भरतपुर, चितवन । कविडाँडा साहित्य समाज चितवनले वार्षिकोत्सवमा प्रदान गरिने पुरस्कार तथा सम्मानहरू सार्वजनिक गरेको छ । शनिबार कविडाँडा साहित्य समाजकाे २२ औं बैठकले प्रदान गर्ने ३ वटा सम्मान तथा पुरस्कार शनिबार सार्वजनिक गरेकाे हाे ।
समाजले कविडाँडा कृति पुरस्कार- २०८१ बाट ‘अलङ्कार इन्द्रेनी’ काव्यका लागि कवि गोविन्दराज विनोदीलाई सम्मानित गर्ने भएकाे हाे । त्यसैगरी कविडाँडा देव-खिना स्मृति पुरस्कार – २०८२ द्वारा कवि लकास पौडेल सम्मानित हुने अध्यक्ष एलबी क्षेत्रीले जनाकारी दिए । यस्तै कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार – २०८२ बाट गजलकार अविरत सुमन (सुमन घिमिरे) सम्मानित हुने निर्णय भएकाे उनले बताए ।
अध्यक्ष क्षेत्रीका अनुसार उक्त ३ वटै पुरस्कारको राशि जनही १५ हजार १६० रुपैयाँ रहेकाे छ । सो पुरस्कार तथा सम्मान कविडाँडा साहित्य समाजकाे २२ औँ स्थापना दिवस एवम् वार्षिकोत्सवका अवसरमा १० जेठ २०८२ मा प्रदान गरिने छ । भरतपुर महानगरपालिका -५ स्थित कविडाँडाकाे कार्यालयमै कार्यक्रमकाे आयोजना गरी उक्त पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका संयोजक एवम् समाजका सहसचिव रामकृष्ण अनायासले जानकारी दिए ।
भरतपुर, चितवन । सरला शर्माको लघुकथा कृति ‘उसैले जन्माएको छोरो’ सार्वजनिक गरिएको छ।
रत्ननगरको सौराहाचोक निवासी शर्माको लघुकथासङ्ग्रह कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा समावेश छन् ।
कृति सार्वजनिक कार्यक्रममा कवि तथा निबन्धकार भूपिनले शर्माको कृतिमा नारी वेदनालाई ऐनाजस्तै गरी देखाइएको बताए। साहित्यकार सामना पहाडले सङ्ग्रहमा मातृ वात्सल्यका कथाहरु, प्रकृति, पर्यावरण, कुशासन, गृहिणी र गैरगृहिणीका कथाव्यथा रहेको बताइन्। अर्का वक्ता प्रेम रिमालले कथामा शर्माले समाजका जटिल विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरेको बताए।
लेखक शर्माले लघुकथामार्फत वैदेशिक रोजगारीको पीडा, विभेद, सामाजिक विकृति, नेपाली समाजको चित्रण गरिएको जानकारी दिइन्। ‘देखेभोगेका भावनालाई लघु कथाकोरुपमा उतारिएकाे छ’ उनले भनिन् ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जाेड्ने छाेटाे मार्ग कान्ति लाेकपथ बन्द भएकाे छ ।
आइतबार बिहानैबाट परेकाे वर्षाकाे कारण मकवानपुर र ललितपुरको सिमाना बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बगाउँदा बाटो बन्द भएकाे हाे । मकवानपुरको भिमफेदी गाउँपालिका -८ र ललितपुरको बागमती गाउँपालिका – २ स्थित बागमती नदीकाे ललितपुर तर्फको डाइभर्सन बर्षाको कारण बगाएकोले तत्काल बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी टोली खटी गई अबरुद्ध सडक खुलाउने पहल भईरहेकोले हाललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न अनुरोध मकवानपुर प्रहरीले अनुराेध गरेकाे छ । यसका साथै कान्तिलोकपथमा मर्मतको काम भई रहेकोले हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द रहदै आएकाे छ।
मकवानपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तर सुधार हुन नसकेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् । ‘राजनीतिक परिवर्तन र संविधान समय समयमा बदल्दै आयौं तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न बाँकी छ’ उनले भनिन् ‘जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउँदै नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’
नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको उनले बताइन् । ‘राजनीतिक दलले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रुपान्तरणलाई मुल लक्ष्य बनाएर अगाडि बढनुपर्छ’ उनले भनिन् । मौलिक राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मार्फत् नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख भइरहेको उनको भनाई थियो ।
