मकवानपुर । मकवानपुरकाे हेटौंडामा ४ जना व्यक्तित्व सम्मानित भएका छन् । शनिबार हेटौंडामा भएकाे छुट्टाछुट्टै कार्यक्रममा ४ जनालाई सम्मानित गरिएकाे हाे । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गरेकाे छ भने बुढ्यौली साहित्य समाज मकवानपुरले २ जना साहित्यकारलाई सम्मानित गरेकाे हाे ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतम ‘यदुमे’ लाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिएकाे हाे । बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।
सिस्सुपानी मकवानपुरले सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएकाे हाे । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार ‘यदुमे’ लाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिएकाे छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएकाे थियाे ।
यसैगरी बुढ्यौली साहित्य समाजले भोजपुरका देवीप्रसाद घिमिरेलाई तुल्सी थापा स्मृति सम्मानबाट सम्मानित गरिएकाे छ । उक्त सम्मान २५ हजार राशिकाे रहेकाे छ । मकवानपुरका देवराज खरेललाई तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित गरिएकाे हाे । उक्त सम्मानकाे राशी नगद २० हजार रुपैयाँसहित रहेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडाबाट हराएकाे अटो ८ महिनापछि चितवनकाे भरतपुरमा भेटिएकाे छ । हेटौंडा उपमहानगरपालिका–१० का ४१ वर्षीय बमबहादुर न्यौपानेको घरमै पार्किङ गरिराखेको ना २ ह १३७१ नम्बरको अटो गत १४ भदौ २०८१ मा हराएको थियो ।
उक्ता अटो चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, सल्लेरीटोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अटो चोरीमा संलग्न भएका २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले नवलपरासी कुलिन्टार गाउँपालिका–१ का ३० वर्षीय गोपाल श्रेष्ठ र भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय शंकर ढकाललाई पक्राउ गरेको हाे । प्रहरीले शुक्रबार सवारी धनीलाई अटो फिर्ता गरिदिएको छ । गोपाल र शंकरलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा स्पोटर्स अवार्ड र यूथ समिट हुने भएको छ । बागमती प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रम आगमी जेठ पहिलाे साता हुने छ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले युवा तथा खेलाडीहरूको प्रोत्साहन र सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाे हाे । कार्यक्रम हेटौंडाको हुप्राचौरमा हुने बताइएकाे छ । अवार्ड अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रम पनि रहने छ । संघीयता कार्यान्वयनकै चरणमा अघि बढ्ने क्रममा प्रदेशमा पहिलो पटक स्पोटर्स अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल खेलाडी तथा युवाहरूलाई कार्यक्रममा पुरस्कृत गर्ने गरी प्रदेश सरकार अघि बढेको छ ।
कार्यक्रमबाट खेलकुदमा लाग्नेहरूलाई प्रेरित गर्ने लक्ष लिइएकाे मन्त्री महर्जनले बताए । ‘खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना सँगसँगै हौसला र प्रोत्साहनमा पनि राज्यले कार्यक्रम गर्नु पर्छ’ उनले भने– ‘खेल क्षेत्रमा लागेकालाई पुरस्कृत र सम्मान गरिदा नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भन्ने अग्रजहरूले सम्मानित महसुस गर्न पाउँछन् ।’
स्पोटर्स अवार्डमा खेलाडी तथा पत्रकार पुरस्कृत गर्न मन्त्रालयले ३ सदस्य छनोट उपसमिति समेत गठन गरेको छ । जसमा संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।
उक्त उपसमितिले १० दिनभित्र प्रदेशमा रहेका नयाँ र पुरानो गरी ९ जना प्रतिभावान खेलाडी, खेलकुद क्षेत्रको समाचार सम्प्रेषण गर्ने एक जना खेलकुद पत्रकारको नाम सिफारिस गर्नेछ । उपसमितिको सिफारिसअनुसार मन्त्रालयले खेलाडी र पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्नेछ ।
मकवानपुर । मकवानपुरकाे छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा २ जनाकाे मृत्यु छ । मकवानपुरकाे मनहरी गाउँपालिकामा ट्रककाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु भएकाे छ भने मकवानपुरगढी गाउँपालिकामा रुखले च्याप्दा १ जनाकाे मृत्यु भएकाे छ ।
