मकवानपुर । छिमेकी देश चिनको तिब्बत क्षेत्रमा परेको वर्षापछी भोटेकोशी नदीमा एक्कासी आएको बाढीले मुख्यतः बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछी बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गर्नु भएको छ ।
भोटेकोशी नदिमा बेपत्तामध्ये केहीको शव फेला परेको खबर छ । बेपत्ता, निधन र भौतिक संरचनाको अपूरणिय क्षतीको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले यस्तो अपिल गर्नु भएको हो । सोमबार राती चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारी साधन, जलविद्युत परियोजनामा क्षति र सडक बगाएको जानकारी प्राप्त भएको छ ।
‘यो विपदको समयमा पीडित प्रभावितलाई सहायता गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, रेड्क्रसलगायत परोपकारी निकायहरुलाई उद्धारमा जुट्न र तयारी अवस्थामा रहन समेत विशेष अनुरोध गर्दछु’ उहाँले सार्वजनिक गर्नु भएको अपिलमा भनिएको छ ।
‘यो दु:खद घडीमा आ आफ्नो तर्फबाट विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्दछु । उद्दार र राहत कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायहरूलाई हार्दिक आग्रह गर्दछु’ उहाँले भन्नु भएको छ ।
नेपालको विभिन्न जिल्लाहरुमा अहिले पनि वर्षा जारी भइरहेको छ । मौसम पुर्वानुमान अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने र बागमती प्रदेशलगायतमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
विपदबाट बच्नको लागि आफू सचेत रहन र अरुलाई सहायता गर्न सबैमा उहाँले अनुरोध गर्नु भएको हो । यस्तो जोखिमको बेला नदी तटीय क्षेत्रमा बसोबास नगर्न, बाढीले बगाएर ल्याएको काठ, दाउरा बटुल्न नजान र अरु गएमा समेत रोकेर संभावित जोखिम कम गर्न प्रदेश प्रमुखले सबैमा अनुरोध गर्नु भएकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । सोमबारको प्रदेशसभा बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
प्रदेश सरकार लागि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गत असार १ गते आगामी आव २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रदेश सभमा पेश गरेका थिए । बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संसदमा पेस गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गर्ने र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । निर्णायार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा बहुमत सदस्य रहेका थिए । प्रस्तावको पक्षमा बहुमत सांसद भएपछि सभामुखले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
प्रदेशसभाका ७ जना सांसदहरूले सरकारको बजेटमा खर्च कटौतीको प्रस्ताव राखेका थिए । सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सैंजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए । संसदमा प्रस्तुत भएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भयो ।
प्रदेशसभाकाे आइतबार र सोमबारकाे बैठकमा सरकारको बजेट माथि सांसदहरूले धारणा राखेका थिए । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले तथा मुख्यमन्त्री बहादुर सिंह लामाले बजेट माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
प्रदेश सरकारको बजेट आइतबार नै पारित गर्ने तयारी गरिएपनि छलफलमा भाग लिने सांसदको संख्या बढेपछि सोमबारका लागि कार्यसूची सारिएको थियो ।
सभाकाे पेश भएकाे बजेट माथि १२ असार देखि छलफल गर्ने कार्यसूची तय गरेकाे भए पनि प्रदेश सभाकाे बैठक बजेट विवादका कारण पटक पटक स्थगित भएकाे थियाे । दलहरू बिच बजेट माथिको छलफल थाल्न ८ बुँदे सहमति सहित पुरक प्रस्ताव दर्ता भएपछि प्रदेश सभाकाे बैठक अवरोध भएन ।
