मकवानपुर । बागमती नदीले बगाउँदा १ जनाको मृत्यु भएको छ । बागमती–१ माझगाउँ बस्ने अन्दाजी ४० वर्षीय ईन्द्रबहादुर भोलनको बागमती खाेलाले बगाउँदा मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवनापुरका अनुसार सिन्धुली जिल्लामा आफन्त कहाँ जान बागमती नदी तर्ने क्रममा भोलनलाई नदीले बगाएको थियो । प्रहरीले खोज तलास गर्ने क्रममा मंगलबार दिउँसो बागमती–१ हात्तिढुङगा स्थित खोलाको बिचमा रहेको ढुङगामा अड्किएको अवस्थामा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । प्रत्येक प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालन ल्याउने तयारीसँगै बागमती प्रदेशकाे राजधानी हेटौंडामा प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय हेटौडामा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशाला भदौ २२ देखि सञ्चालनमा ल्याइएको हो । करिव १२ करोड रुपैयाँ लागतमा स्थापना गरिएको प्रयोगशालाले मुलुकमा बरामद हुने लागुऔषधमध्ये ४० प्रतिशत नमुनाको परीक्षण गर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बताए । ‘हेटौंडामा विधिविज्ञान प्रयोगशाला स्थापना भएपछि न्यायप्राप्तिको प्रक्रिया छिटो हुनेछ,’ उनले भने ।
लागुऔषध, जबर्जस्तीकरणी र डीएनएको प्रतिवेदन ढिलो हुने कारण न्यायप्राप्ति पनि ढिलो हुने गरेको थियो । विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन नआएका कारण अदालतका फैसलामा ढिलाइ हुने गरेको जिल्ला अदालत मकवानपुरका एक अधिकृतले बताए । हेटौंडास्थित प्रयोगशालामा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाहीका नमुना परीक्षण गरिनेछ ।
नमुना परीक्षणका लागि बरामद भएका वस्तु वा पक्राउ परेकाहरूको जिल्लाबाट तीन दिनभित्र नमुना पठाइसक्नुपर्ने र प्रयोगशालाले १० दिनभित्र सम्बन्धित जिल्लामा प्रतिवेदन पठाउने कार्यतालिका रहेको प्रयोगशालाका प्रमुख मोहनसिंह धामीले बताए । उक्त प्रयोगशालामा रसायन तथा लागुऔषध, जबर्जस्तीकरणीअन्तर्गत बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षण गरिने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
यो विधिविज्ञान प्रयोगशाला मुलुकको चौथो हो । यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला स्थापना भइसकेका छन् ।
मकवानपुर। बागमती प्रदेश सरकारले भाेटेकाेशी बाढी–पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ।
केन्द्रीय विपद् परिषद्को बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीले प्रभावित बस्तीको पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी योजना प्रस्तुत गर्नुभएको हो । भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो क्षति भएपछि जोखिमयुक्त पुराना बस्तीलाई सोही स्थानमा पुनःस्थापना नगर्ने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो ।
बाढीले बगरमा परिणत गरेका क्षेत्रमा पुनर्निर्माण नगरी त्यस्ता स्थानलाई वृक्षारोपण तथा हरियाली क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । प्रभावित परिवारलाई पुनःस्थापनाका लागि स्थानीय तहसँगको समन्वयमा सुरक्षित वैकल्पिक जग्गा पहिचान गरिएको प्रदेश सरकारले जनाएको छ। तिनै तहको सरकार मिलेर स्थानीय पालीकाले उपलब्ध गराएको ११५८ रोपनी जग्गा र ४०० रोपनी स्थानीयको जग्गा मिलाएर ल्यान्ड पुलिङ मार्फत स्मार्ट सिटीको लागि चाहिने आबस्यक पुर्वाधारसहित ‘ल्यान्ड पुलिङ’ प्रणालीमार्फत एकीकृत बस्ती विकास गरिने प्रदेश सकारकाे योजना रहेकाे बताइएकाे छ।
