मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडामा आगामी पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो ।
मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को प्रायोजकमा प्रतियोगिता हुने बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पोखरेलले बताए ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ तथा उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई समान २।२ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस्तै अनुशासित टिमलाई बल र नेट समेत प्रदान गरिने बताइएको छ ।
हेटौंडा–४, हुप्रचौरको भलिबल कोर्टमा हुने प्रतियोगितामा सहभागी समुहको दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।

