मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडामा आगामी पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो ।
मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को प्रायोजकमा प्रतियोगिता हुने बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पोखरेलले बताए ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ तथा उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई समान २।२ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस्तै अनुशासित टिमलाई बल र नेट समेत प्रदान गरिने बताइएको छ ।
हेटौंडा–४, हुप्रचौरको भलिबल कोर्टमा हुने प्रतियोगितामा सहभागी समुहको दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पाचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण पुष २४ गतेदेखि माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुने भएको हो ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए ।
‘फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाप्रतियोगिताको मुख्य उद्देश्य हो’ श्रेष्ठले भने । खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,
हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । वागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको बताइएको छ ।
प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाचौ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । वागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।
फुटबलका विश्वहस्ती महान् फुटबलर पेलेको निधन भएको छ । ब्राजिलियन फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।
पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनकाे मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् समेत पुष्टि गरेकी छिन् । पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।
सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । पेलेले चारवटा बिश्वकप खेलेका थिए भने तीन खेल जितेका थिए । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।
उनले १९५८ ,१९६२ र १९७० मा भएको विश्वकपमा सहभागी हुँदा १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।
मकवानपुर । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले उपाधि हात पारेको हो । पेनाल्टी सुट आउटमा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी हुँदा यो उसको तेस्रो विश्वकप उपाधि हो ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्सले कतारको लुसेल स्टेडियममा फाइनल खेलेका थिए । पहिलो हाफमा अर्जेन्टिनाले लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले २ गोलको अग्रता बनाएको थियो । तर, फ्रान्सका किलियान एम्बाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएका थिए ।
यसअघि १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । त्यसपछि खेल पेनाल्टीमा पुगेको थियो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी भएको हो ।
अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई हराएको थियो ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी हात पारेको छ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने नियम रहेको छ ।
मकवानपुर । क्रोएसिया कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै तेस्रो भएको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २–१ ले हराउँदै गत संस्करण उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
कतारको खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउने क्रममा जोस्को ग्वार्डिओल र मिसलाभ ओर्सिकले एक/एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको सातौँ मिनेटमा उसले जोस्को ग्वार्डिओलको गोलबाट अग्रता लियो ।
मोरक्कोका अचरफ दारीले ९ मिनेटमा गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । मोरक्कोले खेललाई बराबरीमा रोक्न खोजे पनि सफल भएन । ४२ औं मिनेटमा मिसलाभ ओर्सिकले गोल गर्दै क्रोएसियालाई २–१ को रोमाञ्चक जित दिलाए ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल ८ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई २–० ले हराएको थियो ।
क्रोएसिया र मोरक्कोले कति पाए पुरस्कार राशी?
तेस्रो स्थान हासिल गरेसँगै क्रोएसियाले २७ मिलियन अमेरिकी डलर पुरस्कार राशी प्राप्त गर्ने भएको छ । मोरक्कोले चौथो स्थान हासिल गर्दा २५ मिलियन अमेरिकी डलर पाउने भएको छ । त्यस्तै, क्वार्टरफाइनलमा पुग्ने टोलीले १७ मिलियन, अन्तिम १६ मा पुग्ने प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले ९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६।१ किलोग्रामको आकर्षक ट्रफी हात पार्नेछ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने छ ।