मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधीमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौले कब्जा गरेकाे छ । मंगलबारकाे फाइनलमा पूर्वेली भेट्रान्स झापालाई ३-२ गोल अन्तरले पाखा लगाउँदै फ्रिडम फाइटरले उपाधी चुमेकाे हाे ।
रोटरी मकवानपुरको आयोजनामा भएकाे प्रतियाेगिताकाे विजेता हुँदै फ्रिडम फाइटरले २ लाख २ हजार २२२ रुपैयाँ हात पार्यो भने उपविजेतामा पूर्वेलीले एकलाख १ हजार १११ रुपैयाँमा चित्त बुझायो । खेलकाे पहिलाे हाफमा फ्रिडमले ३ गोल गर्याे । पहिलाे हाफमा झापा खेलमा फर्कन काेशिस गरे पनि सकेन । खेलकाे दोस्राे हाफमा पूर्वेलीले जवाफी २ गोल गरेकाे थियाे ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलको तेस्रो मिनेटमै काठमाडौले निलेन्द्र देवानको गोलमार्फत अग्रता बनाएकाे थियाे । खेलकाे २० मिनेटमा देवानले नै अर्काे गोल गरे । यस्तै काठमाडौंका लागि खेलकाे ३७ औं मिनेटमा विकर्ण श्रेष्ठले तेस्रो गोल गरे । ३ गोलले पछि परेको झापाले दोस्रो हाफमा २ गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएकाे थियाे । झापाकाे लागि ४० औं मिनेटमा मित्र बस्नेतले र ४३ औं मिनेटमा रमेश गुरुङले गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याच काठमाडौंका निलेन्द्र देवान घोषित भए । यसैगरी काठमाडौंकै विकर्ण श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, राजु तामाङ उत्कृष्ठ मिडफिल्डर , राजकुमार घिसिङ डिफेण्डर, सञ्जिव खड्की उत्कृष्ट गोलरक्षक र सुरज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । सर्वोत्कृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ प्राप्त गर्दा विधागतरुपमा उत्कृष्ट खेलाडीले नगद पाँचहजार रुपैयाँ प्राप्त गरे ।
सोमबारकाे दोस्राे सेमिफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटर फाइनल प्रवेश गरेकाे थियाे भने । यसैगरी आइतबारकाे पहिलाे सेमिफाइन खेलमा नव जनजागृति भेट्रान्स सिमरालाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली भेट्रान्सले फाइनल यात्रा तय गरेकाे थियो ।
जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि प्रतियाेगिता आयोजना गरिएकाे हाे । प्रतियाेगितामा १५ टिमले सहभागिता जनाएकाे थियाे । हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएकाे प्रतियोगितामा आयोजकको रोटरी पिप्ले भेट्रान्स, नागस्वती भेट्रान्स हेटौडा, हेटौंडा भेट्रान्स, चितवन भेट्रान्स क्लब, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगन्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगन्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लब झापा, एसएन केसी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेकाे थियाे ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।