मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका ३ हजार मतदाताकाे नाम मतदाता सूचीबाट हटाएको छ । नागरिकता परित्याग गरेका, मृत्यु भएका र दोहोरो नाम दर्ता भएका समेत गरी करिब साढे ३ हजार मतदाताकाे नाम मतदाताकाे सूचीबाट हटाइएकाे हाे ।
सबैभन्दा धेरै मृत्यु दर्ता भएका १ हजार ९६४ मतादातालाई कार्यालयले सूचीबाट हटाएको छ । वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ताका आधारमा त्यस्ता नाम हटाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । यसैगरी दोहोरो मतदाता नामावली भएका १ हजार ५०२ मतदाताको नाम पनि सूचीबाट हटाइएको उनले बताए । त्यसैगरी नागरिकता त्यागेका ६ जनाको नाम पनि कार्यालयले सूचीबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागेको विवरणका आधारमा उनीहरूलाई सूचीबाट हटाएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।
निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामवाली सूचीबाट हटाइएको छ । निर्वाचन कार्यालयले हटाएको नामावली प्रकाशित गरेको छ । त्यसबारेमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा संचालित नगरस्तरीय क्रिकेटकाे उपाधी हेटौंडा ८ ले हात पारेकाे छ । हेटौंडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयकाे आयोजना तथा मकवानपुर जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएकाे प्रतियाेगिताकाे उपाधी ८ ले जितेको छ ।
आइतबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएकाे फाइनल खेलमा आयोजक हेटौंडा–४ काे टीमलाई ५३ रनले पराजित गर्दै हेटौंडा–८ ले उपाधि चुमेकाे हो । उपाधि विजेता हेटौंडा–८ ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हेटौंडा–४ ले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएकाे छ ।
टस जितेर पहिले व्याटिङ् गरेको हेटौंडा–८ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । टोलीका लागि विष्णु राउतले ५७ बलमा ५७ रन बनाउँदै अर्धशतक प्रहार गरे । विजय घलानले २९ बलमा २९ रन तथा सागर मगरले ११ बलमा १२ रनको योगदान दिए । १ सय १३ रनको लक्ष्य पछ्याएको हेटौंडा–४ ले १५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो । हेटौंडा–४ का विशाल फुयाँलले २० बलमा र उदिप श्रेष्ठले १२ बलमा समान १२–१२ रन बनाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका हेटौंडा–८ का प्रेम क्षेत्री म्यान अफ द म्याच घोषित भए । त्यस्तै, हेटौंडा–९ का युविन बुढाथोकी म्यान अफ द सिरिज घोषित भए । उनले ५ हजार रुपैयाँ नगद पुरसकार सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा हेटौंडा–८ का प्रेम क्षेत्री उत्कृष्ट बलर, युविन बुढाथोकी उत्कृष्ट व्याट्सम्यान तथा मेराज देवान उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा हेटौंडा–४ ले हेटौडा–९ लाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, शुक्रबार भएको दोस्रो सेमिफाइनलमा हेटौँडा–८ ले हेटौंडा–११ लाई ६ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नागरिकको स्वास्थ्य पहिलाे प्राथमिकता भएकाे बताउनु भएकाे छ । बुधबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेकाे कार्यक्रममा नागरिकको स्वास्थ्यभन्दा भौतिक पूर्वाधारलाई प्राथमिकता दिन नहुने उहाँले बताउनु भएकाे हाे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न आरोह–अवरोह पार गर्दै हाल एमबीबीएस, एमडी तथा स्नातक तहका चारवटा विभिन्न संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। प्रतिष्ठान र हेटौंडा अस्पतालबीच कार्यक्षेत्रलाई लिएर देखिएको अन्योल र समस्या नीतिगत रूपमा समाधान गर्न ऐन संशोधन गरिएको उहाँको भनाइ थियो। ऐन संशोधनपछि दुवै निकायबीचको समन्वय र सहकार्य थप मजबुत भएको उहाँले बताउनुभयो।
उहाँले संघीयता कार्यान्वयनअघि जिल्ला अस्पतालहरूको अवस्था कमजोर रहे पनि अहिले बागमती प्रदेशका १३ वटै जिल्लाका प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र आधुनिक स्वास्थ्य उपकरण थप गर्दै सेवा विस्तार गरिएको जानकारी दिनुभयो। हेटौंडा अस्पतालमा यसै वर्षदेखि मुटुरोग उपचारका लागि क्याथल्याब सेवा सञ्चालन गर्ने गरी बजेट र योजना तय गरिएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। क्याथल्याब सञ्चालनमा आएपछि मकवानपुरसँगै मधेश प्रदेश र चितवनका बिरामीलाई मुटुसम्बन्धी उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी हेटौंडा अस्पतालमा एमआरआई सेवा थप गर्ने तथा आमा र शिशुको विशिष्टीकृत उपचारका लागि आवश्यक स्थान र भौतिक पूर्वाधार तयार पार्ने काम तीव्र पारिएको उहाँले बताउनुभयो। डायलिसिस मेसिनको अभावमा विगतमा बिरामीले सास्ती खेप्नुपरे पनि नयाँ मेसिन खरिद गरी सेवा विस्तार गरिएपछि अहिले बिरामीले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको मुख्यमन्त्रीले बताउनु भयो।
हेटौंडा अस्पतालमा बिरामीको चापअनुसार शय्या अभाव भइरहेकाले प्रतिष्ठानको प्रशासनिक कार्यालयलाई अन्य सरकारी भवनमा सारेर हाल प्रशासनिक प्रयोजनमा रहेको स्थानलाई समेत बिरामीको उपचारका लागि प्रयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री थापामगरले डीपीआरअनुसार निर्माण भएका केही भवनका भित्री संरचना साँघुरा र असहज देखिएको भन्दै आर्किटेक्ट इन्जिनियर तथा प्राविधिक टोलीको सुझावका आधारमा आवश्यक सुधार गरिने बताउनुभयो।
बागमती प्रदेशको कुल बजेटमध्ये स्वास्थ्य क्षेत्रमा करिब ४।५ प्रतिशत मात्र बजेट विनियोजन भएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले आगामी वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “बाटो र पुल पनि आवश्यक छन्, तर नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हो,” उहाँको भनाइ थियो। प्रदेशका अस्पतालहरूमा आधुनिक स्वास्थ्य सेवा प्रणाली विकास भइरहेको जानकारी दिँदै मुख्यमन्त्रीले टेलिमेडिसिन, कागजरहित सेवाका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० तथा मोबाइल डिजिटल एपमार्फत अस्पतालका शय्या, ओपीडी र बिरामीको चाप प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था लागू गरिएको बताउनुभयो।
मुख्यमन्त्रीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै शिक्षा तथा स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
मकवानपुर । मकवानपुरकाे हेटौंंडाबाट स्राेत नखुलेकाे २१ लाख ४० हजार रुपैंयासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सोमबार बेलुका हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौंडा-भिमफेदी सडक खण्ड अन्तरगत चौकिटोलमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ च ०२०९ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा कालो पोलोथिनको झोलामा राखी ल्याइएको १ हजार रुपैंया र ५ सय रुपैंया दरको गरी २१ लाख ४० हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उक्त गाडी तथा नगद रुपैयासहित चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय बिजय खाती तथा साेही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.१ बस्ने ४० वर्षीय सिंहराम रुम्बालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट नेपाल राष्ट्र बैंक ऐन – २०५८ काे व्यवस्था अन्तर्गतकाे कसुरकाे मुद्दामा १५ दिनकाे म्याद थप भई अनुसन्धान भईरहेको छ ।