मनहरीमा ट्रककाे ठक्करबाट राक्सिराङ गाउँपालिका ९ घर भई मनहरी ८ बस्ने ७० वर्षीय गंगा बहादुर स्याङतानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी स्थित पुर्व पश्चिम सडकखण्डमा ना ५ ख ७७१२ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्री स्याङतानकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
ट्रक र ट्रक चालक सर्लाही हरिवन नगरपालिका ११ बस्ने ४० वर्षीय प्रमोद महत्तो इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको छ।
यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रुखले च्याप्दा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार रुख ढाल्ने काम गर्दा रुखले च्यापी ३१ वर्षीय राम राईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
उक्त स्थान बस्ने राम बहादुर मोत्तानको बारीमा रुख ढाल्ने काम गर्ने क्रममा आफैले ढालेको रुखले च्यापी घाईते भएका राईकाे उपचारको मकवानपुर सहकारी अस्पताल ल्याएइकाे थियाे । घाइते राईकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार राई मोरङ मिथलाजुङ गाउँपालिका १ घरभई मकवानपुरगढी ७ सुकौरामा डेरामा बस्दै आएका थिए ।
प्रदेश युवा परिषद बागमतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ । २०८० देखि लगातार प्रदेश युवा सम्मेलन आयोजना गर्दै आएको परिषदले यो तेस्रो श्रृङ्खलाका रुपमा युवा सम्मेलनको तयारी गरिरहेको हो । प्रदेशभरबाट गुुगल फर्म भरेर छानिएका ३५० जना युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुनेछन् । परिषदले आफ्नो वेभसाईट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट लाखौं युवाहरुलाई कार्यक्रममा सहभागी गराउने तयारी गरिरहेको छ । यसै सन्दर्भमा प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईसँग गरिएको संक्षिप्त कुराकानी ।
बाग्मती प्रदेश युवा परिषदले युवा सम्मेलन गर्नुको औचित्य के हो ?
युवाहरु अध्ययन, रोजगारी र सीपका लागि संसारभर अवसरको खोजीमा लाग्न थालेका छन् । यसरी देशविदेशमा अवसरको खोजी गर्दै हिडीरहेका युवाहरुलाई सरकारसंग अन्तरसंवादमा जोड्नुपर्छ भन्ने मुख्य ध्येयका साथ बाग्मती प्रदेश युवा परिषदले युुवा सम्मेलनको आयोजना गर्ने अवधारणा अघि सारेको हो । युवाहरुलाई सीप सिकाई दक्ष जनशक्तीका रुपमा स्थापित गर्दा उनीहरुलाई स्वदेश वा विदेशमा अवसरको खोजीमा सहज हुने कुरा पहिला बागमती प्रदेश सरकारलाई बुुझाउन सकिन्छ की भन्ने लागेर हामीले सरकार र युवालाई एउटै थलोमा अन्तर संवाद गराउने अबधारणा अघि बढाएका हौँ ।
प्रदेश युवा सम्मेलन तेस्रो श्रृङ्खलासम्म आइपुग्दा युवा र प्रदेश सरकारमा यसको प्रभाव कस्तो परेको छ ?
राजनितीप्रति वितृष्णा राख्ने युवाहरु पनि सरकारले बनाउने निती नियमले आफ्ना अवसरहरु सृजना हुन सक्दछ भन्ने कुरामा कन्भीन्स भएका छन् । सरकार युवाका क्षेत्रमा के कस्ता योजना बनाउने अलमलमा देखिन्थ्यो । युवाहरु पनि सरकारलाई आफ्ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए । हामीले यी दुुबै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौँ । युवा सम्मेलनले बागमती प्रदेश सरकारलाई युवा निती र बजेटमै युवा सीप बर्ष घोषणा गराउने वातावरण सृजना गरेको छ । सरकारप्रति युवाको सरकारात्मक धारणा बन्दै गएको छ ।
तेस्रो श्रृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनले बागमती प्रदेशका १०,५०० भन्दा बढी युवाहरूलाई दक्ष जनशक्तीका रुपमा स्थापित गरेको तथ्यांक हामीसंग छ । विशेष गरी ग्रामीण क्षेत्रका युवाले पहिलोपटक सरकारी निकायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका छन्, जसले उनीहरूमा सशक्तिकरणको अनुभूति गराएको छ ।
बागमती प्रदेश सरकार र स्थानीय सरकारसँग युवालाई यो कार्यक्रमले कसरी जोड्छ ?
प्रदेश युवा सम्मेलन नीति संवाद प्लेटफर्मको रूपमा स्थापित भएको छ । यो सम्मेलनले युवा र सरकारबीचको दूरी घटाई एकअर्कालाई सामिप्यमा ल्याउने काम गरेको छ । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकूद मन्त्री, स्थानीय सरकार प्रमुखहरू र अन्य उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ । युवाले नीतिगत विषयमा सुुझाब दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नितीमा युवाहरुको सुुझाबका आधारमा युवा परिषद्का सिफारिसमा जिल्ला युवा नीति तथा कार्यक्रमहरू परिमार्जन भएका छन् ।
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई कत्तिको प्राथमिकतामा राखेको छ ?
