मकवानपुर । आजदेखि सोह्र श्राद्ध सुरु हुने भएकाे छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।
सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ। कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्र, ग्रन्थमा उल्लेख गरिएको छ। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन्।
नेपालीले बडा दशैँ मनाउनुअघि पितृलाई तृप्ति गर्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको मान्यता छ। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडा दशैँ शुरु हुन्छ।
यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न धर्मशास्त्रविद्ले आह्वान गरेका छन्। विशेष गरी अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो।
श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ। कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन धर्मशास्त्रविद् बताउँछन्।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति लाग्नुअघिसम्म अर्थात् मङ्सिर अघिसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १ सय ८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।
‘श्रद्धया यद्दियते तद् श्राद्धम्’ अर्थात् श्रद्धाले जे दिइन्छ, त्यो नै श्राद्ध हो। यसैले यो पक्षमा पितृलाई खुसी बनाएर आनन्द लिने गरिन्छ । सोह्र श्राद्ध चार किसिमले गरिन्छ। तीन पुस्तालाई मात्र पिण्ड दिएर गरिने एकापार्वण श्राद्ध हो। यही पक्षमा निधनका भएकाका नाममा यो श्राद्ध गरिन्छ।
घर मामाघर तिरका तीन पुस्तासम्मलाई पिण्ड दिएर गरिने श्राद्धलाई द्वि पार्वण भनिन्छ। घर तर्फकालाई दुई पिण्ड र मामाघरतर्फ एक पिण्ड दिएर गरिने सोह्रश्राद्धलाई त्रिपार्वण भनिन्छ। घरतर्फका पितृलाई दुई र मामाघरतर्फका पितृलाई दुई गरी चार पिण्ड दिएर गरिने सोह्र श्राद्धलाई चतुर्पावण भनिन्छ।
लक्ष्मी आचार्य
सडकका पेटीमा,
चोक अनि गल्लीहरूमा
भौँतारिईरहेछ पूनर्जीवन खोज्नलाई
एक जिउँदो आत्मा।।
वसन्तमा पनि पालुवा पलाएन
सायद, धरामै रहेर पनि सुकेका छन्
उसका जिन्दगीका जराहरू
बिना मल बिना जल ।।
हज्जारौँ सपनाको प्यासमा
तिर्खाएको छ जिउँदो आत्मा
उडेको छ जहाजसरी
आफूलाई आकाशमा उडाउँदै
र रमाउँदैछ काल्पनिक उडानको संसारमा ।।
गिज्याईरहेछ हिमालले
पहाडका टाकुराहरूले अनि
तराईका समतल फाँटहरूले
फूलले अनि पातले ,शितल जूनेली रातले ।।
कहिले भर्याङ्ग चढाउँछ आफूलाई
संभावना रहित जिन्दगीको
कहिले पुर्याउँछ आफूलाई भट्टीमा
आँखामा हिमालको चस्मा लगाई हेर्छ संसारलाई
मात्र उसको सामु बोत्तलले शिर निहुराइरहन्छ ।।
सोच्छ, जिन्दगी कुहिरोभित्रको काग भयो
मजाकमा छापिएको अखबारको
शीर्षक भयो जिन्दगी
अजङ्गको भीर भयो जिन्दगी
मुहानबिनाको तीर भयो जिन्दगी
गन्तव्य खोज्दाखोज्दै थकित छ जिउँदो आत्मा
आखिर शिर निहुराएर झुक्दै
साथ दिने त बोत्तल मात्र रहेछ ।
विराटनगर
मकवानपुर । संविधान रक्षाको जिम्मेवारी कांग्रेसकाे काधमा आएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य महालक्ष्मी उपाध्याय डीनाले बताएकी छिन् ।
७ औ संविधान दिवसको अवसरमा सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा आयोजना गरेको संविधान निर्माणमा कृष्णप्रसाद भट्टराईको प्रेरणा विषयक बिचार गोष्ठि कार्यक्रममा बोल्दै डिनाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन र जगेर्ना गर्ने दायीत्व पनि नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताको काधमा आएको बताएकी हुन् ।
नेतृ डीनाले सन्त नेता कृष्णप्रसाद भट्टराईका मार्गमा हिडेमात्रै पनि कांग्रेसले संविधानको रक्षा गर्नसक्ने बताईन् । उनले सन्त नेता कृण्णप्रसाद भट्टराईको त्याग र बलिदानलाई आत्मसात गर्ने हो भने नेपाली कांग्रेसलाई धुर्विकृत हुनबाट जोगाउन सकिने र एकतावद्ध बनाएर लैजान सहयोग पुूग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णु लामिछाने, प्रमुख सल्लाहाकार माइकल रामचन्द्र अर्याल, सहप्राध्यापक कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली, स्मृति केन्द्रका उपाध्यक्षद्वय शुभाषचन्द्र अधिकारी र मञ्जु खराललगाएतले सन्त नेता कृष्णप्रसाद भट्टराईको बारेमा चर्चा गरेका थिए ।
स्मृति केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार अशोक शाक्य, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिव सुवेदी, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, अमृता थापा, सुनिल अधिकारी लगायत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका जिल्ला अध्यक्ष, सुभेच्छुक संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
संविधान दिवसको अवसरमा स्मृति केन्द्रको आयोजनामा पार्टी कार्यलयमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादी हेटाैडा १२ का सुनिल कुमार सिं तामाङ भन्ने सुनिल थिङ्ग र हेटाैडा ९ का राज कुमार काेइरालालाई पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७६ मंशिर १० गतेको फैसलाले लागुऔषध गाँजा चरेस मुद्दामा १२ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी थिङ्गलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज १ गते शुक्रबार हेटाैडा १२ बाट पक्राउ गरिएकाे हाे ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०७४ साल चैत २६ गतेको फैसलाले लागुऔषध मुद्दामा १ महिना १० दिन कैद र ३ हजार ५ सय जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी कोईरालालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज ४ गते साेमबार हेटाैडा ९ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । अहिले सुदुर पश्चिम प्रदेश सहितका प्रदेशहरुकाे पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेकाे छ भने तराई भू-भागमा आंशिक बदली रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेकोले देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएकाे छ ।
देशभर आंशिक देखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी र सुदुर पश्चिमको एक दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएकाे छ ।
उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले प्रकाशित गरेकाे बुलेटिनमा उल्लेख गरेकाे छ।
आगामी ३ दिनको मौसम पूर्वानुमान
आश्विन ४ गते सोमबार देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।
आश्विन ५ गते मंगलबार देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
आश्विन ६ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।