मकवानपुर । बागमती प्रदेशमा २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महिनाकाे चौथो हप्ता लाग्दासम्म प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा राेपाइँ अझै हुन सकेकाे छैन ।
प्रदेशको कूल पाँच लाख ३४ हजार आठ सय ७१ दशमलव ६० हेक्टर जग्गामध्ये एक लाख २० हजार ६ सय १० दशमलव २५ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । प्रदेश कृषि निर्देशानलयका अनुसार यस वर्ष हालसम्म २४ हजार सात सय ४२ दशमलव ७८ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको हाे ।
यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेकाे निर्देशनालयले जनाएकाे छ । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी दोलखा र भक्तपुरमा ६५ प्रतिशत र सबैभन्दा कम धादिङमा ५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।
काठमाडौंमा ६० प्रतिशत, ललितपुरमा ५५ प्रतिशत, रसुवामा २८ दशमलव ८३ प्रतिशत, सिन्धुपाल्चोकमा २७ दशमलव ८ प्रतिशत, रामेछापमा २२ प्रतिशत, नुवाकोटमा १८ दशमलव २१ प्रतिशत, सिन्धुलीमा ९ दशमलव ६६ प्रतिशत, चितवनमा ८ दशमलव ८ प्रतिशत र मकवानपुरमा ७ दशमलव ९९ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको सूचना अधिकारी दाहालले बताए ।
काठमाडौंमा २१ हजार दुई सय हेक्टर खेतीयोग्य जग्गामध्ये पाँच हजार नौ सय २६ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै ललितपुरमा कूल १५ हजार दुई सय ९६ हेक्टरमध्ये चार हजार एक सय ६३ हेक्टरमा तथा भक्तपुरमा कूल आठ हजार ७७ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार छ सय ९९ हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।
त्यस्तै चितवनमा कूल ४८ हजार ६ सय ९४ हेक्टरमध्ये २७ हजार दुई सय सात दशमलव २५ हेक्टरमा, मकवानपुरमा ४१ हजार तीन सय ३८ हेक्टर खेतीयोग्य जग्गा रहोकामा सात हजार ६७ हेक्टरमा, नुवाकोटमा ३२ हजार सात सय ३५ हेक्टरमध्ये १६ हजार चार सय ९८ हेक्टरमा, रसुवामा १३ हजार सात सय ७८ दशमलव ६ हेक्टरमध्ये दुई हजार सात ८१ हेक्टरमा र धादिङमा ४८ हजार एक सय ३६ हेक्टरमध्ये ११ हजार एक सय ५९ हेक्टरमा धान रोपाइँ धान खेती हुने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए ।
यसैगरी सिन्धुलीमा ६२ हजार सात सय १३ हेक्टरमध्ये १३ हजार चार सय ४५ हेक्टरमा, रामेछापमा कूल ५० हजार नौ सय आठ हेक्टरमध्ये सात हजार आठ सय ५९ हेक्टरमा, दोलखामा कूल ५६ हजार ६ सय ८३ हेक्टरमध्ये दुई हजार आठ सय १४ हेक्टरमा, काभ्रेपलाञ्चोकमा कूल ६१ हजार पाँच सय ९४ हेक्टरमध्ये १० हजार दुई सय १० हेक्टरमा र सिन्धुपाल्चोकमा कूल ७३ हजार सात १० हेक्टरमध्ये आठ हजार सात सय ८२ हेक्टरमा धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ ।
पर्याप्त वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै किसान धान रोपाइँ गरिरहेका छन् । पछिल्ला वर्षहरूमा कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै गएकाे छ। आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूलाई समय, श्रम र लागतको बचत हुनुका साथै उत्पादनमा वृद्धि हुन थालेको बताइन्छ ।
किसानले खेती गर्दा ट्रेक्टर, थ्रेसर, मिनी टिलर, मल छर्ने मेसिन, पानी तान्ने मोटर लगायतका उपकरण प्रयोग गर्न थालेका हुन् । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगका कारण किसानले समेत यान्त्रीकीकरणमा जोड दिन थालेका हुन् ।
जिल्लामा कृषिमा यान्त्रीकरण प्रवर्धन गर्न बागमती प्रदेश सरकार र कृषि मन्त्रालयबाट समेत अनुदानमा कृषि उपकरण वितरण भइरहेको छ। सधै परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुले आधुनिक उपकरणबाट खेती गर्दा एक दिनमै तीन-चार दिनमा हुने काम गर्न सकेका छन् ।
