मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा निवासी शान्ति कुमारी कुँवर थापाले चौघडामा रहेको रक्षादेवी मन्दिरलाई सोमबार २ थान सिमेन्टको कुर्सी प्रदान गरेका छन् ।
आफनो बृबा आमाको सम्झनामा थापाले कुर्सी प्रदान गरेका हुन् । स्वर्गीय बुबा हर्कमान कुँवर र आमा मोती कुँवरको सम्झनामा मन्दिरलाई कुर्सी प्रदान गरिएकाे हाे । रक्षादेवी मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भु बहादुर रिमालको प्रमुख आतिथ्या एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उपेन्द्र थापा, सचिव राजकुमार फुँयाल, सहसचिव विजय कुमार हुमागाई, सञ्चारकर्मी भीमसेन पौडेल, समितिका पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरका १५ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण गरिएकाे छ । भदाै १४ गते साेमबार माउन्टेन हार्ट नेपाल र हेटौंडा-६ नम्बर वडा कार्यालयले मकवानपुरका विभिन्न १५ स्वास्थ्य संस्थालाई सोमबार अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हाे ।
हेटौंडा-६ रामनगरस्थित निर्माणाधिन सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल परिसरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको अध्यक्षतामा अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिका ३, बागमती गाउँपालिका २, मकवानपुरगढी गाउँपालिका ७, भीमफेदी गाउँपालिका ७, हेटौंडा वडा नम्बर ३, ५, ६, ९, १२, १३, १४, १५, १६, १८ र १९ का स्वास्थ्य चौकीलाई ७ लिटरको अक्सिजन कन्सर्नट्रेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा हेटौंडा-१५ का अध्यक्ष महारत्न लामा, हेटौंडा-१२ का अध्यक्ष ललित घलान, हेटौंडा-३ का अध्यक्ष रामकुमार पुडासैनी, हेटौंडा-१९ का अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-६ का वडा सदस्य राजकुमार बास्तोला, हेटौंडा-५ का वडा सदस्य ज्ञानु थापा, कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुलीकाे उपस्थिति थियाे ।
यसै गरी मकवानपुरगढी-७ का अध्यक्ष सूर्यबहादुर रूम्बा, सिद्धस्थली अस्पतालका प्रतिनिधि गोमा गौतम, गौतम समाज बागमती प्रदेश अध्यक्ष होमनाथ गौतम, हेटौंडा अस्पताल संचालन एवं व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, जनप्रिय प्राविधिक शिक्षालयका अध्यक्ष रमेश खतिवडा, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईं, सिद्धस्थली अस्पताल संचालक समिति सदस्य विष्णु ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा करिब ३७ लाख ५० हजार रूपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र) को भीमफेदी गाउँपालिका–३ नम्बर अध्यक्षमा अर्जुन थिङ चयन भएका छन् । भीमफेदी ३ काे झल्कनेमा भएकाे पार्टी वडा भेलाले थिङ सहित २९ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।
भेलाबाट अध्यक्षमा थिङ सहित २९ सदस्यीय कार्य समिति चयन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए । २९ सदस्यीय कार्यसमितिकाे वडा सचिवमा सानुकान्छा मगर, सदस्यहरुमा नागेन्द्र लामा, नानुमाया सुनार, दिपक थिङ, पुजा आले, संजिव गोङबा, कृष्णमाया तामाङ, मास्टर कालिकोटे, आइमान स्याङतान लगायत रहेका छन् ।
पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा वडा भेला भएको हो । भेलामा पार्टी जिल्ला सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज बद्रि स्याङ्तान, जिल्ला सदस्यहरु प्रिती लाल लामा, रन्जित राना मगर, मदन बर्तौला, भीमफेदी गाउँपालिका पार्टी कमिटी अध्यक्ष दीपक गोले लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । आज भाद्रकृष्ण अष्टमी । हिन्दुहरूका भगवान श्रीकृष्णकाे जन्मदिन । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्ण जन्माष्टमी’ काे दिन महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
पौराणिक ग्रन्थमा उल्लेखित कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । महाभारत ग्रन्थ अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त विचारहरूकाे संग्रह ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको एक पवित्र ग्रन्थ मानिन्छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा सार्वजनिक विदा समेत दिएकाे छ ।

प्रकृतिकाे मजाः बर्षाैदेखि ओझेलमा परेको बुङदलको झरना हेर्ने र रमाउँनेकाे अचेल भीड बढ्न थालेको छ । मकवानपुरगढी गाउँपालिका ५ र भीमफेदी गाउँपालिका ७ को सिमामा रहेको प्राकृतिक झरनाकाे बारेमा बषौंदेखि कसैकाे चासो थिएन । झरनासँग रमाउन अाउनेहरूले सामाजिक संजालमा फाेटाे पाेष्ट गर्ने बढ्न थालेका छन् । भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थलगत रुपमा अवलोकन गरेपछी यस क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा अगाडी बढाइने भएको छ । तस्विरः सहीखबर




