मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले हेटौंडा ५ मा रहेको बालगृहलाई स्टेशनरी सामग्री सहयोग गरेको हो ।
बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडाध्यक्ष विष्णु गोपाल महर्जनले बताए । ‘जेष्ठ नागरिक आश्रमलाई कार्यक्रममै राखेर सहयोग गर्दै आएका छौ’ वडाध्यक्ष महर्जनले भने ‘ सियान, रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्ने छौं ।’
बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई खाद्यान्न तथा मकवानपुर रिकभरिङ समुहलाई कुर्सी सहयोग गरिएको छ ।
उक्त बालगृहका उपाध्यक्ष देव कुमारी चापागाईंलाई वडा कार्यालयमा वडाध्यक्ष महर्जन, वडा सदस्य सुरज बर्तौलाले स्टेशनरी हस्तान्तरण गरेका थिए ।
हाम्रो घर बालगृहमा २७ जना बालबालिका आश्रीत रहेका छन् । सन्चालनमा समस्या आएको भन्दै केही समय अघि बालगृहको अक्षयकोष स्थापनाको लागि भागवत पुराण सप्ताह लगाइएको थियो ।
मकवानपुर । पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरले ध्यानाकर्षण गराएकाे छ ।
पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालय हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको हाे । आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई बुझाइएकाे ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकको हत्या भएकाेले निष्पक्ष छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ ।
गत १५ चैतमा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा महासंघ मानव अधिकार आयोग पुगेकाे हाे ।
पत्रकार महासंघ मकवानपुर शाखाले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको अध्यक्ष अधिकारीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भए देखिनै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले १५ चैतको घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनले बताए ।
महासंघले यस अघि गृहमन्त्री रमेश लेखक समक्ष १८ चैतमा साेही विषयमा ध्यानाकर्षणपत्र पेस गरेकाे छ । सरकारले पत्रकार महासंघको माग पूरा गर्नेतर्फ पहल नगरेको अध्यक्ष अधिकारीले बताए ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । घर सफा गर्ने क्रममा मकवानपुर गढी ५ सिमलटारका भूमीनन्द तिमल्सिनाकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान ५५ वर्षीय तिमल्सिना घर सफा गर्ने क्रममा करेन्ट लागि घाईते भएकाेमा उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाे थियाे । उनकाे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे हो ।
घटना सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा १६ मा स्कुटरले ठक्कर दिंदा घाइते भएका १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बेलुका हेटौडा उपमहानगरपालिका-१६ गुरुधामचोक स्थित हेटौंडा-चतरा-धरान सडकखण्डमा बा.प्र.०३-०४ प ९५२६ नम्बरको स्कुटरले पैदल यात्री स्थानीय अनिरुद्र बस्ताकाेटीलाई ठक्कर दिएकाे थियाे ।
हेटौंडा १८ बाट हटिया तर्फ आउँदै गरेकाे उक्त स्कुटरले ७६ वर्षीय बस्ताकोटी ठक्कर दिंदा घाइते भएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । स्कुटरकाे ठक्करबाट घाइते बस्ताकाेटीलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाे थियाे । उनलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएकाेमा त्यहाँबाट पुरानाे मेडिकल कलेज भरतपुर लगिएकाे प्रहरीले जनाएकाे छ । त्यहाँ उपचारकाे क्रममा बस्ताकाेटीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
स्कुटर चालक हेटौडा – १७ ठुलोगँगटे वस्ने २७ वर्षीय सन्दिप थापा समेत घाइते भएकाेमा सीमसी चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ । स्कुटर अस्थायी प्रहरी पोष्ट हटियाकाे नियन्त्रणमा रहेको बताइएकाे छ ।