मकवानपुर । हेटौडामा चैत २४ गतेबाट हुने चौथो मेयर कप फुुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । हेटौडा उपमहानगरपालिकाकाे सहयाेग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा हुने प्रतियाेगिताकाे खेल तालिका बिहीबार सार्वजनिक गरिएकाे छ ।
सार्वजनिक खेलतालिका अनुसार चैत २४ गतेकाे उद्घाटन खेल साविक विजेता हेटौंडा ११ र ३ नम्बर वडा भिड्ने भएका छन् । चौथो संस्करणको प्रतियोेगितामा हेटौँडा उपमहानगरका १९ वटै वडाले सहभागिता जनाएकाे युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले जानकारी दिए । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोेगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ ।
प्रतियोेगिताकाे विजेता टिमले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्र्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी भई तृतीय र चौथो हुने टिमले सान्त्वना स्वरुप ५० हजार र २५ हजार रुपैैयाँ नगद प्राप्त गर्ने सिटौलाले बताए ।
गत जेठ १६ गतेबाट भएकाे तेस्राे संस्करणकाे मेयर कपकाे उपाधी ११ नम्बर वडाले हात पारेकाे थियाे । फाइनल खेलमा १५ नम्बर वडालाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले हराउदै ११ ले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणकाे उपाधी १० नम्बर वडाले जितेको थियो ।
बारा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज शनिबार मकवानपुर र पर्सा भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
पर्सा समूह ‘ए’ को विजेता भइ फाइनल प्रवेश गरेकाे हाे । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो । मकवानपुरले समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको थियाे । मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो । मकवानपुरका लागि तक्षक सिम्ख्डाले ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।
रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४।५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २-२, समिर चौलागाई र अशिम श्रेष्ठले १-१ विकेट हात पारे ।
भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो । समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २-२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।
खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा मंगलबारबाट नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप सुरु हुने भएको हाे ।
हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने प्रतियोगितामा ४५ वर्ष उमेर समूहमाथिका पूर्व खेलाडीहरुको सहभागीता रहनेछन् । साथै टिममा २ जना खेलाडी अनिवार्य ५० वर्षमाथिको हुनु पर्नेछ । फागुन २६ गतेसम्म संचालन हुने प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन मंगलबार ५ खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे नागस्वती भेट्रान्स हेटौंडा र बौद्ध भेट्रान्स काठमाडौं बीच हुनेछ । दोश्रो खेल मंगलबार नै बिहान १० बजे अभिषेक चर्च र बानेश्वर फ्रेन्स भेट्रान्सबीच हुनेछ । यस्तै, तेश्रो खेल बिहान ११ बजे थारू भेट्रान्स र पशुपति भेट्रान्स हेटौंडाबीच हुनेछ भने चौथो खेल मध्यान्ह १२ः३० बजे चितवन भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ ।
यस्तै, उक्त दिनको अन्तिम खेल अर्थात पाँचौ खेल दिउँसो २ बजे हेटौडा भेट्रान्स बि र एन जे.जे वाई सि सिमराबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाट्न भने दिउँसो २ बजे क्याम्पा रंगशालामा हुने क्लब सचिव कबिन साङ्गामीले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
