मकवानपुर । मकवानपुरकाे हेटौंडामा जमिन भासिएर बेपत्ता भएको गाडीकाे पाटपुर्जा १९ दिनपछि भेटिएकाे छ । मंगलबार जेसीबी प्रयोग गरेर भासिएकाे गाडी निकाल्ने काेशिस गरिएकाेमा पाटपुर्जा भैटिएकाे हाे । गत १९ बैशाखमा हेटौंडा उपमहनागरपालिका – १६ स्थित गैरीगाउँ माछापालन गरिएकाे फाँटमा जमिनमा भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेराे गाडी हराएकाे थियाे ।
मंगलबार अपरान्ह गाडीको च्यासिस फेला परेपछि निकाल्न काेशिस भइरहेको हाे । गत १९ बैशाखमा गैरीगाउँ माछापालन क्षेत्रमा माछा बोक्ने बलेरो गाडी अनलोड गर्ने क्रममा जमिन भासिएर पुरिएको थियो । लगातार ३ दिनसम्म खोजी गर्दा गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भविद् झिकाएर उक्त क्षेत्रकाे अध्ययन समेत गरिएकाे थियो ।
खानी तथा भूगर्भ विभागका विज्ञ मार्फत अध्ययन गर्दा बाेरिङका कारण जमिन भासिएर गाडी हराएको निष्कर्ष सहितकाे प्रतिवेदन आएको थियो । सोही अनुसार विभागबाट पुनः २ जेठमा भूगर्भविदको टोली खटिएर माटो अनुसन्धान तथा परीक्षणका लागि नमुना सङ्कलन गरिएको थियो । माटो परीक्षणको रिपोर्ट र भूगर्भविदको प्रतिवेदनकाे आधारमा ६ जेठ मंगलबार गाडी भासिएको स्थानमा जेसीबी प्रयोग गरेर गाडी निकाल्ने काेशिस भइरहेकाे हाे ।
सो स्थानमा उत्खनन गरी सवारी साधन खोजी गर्न सकिने रिपोर्ट तथा सतर्कता अपनाई उत्खनन् गरी सवारी साधन खोज तलास गर्न सकिने स्थानीय जनपतिनिधिलाई दिइएकाे सुझाव अनुसार हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा जेसीबी प्रयोग गरि गाडी निकाल्न काेशिस गरिएकाे हाे ।
हेर्नुहाेस भिडियोः
मकवानपुर । साहित्य सङ्गग मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मानित गर्ने भएकाे छ । ३५५ औं नियमित साहित्य सन्ध्या सँगै सङ्गम साहित्य उत्सव २०८२ आयोजना गर्दै सङ्गमले ८ जनालाई शनिबार विभिन्न सम्मानबाट सम्मानित गर्ने भएकाे हाे ।
मकवानपुर साहित्य श्री सम्मान, २०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मानित हुने भएका छन् । तत्कालिन जिल्ला विकास समिति मकवानपुर संस्थापक रहेकाे उक्त सम्मानकाे राशी १५ हजार ५५५ रुपैंया रहेकाे छ । यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुने छन् । विशाल अधिकारी आशुताेषले स्थापना गरेकाे उक्त सम्मानकाे राशी १५ हजार ५५५ रुपैंया रहेकाे छ ।
यस्तै समिर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान, २०८१ बाट सम्मानित हुने भएका छन् । १० हजार रुपैया राशीकाे उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । यसैगरी विनोद सुनिता सुवेदी सम्मान, २०८१ मकवानपुरे पत्रकार रामकुमार एलनलाई प्रदान गरिने भएकाे छ । ११ हजार १११ रुपैंया राशी रहेकाे उक्त सम्मान प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्थापना गरेका हुन् । १० हजार रुपैंया राशीकाे मंगलादेवी स्मृति सम्मान २०८१ बाट बवी थापा सम्मानित हुने भएकी छिन् । उक्त सम्मान शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेका हुन् ।
यसैगरी मुक्तितारा सम्मान, २०८१ बाट यश लामा सम्मानित हुने भएका छन् । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त सम्मानकाे राशी १० हजार रुपैंया रहेकाे छ । यस्तै १० हजार रुपैंयाकाे रामहरी देवु सम्मान, २०८१ बाट मसान उपासक सम्मानित हुने भएका छन् । ऋषि केबी र पूण्यशीला श्रेष्ठले उक्त सम्मान स्थापना गरेका हुन् । यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/०८१ बाट अभय श्रेष्ठ सम्मानित हुने भएका छन् । डा. केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे उक्त सम्मान २५ हजार १ रुपैंया रहेकाे छ ।
१० जेठ शनिबार हुने कार्यक्रममा सम्मानित स्रष्टाहरुकाे रचना वाचन समेत हुनेछ । कार्यक्रममा २ वटा प्यालन डिस्कसन हुने संगम सचिव मनोज पोखरेलले जानकारी दिए । उनका अनुसार सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता र कविताः युगकाे प्रतिविम्बनमा प्यानल डिस्कसन हुनेछ । सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिलले अभिभावकत्व ग्रहण गर्ने कविताः युगकाे प्रतिविम्बनमा प्यानल डिस्कसनका वहसकर्तामा अभय श्रेष्ठ, टिका आत्रेय र घनश्याम घिमिरे रहेका छन् । यस सेसनकाे सहजकर्ता शान्तिप्रीय वन्दनाले गर्नेछिन् ।
