मकवानपुर । मकवानपुरकाे हेटौडामा आगामी फागुन २९ गतेदेखि सुरु गर्न लागिएको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई तिव्रता दिइएको आयोजकले जनाएको छ ।
जेन्जी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तिव्र पारिएको हो । अहिले महोत्सव स्थलको घेराबारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भारलगायतका कार्य भैरहेको छ’, अध्यक्ष मोक्तानले भने । महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिनेछ ।
महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । ४ सयवटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्तानले बताए ।
महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ ।
खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।
हटिया,मकवानपुर । मकवानपुरकाे हटियामा भएकाे एट ए (8A) साइड अन्डर १६ (Under 16) नकआउट फुटबल प्रतियोगिता २०८२ काे उपाधी ज्ञानज्योति युवा क्लबले हात पारेकाे छ ।
क्रियटिभ स्पोर्ट्स एण्ड डिजिटल एकेडमीद्वारा आयोजनामा आइतबार भएकाे फाइनलमा यात्रा फुटबल टिमलाई हराउँदै ज्ञानज्योती विजेता बनेकाे हाे । विजेता र उपविजेता टीम तथा खेलाडीले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौडा उपमहानगरपालिकाका १७ र १६ नम्बर वडाका ५ वटा टिमकाे सहभागिता रहेकाे थियो । प्रतियोगितामा साविक हटियाका दाविले क्लब, ज्ञानज्योति युवा क्लब, रोड स्टार फुटबल टीम, फुटबल क्लब दबिले र यात्रा फुटबल टीम सहभागी भएका थिए ।
क्रियटिभ स्पोर्ट्स एण्ड डिजिटल एकेडेमी प्रमुख भोजराज पराजुलीले आयोजना एवम् व्यवस्थापन गरेकाे प्रतियोगिताको नगद पुरस्कार सौजन्य हेटौडा १७ हटिया दाविले घर भई रोमानियामा रहनु भएका सुन्दर रेग्मीले गरेका थिए ।
प्रतियोगितामा खेलाडीहरु अब्बल रहेका र निरन्तर अभ्यास गर्न र गराउन सकिएमा फुटबलमा धेरै अघि बढ्न सक्ने महसुस गरिएको पराजुलीले बताए । ‘सम्बन्धित निकायको ध्यान पुग्न सकेमा राम्रो नतिजा ल्याउन सक्नेछन्’ उनले भने । प्रतियोगितालाई निरन्तरता दिँदै वर्षको १ पटक अझ धेरै टीम सहभागी गराई प्रतियोगिता आयोजना गरी खेलाडी पहिचान गर्ने लक्ष राखिएको उनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष उद्धब सत्यालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मकवानपुर महासचिव छवि सुवेदी, अस्थायी प्रहरी चौकी हटियाका प्रमुख, ज्ञान ज्योती युवा क्लबका सुवास फुयाँल, समाजसेवी नारायण ढकाल, शम्भु पराजुली, होम नेपाली, दाविले टोल विकास समिति सचिव कृष्ण प्रसाद पराजुलीलगायत उपस्थित थिए ।
प्रतियोगिताकाे सहजिकरण मकवानपुरका एन्फा रेफ्री सन्तोष राईले गरेका थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवको उद्घाटन गरिएको छ । हेटौंडा ४ नं. वडा कार्यालयकाे आयाेजनामा भएको महोत्सवको शुक्रबार उद्घाटन गरिएकाे छ ।
४ नम्बर वडा शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा भएकाे तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवकाे अवसरमा र्यालीकाे समेत आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा संविधानसभाका सदस्य अनन्त पाैडेलले ४ नं. वडा कार्यालयले भाैतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकाे बताए । ‘यस्ता गतिविधिले विद्यार्थीकाे शारीरिक र मानसिक विकास गर्न हुन्छ’ उनले भने खेलकुद क्षेत्रमा विद्यालय तहबाटै लगानी गर्दा उत्कृष्ट खेलाडि उत्पादनमा सघाउ पुर्याउने छ ।’
हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं. वडाकाे प्राथमिकता रहेकाेले दुबैलाई संगै लैजान कार्यक्रम गरिदै आएको जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयाेजक श्रीराम दाहालले महाेत्सवमा विभिन्न प्रतियाेगितामा १२ विद्यार्थी सहभागी भएकाे र प्रतियाेगिता अन्तर्गत विजेता ३ सयभन्दा बढि विद्यार्थीलाई पुरस्कृत गरिने जानकारी दिए ।
महाेत्सवमा नगरस्तरीय, फुटबल, भलिवल, क्रिकेट, बाँस्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरी जवाफ, बक्तृत्व, हिज्जे, बादविवाद, कविता, क्वीच प्रतियाेगिता भएकाे खेलकुद संयाेजक राजाराम पाेखरेलले जानकारी दिए ।
प्रतियोगिता अन्तरगतका बिधगत विजेता आगामी फागुन ७ गते प्रजातन्त्र दिवसकाे अवसरमा पुरस्कार वितरण गरिने आयाेजकले जनाएकाे छ ।
मकवापुर । नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबलको उपाधि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेकाे छ ।
शनिबार हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविलाई सोझो सेटले हराउँदै हेटौंडाा-४ काे आधुनिकले उपाधि जितेको हो । प्रतियोगितामा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि तृतीय भएको छ । बालज्योतिले हेटौंडा–१४ स्थित भृकुटी माविलाई २–१ को सेटले पारजित गरेको हाे ।
शनिबारै भएको सेमिफाइनल खेलबाट आधुनिक मावि भृकुटी माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । ज्योति माविले बालज्योति माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यालयहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को आयोजनामा भएको प्रतियोगितामा २ वटा आधारभूत विद्यालय र १८ वटा माध्यमिक विद्यालय गरी २० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । ५ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदनले हात पारेको छ । शनिबारको फाइनल खेलमा ब्रम्हदिक एकेडेमीलाई १७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै नवोदयले उपाधिमा कब्जा जमाएको हो ।
नवोदयका जीतमा माधव भूर्तेलले ४ गोल, सुनिल मल्ल, किशोर श्रेष्ठ र बिजेन लामाले ह्याट्रिक पूरा गरेका थिए । यस्तै किसव दासले २ गोल, अजय बजगाई र कविर गौतमले १–१ गोल गरेका थिए ।ब्रम्हदिक एकेडेमीका सन्देश तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए ।
प्रतियोगिताभरी १३ गोल गरेका नवोदयका माधव भुर्तेल ‘टप स्कोरर’ घोषित भए भने ब्रम्हदिकका अनुज कार्की उत्कृष्ट खेलाडी घोषित भए ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
भुटनदेवी माविलाई ९- १ को गोल अन्तरले पराजित गर्दै नवोदयले विजयी सुरुवात गरेको थियो । श्रमिक माविसंग २-२ गोलको बराबरी भएपछि ब्रम्हदिकले ट्राइबेकरमा जित निकाल्दै नवोदयसंग भेट पक्का गरेको थियो ।
प्रतियोगिताका बिजयी टिमलाई फाल्गुन ७ गते कार्यक्रम गरि पुरस्कार वितरण गरिने छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ को व्यवस्थापन र ब्रम्हदिक एकेडेमीको सह व्यवस्थापनमा भएको प्रतियोगितामा हेटौंडा ४ नम्वर वडाका चार वटा विद्यालयले सहभागिता रहेको थियो ।