मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले सभापतिका अर्का उम्मेदवार नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १ सय ५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी थापाले भने ६८ मत प्राप्त गरेका थिए । २ मत भने बदर भएको मतदान अधिकृत सुमनकुमार मानन्धरले जानकारी दिए ।
कुल ४५ सदस्यीय गाउँ कमिटीका लागि असाेज ९ गते भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा १६ जना प्रतिनिधिहरु निर्वाचित भएका छन् । १८ जना प्रतिनिधि भने समानुपातिक तर्फका रहने व्यवस्था रहेको छ । श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन् ।
- सविता के.सी.
ऊ आयो अनि सोध्यो “के तिमी आफूलाई बेच्दै छौ ?” उनले भनिन् “हो बेच्दै छु ।” “अनि मूल्य त निकै राखेकी रहिछ्यौ त !” उसले भन्यो ।”तिमीले मलाई मासु खान राखिएका राँगा, बोका, सुँगुर, ब्रोइलर कुखुरा सोच्यौ कि कसो? मासु मोलमा भाउ राख्न ?” उनी कड्केर बोलिन् ।
उसले अनकनाउँदै भन्यो “हैन । फेरि पनि !”उनले भनिन् “मैले मेरो इमान्दारिता, मेरो स्वाभिमान, इज्जत मेरो सत्यता विक्री गरेर खुसी किन्न खोजेको हो ।” “इमान्दारिता बेचेपनि पुग्छ खुसीका लागि । इमान्दारिता बेचेपछि स्वभिमान, सत्यता, इज्जत अपाङ्ग हुन्छन् । त्यसैले सबैलाई एकमुष्ट बेच्ने योजना छ । अनि त्यसले खुसी किनेर आरामको जीवन जिउने रहर छ । सक्नुहुन्छ किनेर देखाउनु होइन भने मेरो भाउ मेरो मूल्यमा दख्खल नदिनु ।” उनले कड्किएरै भनिन् ।
ऊ केही नबोली जुरुक्क उठेर गयाे । उनी आफ्नो चिन्तित अनुहार लिएर भित्र पसिन् ।
बझाङ
सावित्री अधिकारी
आजकाल त घरको चुलो बाल्नै गाह्रो भो
रित्तिसक्यो गोजि आफ्नो पेट पाल्नै गाह्रो भो ।
महिना बितिसक्यो अब हात खाली भाको
फाटी सक्यो धोती चोली पनि टाल्नै गाह्रो भो ।
प्राइभेट शिक्षक म सवै गर्छन आदर
सम्मानकै भरमा पाइला चाल्नै गाह्रो भो ।
कोरोनाको त्रास मात्र फैलियो सबैतिर
यस्तो बेला नयाँ काम पनि थाल्नै गाह्रो भो ।
गाउँ फर्की जाउँ भने नि बस्ने बास छैन
भुकम्पले लडाको घर उचाल्नै गाह्रो भो ।
छोराछोरी निन्याउरो परि हेर्छन् मुखमा
कठै !मिठो मसिनो मुखमा हाल्नै गाह्रो भो ।
कति छन् कति पिडा कसलाई सुनाउनु
मनको पीर यी आँसुले पखाल्नै गाह्रो भो।
काठमाडाै
बासुदेव गुरागाईं
१.
पुग्दैन याे किन भन्थेँ सधैँ मनकाे धाेकाे
खनीखाेस्री जे गरे’नि सधैँ तनकाे भाेकाे
साेद्धाखाेज्दा आजित भएँ किन हुन्छ यस्ताे !
आखिरीमा पत्ता लाग्याे भाग्य रैछ डाेकाे ।
२.
भ्यागुताकाे धार्नी कैले पुग्छ यस्तै बात भए
पँधेराकाे गफ हुन्छ हिँडाइमा घात भए
जति मथे पनि दही नाैनी कतै निस्कदैन
खुट्टा काँप्न बेर छैन उज्यालैमा रात भए ।
३.
ढुङ्गा बाेल्न थाले यहाँ माटाे बाेल्न थाले
उँभाे लग्ने हामीलाई काे छाै ? भन्न थाले
गर्छाैँ भन्ने माथि पुगे बिर्से सबैलाई
त्याे पनि हाे ऊ पनि हाे भन्दै गन्न थाले ।
नुवाकाेट हाल काठमाडाै
- नवराज शर्मा
सधै साँझ नपर्दै आइपुग्ने नातिनीहरू अबेर रात पर्दासम्म आइपुगेनन्। चिन्तामणि चिन्तामग्न भए। बुढीतिर हेरे। खुइय साँस फेरे। धेरै बेरसम्म आमाबुबा जाग्राम बसेको देखेर छोरा बुहारीले भने ” होइन सुत्ने बेला भएन ? जानुस, सुत्नुस। अनिदो भए सन्चो हुँदैन। ”
“खोइ नातिनीहरू अहिलेसम्म आएनन्। समय खराब छ। कहाँ गएका होलान् ! ” ” सारा संसारमा महिलाहरु काम गर्न, काम विशेषले एक्लै बाहिर निस्कनछन्। यहाँ मात्र हो र ?” ” सुरक्षित ठानिएका विकसित मुलुकमा त महिलाहरु सुरक्षित छैनन्। झन् यहाँ ! ” ” त्यहि त ! दुर्घटना दरमा अरु मुलुक शिखरमा छन्। हामि काँ त सूचकांक कति कम कति कम। सुन्नु भा’ छैन, चिन्ता लिनु पर्दैन भनेको ? खोइ कुरा बुझ्या ! ”
” बुझें बा ! बुझें । ” भन्दै बुढाबुढी सुत्न गए। भोलिपल्ट त्यस घरका लाले लाली घाम ताप्दै गफ गर्दै थिए। ” होइन हाम्रा छोरीहरु कहाँ बाहिर भुस्याहाहरुसँग बरालिरहेका ! दिन समय खराब छ। कुरै बुझ्दैनन् बा ! ” लालीले एकफेर रिसाएर लालेलाई हेरी । ” आ ! हजुर पनि ! हामी जनावरमा कहिले कसैले जबरजस्ती गरेको वा भएको देख्नु सुन्नु भा’ छ ?
“एकछिन गम खाइ ‘के भा’ को हो बुढालाई ! मान्छेको संगतमा भएर हो कि मान्छे जस्तै सोच्न लाग्या छन्। “अनि लालेले सुन्नेगरी कराइ ” अचेल मान्छे त हामी जस्तै सोच्ने भइसके। सुन्नु भा’ छैन ? चिन्ता लिनु पर्दैन भन्दै हिंड्ने गर्या छन् ! ”
बीरगंज हाल भक्तपुर – १ लघुकथा