मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेकाे छ । परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।
परिषद्ले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तानलाई नियुक्त गरेकाे छ । समिति मकवानपुरमा दुई जना सदस्यहरु पनि नियुक्त गरेको छ । सदस्यमा मदन उप्रेती र कृष्ण रुम्बालाई नियुक्त गरिएकाे छ ।
विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षबिहीन रहेका थिए । बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबारको बैठकले मकवानपुरसहित, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरिएको भण्डारीले बताए ।
समितिकाे कार्यकाल यसअघि दुई वर्ष रहेकोमा त्यसलाई बढाएर परिषद्ले चार वर्ष बनाएको छ । अहिलेकाे समितिको कार्यकाल चार वर्षको हुनेछ । खेलकुद विकास समिति अध्यक्ष रिक्त रहेकाे प्रदेशका चितवन, रसुवा, दोलखा, नुवाकोट, रामेछाप ललितपुर र भक्तपुर गरी ७ जिल्लामा भने अध्यक्ष नियुक्त गरिएकाे छैन् ।