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजनमार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८१/८२ मा सम्मेलनको आयोजनाका लागि बजेट छुट्याइएको छ । साथै, युवा खेलकूद मन्त्रालय अन्तर्गतको युवा कार्यक्रमको मूल हिस्साको रूपमा यो सम्मेलनलाई औपचारिक रूपमा स्थान दिइएको छ । हाम्रो पहलकदमीमा प्रदेश सरकारले “युवा सीप बर्ष २०८१” घोषण गरेर युवालाई सिप बिकास कार्यक्रम संचालन गरिरहेको छ । यही सम्मेलनको घोषणापत्रलाई आधार मानेर युवा लक्षित कार्यक्रम अघि बढाएको छ ।
बाग्मती प्रदेश युवा सम्मेलन आयोजना गर्न सरकारलाई कसरी सहमत गराउनुुभयो ?
प्रदेश युवा परिषदले युवा सम्मेलनको आवश्यकता पुष्टि गर्न २०७८ सालमा युवा आवश्यकता मूल्याङ्कन सर्वेक्षण सञ्चालन ग-यो, जसमा ७२% युवाले नीति संवादका प्लेटफर्मको अभाव भएको उल्लेख गरेका थिए । यो डेटा र नागरिक समाजसँगको छलफलका आधारमा सम्मेलन प्रस्ताव तयार पारियो र सामाजिक विकास मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्तुति गरियो । युवाको सशक्तिकरणमा प्रत्यक्ष प्रभाव पर्ने नीति कार्यक्रम भएकाले सरकार सहमत भयो ।
सीप सिक्न र उद्यमशील बन्न चाहने युवालाई यो सम्मेलनले के के कुरा दिन सक्छ ?
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायतका विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको हुन्छ । सहभागी युवा यसबाट आफ्ना व्यवसायिक सोचलाई परिष्कृत गर्न सक्ने र सरकारी उद्यम सहयोग कार्यक्रम (जस्तै युवा स्वरोजगार कार्यक्रम) मा पहुँच बनाउने उपायहरूबारे जानकारी पाउँछन् ।
तेस्रो श्रृङ्खलामा मात्र ४०% सहभागीले कार्यक्रममा भाग लिएपछि उद्यम सुरु गर्ने प्रेरणा पाएको तथ्य परिषद्को मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । युवालाई सरकारसँग जोड्ने, उनीहरूको आवाज नीति निर्माणमा पुर्याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा कार्यक्रम बन्न थालेको छ ।
बाग्मती प्रदेश युवापरिषद मार्फत सीप सिकेका युवाहरु उद्यमशीलतामा जोडिएका छन् ?
बागमती प्रदेश युवा परिषदले युवाहरुलाई पहिलो चरणमा आधारभुत तालम प्रदान गर्ने, दोस्रो चरणमा विशिष्टकृत तालिम दिने, र सीप सिकेका युवाहरुको सीप परिक्षण गरी उनीहरुलाई सिटीभिटीको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई उद्यमशील बनाउन आवश्यक सामाग्री दिएर उत्प्रेरणा दिने काम भईरहेको छ । सीप सिकेका धेरै युवाहरु आफैंले व्ययसाय सञ्चालन गरिरहेका छन् । धेरै युवा साथीहरु प्रशिक्षकका रुपमा स्थापित बनेका छन् । युवाहरुमा सीप सिक्नुपर्दछ भन्ने भावना जागृत भएको छ ।
बाग्मती प्रदेश युवा परिषदका आगामी योजना कस्ता छन ?
प्रदेशका प्रत्येक युवा सीपयुक्त हुनुपर्दछ । युवाको सशक्तीकरण सीप र क्षमता विकासबाट मात्रै हुनेछ । युवाहरुले चाहेमा मात्रै देश विकास सम्भव हुने भएकाले उनीहरु उद्यमशीलतामा जोड्नुु पर्दछ । सीप सिकेका युवा विदेशमै गएपनि उनीहरुले सहज र सुरक्षित रोजगारी प्राप्त गर्दछन् । उनीहरुको आम्दानी पनि बढी हुन्छ । अहीले प्राप्त भईरहेको रेमिटेन्समा पनि बृद्धी हुन्छ । सीप सिकेका युवा उद्यमी बन्दा अन्य युवाहरुले रोजगारीको अवसर प्राप्त गर्दछन् । बाग्मती प्रदेशलाई समृद्ध प्रदेश बनाउन युवाको सहभागीता बढाउनुु पर्छ । बागमती प्रदेश युुवा परिषद कृषि, पर्यटन, सेवामुखी ब्यवसाय र प्राविधिक विषयहरुमा युवाहरुलाई जोड्दै प्रदेशको विकासमा युवालाई सहयात्री बनाउने योजनाका साथ अघि बढीरहेको छ ।