मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेकाे छ । परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।
परिषद्ले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तानलाई नियुक्त गरेकाे छ । समिति मकवानपुरमा दुई जना सदस्यहरु पनि नियुक्त गरेको छ । सदस्यमा मदन उप्रेती र कृष्ण रुम्बालाई नियुक्त गरिएकाे छ ।
विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षबिहीन रहेका थिए । बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबारको बैठकले मकवानपुरसहित, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरिएको भण्डारीले बताए ।
समितिकाे कार्यकाल यसअघि दुई वर्ष रहेकोमा त्यसलाई बढाएर परिषद्ले चार वर्ष बनाएको छ । अहिलेकाे समितिको कार्यकाल चार वर्षको हुनेछ । खेलकुद विकास समिति अध्यक्ष रिक्त रहेकाे प्रदेशका चितवन, रसुवा, दोलखा, नुवाकोट, रामेछाप ललितपुर र भक्तपुर गरी ७ जिल्लामा भने अध्यक्ष नियुक्त गरिएकाे छैन् ।
मकवानपुर । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई बजेट रकमान्तर गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको लागि उक्त रकम रकमान्तर गरी भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।
प्रदेश सरकारले यसअघि उक्त रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएकाे उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ । उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । उक्त कामकाे सम्झौता प्रस्ताव अनुसार ५२ करोड ५० लाख अर्थात ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र २२ करोड ५० लाख अर्थात ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।
यसैगरी बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्ड भ्रमण स्वीकृत गरेकाे छ । सचिव भट्टराईकाे असार २९ देखि साउन ४ गतेसम्मकाे अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले तेक्वान्दाे खेल सामग्री सहयाेग गरेकाे छ । वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङ हेटौडा २ लाई खेल सामग्री सहयोग गरेको हाे ।
डोजाङका प्रमुख युसुफ हुसेनलाई हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले वडा सदस्य सुरज बर्तौला, मैया परियार, मकवानपुर जिल्ला तेक्वान्दो संघका पदाधिकारी लगायतकाे उपस्थितिमा तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरेका हुन् । २ नम्बर वडाको खेलकुद क्षेत्रको विकासलाई मध्यनजर गरेर वडा कार्यालयले चेस्टप्याड, किक प्याड, हेडगार्ड, ग्लोइङ कभर, सिनगार्डलगायतकाे सामग्री सहयोग गरेको अध्यक्ष महर्जनले बताए ।
सिद्धार्थ तेक्वान्दो डोजाङलाई ६० हजार रुपैयाँ बराबरको सामग्री वडा कार्यालयले सहयोग गरेको वडा सचिव रामप्रसाद गुरागाईंले जानकारी दिए ।वडाका खेलाडीहरुलाई प्रशिक्षणमा सहयोग गर्न सामग्री हस्तान्तरण गरिएकाे वडा सदस्य बर्तौलाले जानकारी दिए । संघ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले वडा कार्यालयले डाेजाङलाई खेल सामग्री सहयाेग गरेकाेमा खुसी व्यक्त गरे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ११ सिमलटारमा खेल मैदान निर्माण भएकाे छ । सिमलटारमा निर्माण भएको खेलमैदानको बुधबार उद्घाटन गरिएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले नब निर्मित खेल मैदानको उद्घाटन गरेका हुन् । १० नम्बर वडा र ११ नम्बर वडाकाे १०/१० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरिएको हो ।
सिमलटारमा खेलमैदानको काम सम्पन्न पनि बस्ति बाक्लो भएका कारण बाल उद्यानको काम हुन नसकेको मेयर लामाले बताइन् । बाल उद्यानकाे कामलाई छिट्टै अघि बढाइने उनले जानकारी दिइन् । । उपप्रमुख बानियाँले खेल मैदानको थप व्यवस्थापनका लागि उपमहानगरले काम गर्ने बताए । उउनले खेलकुदको विकासका लागि उपमहानगर लागि रहेको बताए ।
उद्घाटन कार्यक्रममा खेलमैदान निर्माणमा भूमिका निर्वाह गर्ने र स्थानीय महिला बाजा समुहलाई सम्मान गरिएको थियो । सिमलटारक्षेत्रमा करिब १७ सय घरघुरी बसोबास गर्छन् ।
मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा मदन कुमार श्रेष्ठ चयन भएका छन् । संघकाे बुधबार भएको नवौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हाे ।
यसैगरी संघकाे उपाध्यक्षमा केशव बहादुर कार्की, राज कुमार थापा र भोजराज पराजुली, सचिवमा रविन्द्र राई, सहसचिवमा रावण किष्म राई, कोषाध्यक्षमा दीपेन्द्र नेपाली चयन भएका छन् । यस्तै सदस्यहरूमा अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनकलाई चयन गरिएकाे छ ।
साथै बुधबारकाे भेलाले संदेश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौडा नगर समिति समेत गठन गरेको छ । नगर समितिकाे उपाध्यक्षमा अन्तेश्वर कापर, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा अभिषेक बानियाँ, सदस्यहरु रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे चयन भएका छन् ।
मदन कुमार श्रेष्ठकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङतानको प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगर पालिका ७ नम्बर वडा सदस्य राधिका विकको विशेष आतिथ्यतामा भएकाे हाे । हेटौडा नगर खेलकुद विकास समिति सदस्य संगीता केसी तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल केन्द्रीय सदस्य नारायण सिंङ थिङको आतिथ्यता रहेकाे कार्यक्रमकाे सहजिकरण भोजराज पराजुलीले गरेका थिए ।