२०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । ‘‘‘वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधै जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने गर्छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् ।
यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्नुपर्ने बताएकी छिन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१५ स्थित दिव्यसेवा निकेतन आश्रयस्थलको अवलोकन गर्दै उनले यस्तो बताएकी हुन् । ’मानव जीवनको उत्कृष्ट सेवा नै मानव सेवा भएको हुँदा यसलाई नयाँ पुस्तामा पुर्याउन जरुरी रहेको छ’ उनले भनिन् ।
’मानव जीवनमा आउने प्रक्रिया मध्ये सबैले एकपटक बुढ्यौली अवस्थाबाट गुज्रनुपर्ने भन्दै यस्तो अवस्थामा परिवारको महत्व बढी हुन्छ’ भण्डारीले भनिन् ’कतिपय अवस्थामा यस्ता आश्रयस्थलहरु आवश्यक पर्छ । सरकारी र गैरसरकारी निकायबाट व्यवस्थित रुपमा भने संचालन गर्नु पर्छ ।’ उनले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले यस विषयमा काम गरेको भएपनि सरकारको सबै क्षेत्रमा ध्यान नपुगेको हुनसक्ने भन्दै सरकारले गर्ने काम निजि क्षेत्र, गैरसरकारी क्षेत्रबाट हुनु राम्रो भएको बताइन् ।
’गैरसरकारी निकायका तर्फबाट भएका यस्ता कामका लागि धन्यवाद दिदै यसको निरन्तरताको कामना गर्दै नयाँ पुस्तामा पनि यस्तो भावना विकास गर्न जरुरी रहेको छ’ उनले भनिन् । ’बृद्धबृद्धाको हेरचाह र व्यवस्थापनका लागि हिजोको सामुहिक पारिवारिक प्रणाली नै ठिक थियो’ उनले भनिन् ’जेष्ठ नागरिकका क्षेत्रमा स्थानीय तहहरुले विशेष काम गर्नुपर्छ ।’ मदन भण्डारी फाउन्डेसन मकवानपुरको साधारणसभामा अतिथिका रुपमा सहभागी हुन हेटौंडा आएकी उनले दिव्यसेवा निकेतनको अवलोकन गरेकी हुन् ।

श्रीचन्द्र शर्मा स्मृति सम्मान –२०८२ बाट कमानेकी रेग्मी सम्मानित
मकवानपुर । श्रीचन्द्र शर्मा स्मृति सम्मान –२०८२ बाट हेटौंडा–८ कमानेकी शुभद्रा रेग्मी सम्मानित भएकी छिन् । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउण्डेशन मकवानपुरले रेग्मीलाई नगदसहित सम्मान गरेको हो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा शनिबार हेटौँडामा भएको कार्यक्रममा पञ्चायती निरङकुशता विरुद्धको लडाईमा सहभागी भई सेल्टरदाताको रुपमा गतिशील रहेको भन्दै रेग्मीलाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि आतिथ्य रहेको थियो । फाउण्डेशनको साधारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबार अपराह्न एक्कासी जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (भ्यान) अझै भेटिएकाे छैन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँ स्थित सडकमा ना ४ च ४८३३ नम्बरको बाेलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको हाे ।
गैरीगाउँबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (खाली) सडकमा राेकिराखेकाे अवस्थामा सडक भासिंदा डुबेको बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बलेरो चालक हरि राईले समेत राेकी राखेकाे गाडी सडक भासिदा पुरिएकाे तथा आफू र सहचालक गाडी भासिनुअघि नै निस्किएर जोगिएका जानकारी दिए ।
गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडी भासिएको नजिकै स्थानीय हरि राईले माछापालनकाे लागि खनिएकाे पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिदाँ गाडी बेपत्ता भएकाे प्रहरीले अनुमान लगाइएको छ ।
उक्त स्थानमा पानी तान्नका लागि २ वटा मोटर पम्प प्रयोग गरिएकोमा पानीको सतह घटेको भएतापनि सवारी साधन हालसम्म नदेखिएको प्रहरीले जानकारी दिएकाे छ । ‘खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन् ठुलो हुदै गएको छ’ प्रवक्ता डिएसपी श्यामु अर्यालले भने ‘ भासिएर वेपत्ता भएकाे सवारी साधनकाे खोजि कार्य जारी छ ।’