मकवानपुर । मकवानपुरकाे हेटाैडा उपमहानगरपालिका वडा १८ मा गठित वडा स्तरीय खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुले आज पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् ।
वडास्तरमा गठित खेलकुद विकास समितीलाई वडा अध्यक्ष अनिल बानियाँले पद तथा गाेपनीयताकाे सपथ गराएका हुन्। गत फागुन ८ गते गठित समितीले आज सपथ लिएकाे हाे । समिती संयाेजक जित बहादुर अधिकारी, उप संयाेजक कुसम थामी, सदस्यहरुमा राजेश कुमार जि.एम, अशोक श्रेष्ठ, निमेश सुवेदी, लाेकेन्द्र सुर्खेती, कर्णबहादुर न्याैपाने, निर्जल कार्की, जिवनराम बानियाँ, राजेश पाण्डे, सिता श्रेष्ठ र सदस्य सचिवमा वडा सचिव दिपेन्द्र ढकालले सपथ लिएकाे वडा सदस्य याेगराज खतिवडाले बताए ।
वडा अध्यक्ष अनिल बानियाँले वडा स्तरमा खेलकुदकाे विकासकाे लागि याे समितिले सिर्जनशील भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । वडामा महिला तथा पुरुष खेलाडीलाई प्रेरित गरेर काम गर्न, लुकेका प्रतिभालाई प्रस्फुटन गराउन समितीले ध्यान दिनु पर्ने बानियाँले बताए । समितीमा सबै प्रकारकाे विधाकाे खेलाडीहरुकाे सहभागीता भएकाे स्मरण गराउँदै अध्यक्ष बानियाँले सबै विधाकाे खेललाई समान अवसर प्रदान गर्न, विधि, विधान र कार्यविधि बनाएर त्यस अनुसार काम गर्न निर्देशन दिए ।
यसैगरी वडाकाे सवै प्रकारकाे खेललाई समान प्राथमिकता दिएर खेलक्षत्रकाे विकासमा लागि पर्न वडा सदस्य खतिवडाले समितिलाई शुभकामना दिए । खेल क्षत्रकाे विकासमा वडाले गर्नुपर्ने समन्वयमा आफूहरु तयार रहेकाे खतिवडाले बताए ।
सपथ ग्रहण कार्यक्रममा वडा सदस्यहरु पुजा मंग्रातीलगायतकाे समेत उपस्थिति रहेकाे थियाे । साेही दिन सुदर्शन खतिवडाकाे संयाेजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएकाे थियाे। सल्लाहकार समितिकाे सदस्यहरुमा मनकुमार न्याैपाने, जितबहादुर राना, विक्रमराज पाण्डे र कविन्द्र भण्डारी रहेका छन् ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका १५ नं वडा कार्यालयले वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता २०८० आयाेजना गर्ने भएकाे छ ।
उपमहानगरकाे १९ वटा वडाहरुकाे टिमबीच वडा स्तरीय फुटबल प्रतियाेगिता गर्न लागेकाे वडा अध्यक्ष सुनिल माेक्तानले बताए । सोनाम ल्होसार २८६० औ डुक ल्हो (नयाँ बर्ष) को अवसरमा १५ नं. वडा कार्यालय चुरियामाई हेटौडा मकवानपुरको प्रायोजन र वडास्तरिय खेलकुद विकास समिति हेटौडा १५ को आयोजनामा प्रतियाेगीता गर्न लागिएकाे हाे ।
हेटौडा उपमहानगरपालिकाको १- १९ वटै वडाको सहभागितामा नगरका प्रत्येक वडा भित्रका टोलका खेलाडीहरु उत्पादन गर्ने मुख्य उद्देश्यका साथ प्रतियाेगिता गर्न लागिएकाे माेक्ताने बताए । खेलकुदले राष्ट्रकाे पहिचान राख्ने बताउँदै उनले खेलाडी उत्पादनकाे लागि यस्ता प्रतियाेगिताहरु महत्वपूर्ण हुने भएकाले वडाले लगानी गर्न लागेकाे उनले बताए । प्रतियाेगिताकाे लागि आवश्यक खर्चकाे व्यवस्थापनमा स्थानीय संघसंस्थाहरुसँग पनि समन्वय गरीने उनले बताए ।
अन्तर वडास्तरिय १५ नं. वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०८०” दोश्रो संस्करण हाे । खेल आगामी चैत ९ गते सुरु हुने छ । हेटाैडा ६ गौरीटार रंगशालामा खेल हुने वडास्तरिय खेलकुद विकास समिति अध्यक्ष गोविन्द नेगीले बताए ।
प्रतियाेगितामा विजेता हुनेलाई नगद १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार प्रदान गरिने वडा कार्यालयले जनाएकाे छ । यसैगरी प्रत्येक म्याचको म्यान अफ द म्याच विधागत तर्फ उत्कृष्ट फर्वाड, मिड फिल्डर, गोल किपर, डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको नेगीले बताए । वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएकाे हाे ।