिआइ बसामाडीका अध्यक्ष सल्लाहकार जेसी अशोक शाक्यको विशिष्ट आतिथ्यता र पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा प्रहरी निरीक्षक चुडा कुमारी खड्काको विशेष आतिथ्यतामा भएको हो।
मकवानपुर । आज पुस १ गते शुक्रबारबाट जिल्ला स्तरीय तेक्वान्दो हेटौंडामा हुने भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने प्रतिगोगिता दुई दिनसम्म चल्ने छ ।
प्रतियोगितामा जिल्लाको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका १५ वटा डोजाङले सहभागिता जनाउने भएका छन् । पुरुष र महिलाका विभिन्न विद्यामा हुने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा गराईने तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिए ।
उनले लामो समयसम्म तेक्वान्दोको प्रतियोगिता नहुँदा जिल्लामा खेलाडी उत्पादन गर्न समस्या हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागेका बताए । अध्यक्ष बज्राचार्यले पुरुषतर्फ ५ केजीको फरकमा ६३ केजीसम्म र महिलातर्फ ५ केजीको अन्तरमा ५२ केजीसम्मका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने बताए ।
मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले नै खर्च गर्ने गरी गर्न लागिएको प्रतियोगिताका लागि करिब २ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ र ५ हजार रुपैयाँको सामग्री प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार अध्यक्ष बज्राचार्यले आफ्नो व्यक्तिगत खर्चमा दिन लागेका बताए ।
मकवानपुर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्सले फाइनल यात्रा तय गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनल प्रबेश गरेको हो ।
बुधबार राति फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र रान्डल कोलो मुआनीले एक-एक गोल गरे । थियोले ५ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
अब विश्वकप २०२२ उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्त पुष ३ गते आइतबार हुने भएको छ । सेमिफाइनलमा पराजित क्रोएसिया र मोरक्को तेस्रो स्थानको लागि पुस २ गते शनिबार खेल्ने छन् ।
मकवानपुर । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना फाइनल प्रवेश गरेको छ ।
नेपाली समय अनुसार मंगलबार राती १२:४५ बजे लुसेल रंगशालामा भएको पहिले सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउदै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाले खेलको ३४ मिनेटमा पेनाल्टी बाट १ गोलको अग्रता लिएको थियो ।
खेलको पहिलो हाफको ३९ औ मिनेटमा पुन १ गोल थपेको अर्जेन्टिनाले दोस्रो हाफको ६९ औ मिनेटमा क्रोएसियाको गोल पोष्टमा थप एक गोल गर्दै फाइनल प्रवेश गरेको हो । क्रोएसियाले खेल अबधि भर गोल गर्ने प्रयास सफल भएन ।
कतारमा विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलको यात्रा तय गरेका थिए । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४-२ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर सेमिफाइनल प्रवेश गरेको हो ।
कतार विश्वकपको दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्स बिच हुनेछ । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा हुनेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको क्वाटरफाइनल खेलबाट पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
विश्वकप अन्तर्गत फाइनल खेल अर्जेन्टिना र मोरक्को र फ्रान्स बिच हुने सेमिफाइनल बिजेता बिच पुस ३ गते हुने छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा राष्ट्रिय भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएकाे छ । आठौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप ८ ए साईड फुटबल प्रतियोगिता आगामी पुस १९ बाट हुने भएको हाे ।
आयोजक हेटौंडा भेट्रान्स क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएकाे छ । प्रतियोगिता आगामी पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष रमेश कुमार उप्रतीले बताए । हेटौंडा–५, पिप्लेस्थित क्याम्पाचौरमा हुने प्रतियोगितामा देशभरका २० वटा भेट्रान्स टिम सहभागी रहने अध्यक्ष उप्रेती जानकारी दिए ।
प्रतियाेगितामा मकवानपुर सहित चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका २० टाेली सहभागी हुने क्लब सचिव कविन सांगामीले बताए । उनका भने ‘प्रतियाेगितामा सहभागिताकाे लागि सम्भव भएसम्म भारत र बंगलादेशबाट पनि टिम ल्याउने तयारी गरिरहेका छौं ।’ प्रतियाेगितामा पूर्वराष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने अपेक्षा आयाेजकले गरेकाे छ ।
४० वर्ष माथीका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब, जेसीज, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने बताइएकाे छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । खेलमा म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने खेल संयाेजक राजकुमार श्रेष्ठले बताए ।