मकवानपुरे साहित्यकार दीपक गौतमले अभिभावकत्व ग्रहण गर्ने सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता प्यानल डिस्कसनका वहसकर्तामा संप्रस पौडेल, प्रतिमा डङ्गोल र कृतिका लौडारी रहने छन् । यस सेसनकाे सहजकर्ता छवि अनित्यले गर्नेछन् । कार्यक्रममा अतिथि साहित्यकारहरुकाे रचना वाचन तथा संगमका कार्यसमितिका पदाधिकारीहरुकाे रचना वाचन समेत हुने छ ।
हेटौंडा उपमहानगरकाे प्रतिष्ठा वृद्धि गरी राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय क्षेत्रसम्म साहित्य कला तथा संस्कृतिलाई विस्तार गर्न सङ्गम साहित्य उत्सव २०८२ आयोजना गर्न लागिएकाे सङ्गम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाकाे प्रवर्धनमा कार्यक्रम गर्न लागिएकाे हाे ।
मकवानपुर । बागमती प्रदेशकाे वर्ष खेलाडी राजन बल र एरिका गुरुङ घोषित भएका छन् । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौंडामा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र करातेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडी घोषित गर्दै सम्मान गरेकाे छ ।
मन्त्रालयले विभिन्न ८ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्ट्स अवार्ड प्रदान गरेको हो । एथ्लेटिक्सका जीतबहादुर केसी र बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस्तै पारा तेक्वान्दोका कविराज नेगी उत्कृष्ट प्रशिक्षक र पत्रकार श्याम चित्रकार उत्कृष्ट पत्रकारबाट सम्मानित भएका छन् ।
फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सका सन्तोषी श्रेष्ठ लोकप्रिय खेलाडीबाट सम्मानित भए । तेक्वान्दोकी संगीता वैद्य बागमतीको शान, पारा तेक्वान्दोकी पलेसा गोवर्द्धन उत्कृष्ट पारा तेक्वान्दो खेलाडी, गल्फका सद्भाव आचार्य युवा खेलाडी र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षबाट सम्मानित भए ।
लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला र पुरुष, बागमतीको सान र उत्कृष्ट प्रशिक्षकलाई जनही १/१ लाख रुपैंया र अन्य विधाका खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट पत्रकारबाट सम्मानित चित्रकारले ५० हजार रुपैंयासहित अवार्ड प्राप्त गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायतले सम्मानित सबै जनालाई अवार्ड, नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री लामाले प्रदेश स्पोर्ट्स अवार्डले खेलाडी र खेल क्षेत्रमा लाग्न चाहनेलाई थप हौसला मिल्ने बताए । ‘कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै जानुपर्छ उनले भने ‘खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरेका पूर्व तथा वर्तमान खेलाडीको कदर र नयाँ खेलाडीको हौसला बढाउन कार्यक्रम सफल सावित हुनेछ ।’
यस्ता कार्यक्रमले खेलाडीको विदेश पलायन रोक्न समेत मद्दत पुग्ने आयोजकले विश्वास लिएकाे छ । खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहिलो पटक अवार्डको आयोजना गरेको हाे ।
मकवानपुर। बागमती प्रदेशको प्रदेश मामिला समितिद्वारा लागूऔषध पुनर्स्थापना केन्द्र र लागूऔषध ओसारपसार हुने मुख्य क्षेत्रको अनुगमन गरिएको छ ।
लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको न्यूनीकरणमा सहयोगकाे उद्देश्यले प्रदेश मामिला समितिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा सञ्चालनमा रहेको सियान पुनर्स्थापना केन्द्र र भारतबाट लागूऔषध मकवानपुर भित्रने र मकवानपुरबाट भारत तर्फ लैजाने रातोमाटे क्षेत्रको अनुगमन गरेको हो । बागमती प्रदेशको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाको नेतृत्वमा सियानले सञ्चालन गरेको महिला लागूऔषध प्रयोगकर्ताहरुको पुनर्स्थापना केन्द्र र पुरुष लागूऔषध प्रयोगकर्तालाई राखिएको पुनर्स्थापना केन्द्रमा अनुगमन गरिएको थियो । त्यसैगरी लागूऔषध ओसारपसारकाे नाका रातोमाटे क्षेत्रमा अनुगमन गरिएको हाे ।