नयाँ बस्तीमा व्यवस्थित आवाससँगै आवश्यक आधुनिक पूर्वाधार निर्माण गरिनेछ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी बस्तीभित्र स्वास्थ्य चौकी, सामुदायिक विद्यालयलगायत आधारभूत सेवा तथा सुविधाको व्यवस्था गरिने मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभएको छ। यस्तै बाढीका कारण पूर्ण रूपमा क्षति भई बगरमा परिणत भएका निजी जग्गाको सट्टा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा लालपुर्जासहितको जग्गा उपलब्ध गराउने गरी जग्गा सट्टापट्टाको व्यवस्था मिलाइने पनि मुख्यमन्त्री थापाले बताउनुभयो ।
प्रदेश सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनलगायत प्राथमिक चरणमा राहतका काम सम्पन्न भएको जनाएको छ। स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय तथा सहकार्य गर्दै दिगो पुनर्निर्माण र पुनःस्थापनाको कामलाई तीव्रता दिने उहाँले जानकारी दिनुभयो।
सरकारले विपदबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणसँगै भविष्यमा दोहोरिन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई समेत प्राथमिकतामा राखेर सुरक्षित र व्यवस्थित नयाँ बस्ती विकास गर्ने संघीय सरकारलाई जानकारी गराइएको छ।
१ लाख ११ राशीको भैरव पुरस्कारबाट रिजाल सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुरका अग्रज साहित्यकार तथा हास्यव्यङ्गयकार आरसी रिजाल १ लाख ११ हजार राशीको भैरव पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ ।
आइतबार काठमाडौंमा भैरव पुरस्कार गुठीले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित रिजाललाई सम्मानित गरेको हो । भैरव अर्यालको ५० औं स्मृति दिवसको सन्दर्भमा मकवानपुरका रिजालसँगै अन्य दुई जना पनि सम्मानित हुनु भएको छ ।
भैरव वाङ्मय पुरस्कारबाट टेकवीर मुखिया सम्मानित हुनु भएको छ । यस्तै भैरव प्रतिभा पुरस्कारबाट देवीप्रसाद चापागाई सम्मानित हुनुभएको छ । मुखिया १ लाख १ हजार रुपैयाँ नगद तथा चापागाई ५१ हजार १११ रुपैयाँ नगदको उक्त पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
रिजाल सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक, साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ । हाँस्यव्यंग्यकार रिजालको हाँस्यव्यंग्य कृति समेत प्रकाशित छन् ।
भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षता तथा भैरव अर्यालका छोरा दीपक अर्याल र छोरी रश्मि अर्यालको उपस्थितीमा काठमाडौंको गोकर्णेश्वर जोरपाटीस्थित भैरव स्मृति भवनको सभाकक्षमा सम्मान कार्यक्रम भएको हो ।
मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त हुनु भएकाे छ । प्रदेश मुख्यमन्त्री किरण थापा मगरले रोक्कालाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नु भएकाे हाे ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले काठमाडौं पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आयोगको उपाध्यक्षमा रोकासँगै सदस्यहरुमा सुनिता गौतम, डा. दीपक विक्रम थापा र डा. सुरेन्द्रवर सिंह थापा नियुक्त हुनु भएकाे छ । रोका र थापा नेकपा एमालेकाे सिफारिसमा, सिंह थापा राप्रपाबाट र गौतम नेकपाको सिफारिसमा नियुक्त हुनु भएकाे हाे ।
नवनियुक्त उपाध्यक्ष रोका र २ जना सदस्यले पद तथा गोपनियताकाे सपथ लिनु भएकाे छ । मुख्यमन्त्री थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष रोका तथा सदस्यहरू थापा क्षेत्री र सिंह थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे । उपाध्यक्ष रोकाले राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएकाे छ । उहाँले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएकाे हाे ।
उपाध्यक्षमा नियुक्त राोकासँग सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव रहेको छ । यसैगरी उहाँले यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष पदमा रही कार्य समेत गर्नु भएकाे छ ।