मकवानपुर । बिहीबार बिहानैबाट देशका विभिन्नस्थानमा वर्षा भइरहेको छ । देशमा पश्चिमी र स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशैभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको समेत महाशाखाले जनाएको छ । वर्षासँगै हाल देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने मौसमविद् बताउाछन् ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम बिहीबार राति पनि जारी रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।
मकवानपुर । बागमती प्रदेशको ललितपुर जिल्लाको विकट गाउँपालिका कोन्ज्योसोममा १३ करोड ८१ लाख रुपैयाँमा अस्पताल निर्माण गरिएको छ ।
अस्पतालको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरेका छन् । गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले जनताको स्वास्थ अधिकारलाई सम्बोधन गर्न सरकार सधै तत्पर रहेको बताए ।
प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिंदै, अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । भवन मात्र भएर नहुँने बताउँदै मन्त्री श्रेष्ठले चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने प्रणाली पनि सँगै हुनुपर्ने बताए ।
कोभिड १९ महामारीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यो अस्पताल स्थापनाको अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले सबै तह संघ, प्रदेश र स्थानीय एकै साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । “पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्सलगायत आवश्यक स्वास्थ्यकर्मी र उपकरणको माग भइरहेकै छ। यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ तहका अस्पताललाई सहयोग गर्ने गरी योजना बनाएको छ ” मन्त्री थापाले भने ।
सबै सुविधा तुरुन्त उपलब्ध हुन नसक्ने भए पनि टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अग्रसर रहेको उनले जानकारी दिए। स्थानीय तहबाट सुरु भएको यो प्रयासलाई सुदृढ पार्न प्रदेश सरकारको थप सहकार्य आवश्यक रहेको स्थानयहरुले बताएका थिए। मन्त्री थापाले निकट भविष्यमा स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन थप कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गरे ।
अस्पताल बनाउन स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेकी थिइन् । थप १ रोपनी सरकारी जग्गा र २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएकोसहित ६ रोपनीमा अस्पताल निर्माण गरीएको थियो । २०७८ भदौ २३ गते निर्माण कम्पनीसङ्ग १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरी काम शुरु भएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भलिबलकाे आधारभूत रेफ्री तालिम हुने भएकाे छ ।
मकवानपुर जिल्ला भलिबल संघले उक्त तालिम दिने भएको हाे । २ वैशाख २०८२ बाट सुरु हुने तालिम ५ दिन संचालन हुने आयोजकले जनाएकाे छ । तालिममा सहभागी हुन कम्तिमा जिल्लास्तरीय खेलमा सहभागी भएको हुनुपर्ने मकवानपुर जिल्ला भलिबल संघले जनाएकाे छ ।
तालिममा सहभागी हुन प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क लाग्ने छ । तालिममा ३५ देखि ४० जना सहभागी गराइने संघ अध्यक्ष वसन्त सिटौलाले जानकारी दिए । हेटौंडा–४, हुप्रचौरमा हुने तालिमकाे राष्ट्रिय रेफ्री विजय वादेसहित ७ जनाकाे टोलीले सहजीकरण गर्ने छन् ।
जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको अध्यक्ष सिटौलाले बताए ।
मकवानपुर । नेपाल आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
४ वर्षमा सरकारले आदिवासी जनजातिको सवालमा गरेको काम समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाउनु भएको हो । गुरुङले प्रदेश प्रमुख समक्ष संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०।०८१ को पाँचौ वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।
वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेश सरकार मुख्यमन्त्री र प्रमुख सचिवलाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाउनु भयो । आयोगका सदस्य गुरुङले आयोगको औचित्य र महत्वलाई बुझ्न आवश्यक रहेको बताउनु भयो। आयोगको सिफारिस तीनै तहका सरकारले कार्यान्वयन नगरिएको विषय पनि प्रतिवेदनको तालिकामा समेटिएको उहाँले बताउनुभयो । आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत् सरकारलाई गरेको सिफारिस कार्यान्वयनको अवस्था प्रभावकारी नभएको गुरुङले जानकारी दिनुभयो ।
नेपालमा जनजातिको संख्या ६० रहेकोमा बागमती प्रदेशमा मात्र ४७ आदिवासी जनजाति रहेका छन् । यस्तै ७८ प्रतिशत जनजाति साक्षर रहेका छन् । कार्यक्रममा आदिवासी जनजाति आयोगकी सदस्य रिना रानाको पनि उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको झरना साहित्यिक परिवारले मुक्तककार शिव अधिकारीलाई ‘शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान, २०८१’ बाट सम्मानित गरेको छ ।
झरनाले शनिबार ३१४ औं साहित्य शृङ्खलाको अवसरमा ३१ औं मुक्तक साँझ कार्यक्रम आयोजना गर्दै इलाम सूर्योदय नगरपालिका–१४, बतासेका अधिकारीलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको उक्त सम्मानबाट सम्मानित गरेको हो ।
अधिकारीका झटरो, भद्रगोल, भाँडभैलो, श्रद्धाञ्जली, अधुरो सपना मुक्तक संग्रह र यथार्थता, धर्तीको माटो गजल संग्रह प्रकाशित छन् । झरना परिवारका सस्थापक साहित्यकार रमेश मोहन अधिकारीले उक्त सम्मानका स्थापना गरेका हुन् ।
मुक्तक प्रतियोगितामा बकैयाका नेगी प्रथम
जिल्लास्तरीय मुक्तक प्रतियोगितामा बकैयाको हात्तीसुँडेस्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत् छात मोनिका नेगी उत्कृष्ट मुक्तककार घोषित भइन ।
उत्कृष्ट मुक्तककार नेगीलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा ८ प्रतियोगीमध्ये ७ प्रतियोगीले मात्र मुक्तक वाचन गरेका थिए ।
प्रतियोगितामा हेटौंडा–१, चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयका रोशिका भट्टराई, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल बोर्डिङ स्कुलका जिज्ञासा पौडेल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका पद्मा ढकाल, हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका प्रसिद्धि भट्टराई, चन्द्रोदयकै रितिका खतिवडा, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका सन्ध्या लम्सालले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको निर्णायकमा अजर फूयाँल र भवानी तिमल्सिना रहेका थिए ।
झरनाले ३१४ औं साहित्य शृङ्खलामा ३१ औं मुक्तक साँझ कार्यक्रम–२०८१ समेत आयोजना गरेको छ । मुक्तक साँझमा रोमा लम्साल, डिबी बर्ताैला, सागर तिम्सिना, गायत्री रुपाखेतीले ६/६ वटा मुक्तक वाचन गरेका थिए ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा वरिष्ठ मुक्तककार अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।