यान्त्रीकरणसँगै व्यावसायिक तरकारी खेती, धान र मकै उत्पादनमा पनि उल्लेखनीय वृद्धि हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ । अझै गाउँ–गाउँमा पहुँच नपुगेको, उपकरणको मर्मत समस्या, तालिम अभाव र ऋणको सहज पहुँच नहुँदा यान्त्रीकरणमा पूर्ण रूपान्तरण चुनौतीपूर्ण रहेको किसानहरूको भनाइ छ।
मकवानपुर । गायक पुरुषोत्तम दाहालकाे स्वर रहेकाे लेकमा मेराे घर छ बाेलकाे गीत सार्वजनिक भएकाे छ । मामा भान्जा इन्टरटेनमेन्ट युट्युव च्यानलबाट उक्त गीत तथा भिडियो सार्वजनिक भएकाे हाे ।
रचना तथा म्युजिक बैकुण्ठ घिमिरेकाे रहेकाे गीतमा एरेन्जर गोपी अधिकारीले गरेका छन् भने रेकर्डिङ मिक्सिङ र मास्टरिङ प्रकाश लामाकाे रहेकाे छ । एटीएफ इन्टरटेनमेन्टले अडियो र भिडियो तयार गरेकाे गीतकाे निर्देशन बैकुण्ठ घिमिरेले गरेका छन् । राम गौतमले सम्पादन गरेकाे म्युजिक भिडियोकाे सिनेमाटोग्राफी अनिल आचार्य (विन्दवासिनी फोटो स्टुडियो पयुटार) ले गरेका छन् ।
नुवाकाेटका दाहालले २०५९ सालबाट गायन यात्रा सुरु गरेका हुन् । यस अघि उनकाे बुटौल कोहलपुर (२०५९) मायालुको काठमाडौंमा घर(२०६२) नभन तिम्रो केहि दम छैन्न (२०६७ ) पातली पातली (पप गीत) लगायतका गीत सार्वजनिक छन् ।
मकवानपुर । बागमती प्रदेशसभा संचालनकाे लागि दलहरु विच ८ बुँदे सहमति भए पनि पुनः अवरुद्ध भएको छ । बिहीबार सत्तारुढ दल र प्रतिपक्षबिच भएको सहमति कार्यान्वयनमा समस्या भएकाे भन्दै शुक्रबारको लागि बाेलाइकाे प्रदेशसभाकाे बैठक अवरुद्ध भएकाे हाे ।
शुक्रबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची रहेकाे थियाे । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले बिहीबार भएकाे बजेट सम्बन्धी सहमति कार्यान्वयन नभएको बताएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक रत्न प्रसाद ढकालले सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति कार्यान्वयन नभएसम्म संसद् सञ्चालन नहुने बताए ।
माओवादी केन्द्रले बिहीबारको सहमति अनुसार छुटेका योजना मन्त्रिपरिषद्बाट निर्णय गरी संसद्मा ल्याउन माग गरेको उनले जानकारी दिए ।उनले भने ‘सरकारले बिहीबारको सहमति सरकारबाट उल्लघंन गरेपछि बैठक अवरुद्ध भएकाेले सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न सक्ने छैन ।’
प्रदेशसभा रोकेर केही बेर दलहरू बिच भएको बैठकमा समेत सहमति नजुटेपछि माओवादी केन्द्रले संसद्को काम अघि बढ्न नसक्ने अडान लिएको थियाे । माओवादी केन्द्रले बिहीबारको सहमति अनुसार छुटेका योजनाहरू समेट्ने गरी मन्त्रिपरिषद् बैठकको निर्णय गरेर संसद्मा ल्याउनुपर्ने माग गरेको छ । प्रतिपक्षले योजनाको समावेशीकरण र बजेटको न्यायोचित बाँडफाँटको माग गर्दै आएको छ ।
शुक्रबारको बैठकमा विनियोजन विधेयक टेबुल गर्न ३० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सो बिचमा केही समय दलहरूबिच छलफल भएपनि सहमति जुट्न नसकेको हाे । बैठक सञ्चालन हुन नसकेको पछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर शनिबार १ बजेसम्मका लागि प्रदेशसभाकाे बैठक स्थगित गरेकाे छ ।
बागमती प्रदेश सरकारले १ असारमा आर्थिक २०८२/०८३ काे बजेट सार्वजनिक गरेकाे थियाे । प्रदेश सभामा प्रस्तुत बजेट माथि दफावार छलफल गरी पारित गर्नु पर्ने कानूनी व्यवस्था छ । तर बजेट माथिको छलफलकाे लागि आव्हान गरिएकाे बैठक बस्दै नबसी सारिदै आएकाे थियाे । पटक–पटक प्रदेशसभा अवरुद्ध हुँदै आएकोले दलहरु विच बिहीबार प्रदेश सभा संचालनकाे लागि ८ बुँदै सहमति गरेका थिए ।
गत १२ असारमा बजेट माथिको छलफलका लागि बाेलाइएकाे विवादका कारण अवरोध आएको थियाे । सत्तारुढ र प्रतिपक्ष दलबिच सहमति हुन नसक्दा १६ असारका लागि बोलाइएको बैठक समेत स्थगित गरी १९ असारकाे लागि बाेलाइएकाे थियो । दलहरु विच बजेट कार्यान्वयनका लागि ८ बुँदै सहमति पछि बिहीबारकाे बैठक केही समय संचालन भई शुक्रबार बस्ने गरी स्थगित भएकाे थियाे ।
यस्तो थियो दलहरु विचकाे ८ बुँदे सहमति