सभापति लामाले लागूऔषधकाे लतमा परेपछि समाजमा पुनर्स्थापना हुन आफैं चनाखो हुनुपर्ने बताए । ‘सरकारले कारागार बनाएको तर लागूऔषध प्रयोगकर्ताहरुलाई राख्ने पुनर्स्थापना केन्द्र बनाएको छैन’ उनले भने ‘मकवानपुर जिल्लामा लागूऔषध भित्रने र बाहिरीनेक्रम बढ्दो रहेकाेले न्यूनीकरण आवश्यक छ ।’ लागूऔषध नियन्त्रणकाे लागि प्रहरी परिचालन भइरहे पनि त्यो मात्रै पर्याप्त नभएकाे उनले बताए ।
प्रदेश मामिला समिति सदस्य तथा सांसद प्रभात तामाङले साथिसंगतका कारण लागूऔषध ओसारपसार तथा सेवन गर्ने गरिएको बताए । ‘यसकाे प्रयोग तथा ओसारपसारमा संलग्न हुनबाट छुट्कारा लिएर समाजमा पुनर्स्थापना हुन जरुरी रहेको छ’ उनले भने । लागूऔषधमा फसेकै कारण परिवार र समाजमा समेत असर पुगेकाेले सबै सजक र सचेत हुनु पर्ने उनले बताए ।
प्रदेश मामिला समिति सदस्य तथा सांसद कुमारी तामाङले अहिलेका युवापुस्ता लागूऔषधकाे दलदलमा फस्नु ठुलो समस्या रहेकाेले सरकार र सरोकारवाला निकायले बेलैमा ध्यान पुर्याउन आवश्यक रहेकाे बताइन् । बागमती प्रदेशमा लागूऔषध न्यूनीकरणका लागि कार्यक्रम ल्याउन पहल गर्ने उनले बताइन् । ‘पुनर्स्थापना केन्द्रमा रहेका युवाका लागि सिप सिक्ने अवसर दिनुपर्छ’ उनले भनिन् ।
प्रदेश मामिला समितिका सदस्य तथा सांसद उर्मिला सुनुवारले जीवन अमुल्य रहेकाले लागूऔषध ओसार पसार गर्ने र सेवन गर्ने कार्य सवै युवा टाढै रहनु पर्ने बताइन् । समाजमा पुनर्स्थापना भएपछि उदाहरणीय काम गरेकाे देखाउन समेत गर्न उनले सुझाव दिइन् । कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीका सल्लाहकार रिकेश महर्जनले लागूऔषधले भयावह रुप लिएकोले नियन्त्रणका लागि प्रहरीसँगै सबै क्षेत्रको उत्तिकै सहयोग आवश्यक रहेको बताए ।
सियान पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीले पुनर्स्थापना केन्द्रमा सिप सिकाउन तथा अन्य सहयोग सरकारी निकायबाट हुनु पर्ने आवश्यक रहेकाे बताए । महिला पुनर्स्थापना केन्द्र र पुरुष पुनर्स्थापना केन्द्रमा पुनर्स्थापित भएपछि धेरै युवाहरुले पुनर्जीवन समेत पाएको उनले जानकारी दिए । प्रहरी चौकी राटोमाटेका असइ सागर लुङवाले रातोमाटे नाका भएर धेरै लागूऔषध भित्रने र बाहिरिने भएकाले नियन्त्रणका लागि आफंहरु अहोरात्र खटिइरहेको जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आइतबारबाट पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएकाे छ । प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उद्घाटन गरे ।
केशबलाल श्रेष्ट स्मृती केन्द्रीय प्रतिष्ठान हेटौंडाकाे आयोजनामा सुरु प्रतियाेगिता ६ जेठसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्ला भलिबल संघकाे सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा सञ्चालन भएकाे प्रतियोगिता अन्तरगत आइतबार ४ खेल भएका छन् । लिगकम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा बकैया र भीमफेदी गाउँपालिकाले विजय यात्रा सुरु गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले ईन्द्रसरोवर गाउँपालिकालाई २५–१७ र २५–९ काे साेझो सेटमा हरायो । यस्तै बकैयाले बागमतीलाई २५–१४ र २५–१२ को सोझो सेटमा हराउँदा भीमफेदीले मकवानपुरगढी गाउँपालिकालाई २५–१५ र २५–१८ को सेटमा हरायो । यस्तै थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २५–१४ र २५–२१ को सेटमा पराजित गरेकाे जिल्ला भलिवल संघ मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा मकवानपुरका १० मध्ये ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ८० हजार प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अर्को २ टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने सिटौलाले बताए । उनका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । महिला भलिबल खेलाडीको पहिचान एवम् खेल क्षेत्रको विकासका लागि प्रतियाेगिता आयोजना गरिएकाे उनले जानकारी दिए ।