खुशी कला
१.
दसैँ गयो झिलिमिली तिहार आयो आँगनमा
दिदी र भाइको चाड खुसी छायो आँगनमा
मखमली र सयपत्री ढकमक्क फुलेको छ,
लक्ष्मीलाई स्वागत गर्ने द्वार सजायो आँगनमा ।
२.
स्वदेशको सयपत्रि र मखमली सम्झेर
देउसी भैलोको रमाइलो खलबली सम्झेर
रोजीरोटीको सवालमा दौडनु छ विदेशमा ,
विरक्त परदेशी तिहार झलझली सम्झेर ।
३.
मखमली र सयपत्री पाखाभरी फुलिरहँदा
गैरि खेतमा धानबाला लहलह झुलिरहँदा
याद आयो भाइ मन विरक्त भो तिहारमा पनि,
विदेशमा रोजी रोटीको लागि म डुलिरहँदा। ।
४.
सडक बालबालिकालाई दसैँ, तिहार थिएन
चाडपर्वहरू प्रति अनाथलाई प्यार थिएन
बचपनमै बाबुआमा गुमाउनुको पीडा छ ताजा ,
गरिबको खुसी फर्काउने कुनै उपचार थिएन ।
५.
तिहार आयो आउन पाइन सबै रमाउँदा नरूनु
तस्बिर समाइ टिका माला लगाउँदा नरूनु
बाचा गत साल गरेकै हो तिहारमा आउछु भनी,
देश विदेश कोरोनाको कहर छ हर्ष हराउँदा नरूनु ।
पाेखरा हाल युराेप
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी ३ जना पक्राउ गरेकाे छ । प्रहरीले चोरी मुद्दामा फरार २ जना र लागुऔषध मुद्दामा फरार १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका १५ बस्ने किरण बल र विज्ञान लामालाई चोरी मुद्दामा र जिल्ला मकवानपुर साबिक आमभन्ज्याङ ३ बस्ने दुर्गा प्रसाद दुलाललाई लागुऔषध मुद्दामा फरार रहेकाेमा मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७८ बैशाख १६ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी किरण र विज्ञानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौंडा–१५ बाट पक्राउ गरेको हो ।
यसैगरी, मकवानपुर जिल्ला अदालत हेटौंडाको २०७३ चैत्र ३० गतेको फैसलाले लागुऔषध मुद्दामा ११ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी दुर्गालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेकाे हाे । पक्राउ परेका ३ नै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराइएकाे रिमालले जानकारी दिए ।
मकवानपुर । नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जर्नादन शर्माले नेकपा माओवादी केन्द्र नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् । माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) हेटौँडा उपमहानगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै नेता शर्माले उक्त कुरा बताएका हुन् ।
समृद्ध मुलुक निर्माणको लागि युवा शक्तिको भूमिका अहम हुने भन्दै शर्माले अब प्रत्येक गाउँ, नगर तथा उपमहानगरमा ५ सय भन्दा बढी वाईसियलको दस्ता निर्माण गर्ने गरिने बताए । ‘माओवादी चुनौतीलाई परास्त गर्दै अघि बढ्ने शक्ति भएकोले अब माओवादीले नै नेपाली राजनीतिको नेतृत्व गर्नेछ’ शर्माले भने ‘ प्रतिगामी तत्वहरु माओवादी पार्टी र प्रचण्ड बिरुद्ध षड्यन्त्रपूर्वक लागेपनि संविधान विरोधी र लोकतन्त्र विरोधीहरुलाई जनताकै बलमा परास्त गरिने छ ।’
आगामी निर्वाचनमा माओवादीलाई जनताले मुलुकको नेतृत्व सुम्पिनुपर्ने उनले बताए । मुलुकमा हरेक परिवर्तनहरुमा माओवादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको भन्दै शर्माले माओवादीकै नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरिएको इतिहास ताजा रहेको बताए । मन्त्री शर्माले वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायीत्व बहन गर्दै जनताको हित हुने काम गरिरहेकोसमेत बताए । उनले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तीले थप जटिलता थपिदिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए । उनले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग कलकारखाना आफ्नो नेतृत्वमा संचालनमा आउने बताए ।
‘हेर्दै जानुस्, बर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग संचालनमा आउँछ, हेटौंडा कपडा उद्योगलाई संचालनमा ल्याएर सयौँलाई रोजगारीको अवसर प्रदान गरिनेछ । कपडा उद्योगमात्र होइन, बन्द अवस्थामा रहेको सबै उद्योग संचालनमा ल्याउँछौँ ।’ उनले भने । मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहिद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताए ।
बर्षौँसम्म लोडसेडिङ्को समस्या झेल्दै आएका जनताले अहिले २४ सै घण्टा बिजुली बाल्न पाएको बताउँदै उनले जनताको साथ पाए जस्तोसुकै चुनौतीको सामना गर्न आफु तयार रहेको बताए । शर्माले आजै मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्माण गरिएको रुद्र बाटिकाको अवलोकनसमेत गरेका छन् । उनले शहिद पाख्रिनको शालिकमा पुष्प अर्पण गर्दै हजारौँ ज्ञात अज्ञात शहिदहरुको बलिदानीबाट मुलुकले संविधान, लोकतन्त्र र स्वतन्त्रता प्राप्त गरेको बताए ।
मकवानपुर । लेखक संघ मकवानपुरले नेपालकाे लाेकतान्त्रिक आन्दाेलन र लेखन विषयमा बैचारिक विमर्श गरेकाे छ । नेपाली लेखक संघको आयोजनामा शनिबार हेटौंडामा भएको वैचारिक विमर्श कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र प्रमुख वक्ता डा. नवराज लम्साल रहेका थिए ।
प्रमुख अतिथी बानियाँले नेपाली लेखक संघ मकवानपुरले लेखले समाजमा फैलिएकाे भ्रम र झुटलाई चिर्न सक्नुपर्ने बताए । भ्रम र सत्यको भेद छुट्याउन लेखकहरूले नै सक्ने भएकाले भ्रमलाई चिर्दै सत्यको दिशामा अघि बढ्न उनले हौसला दिएका छन् । लेखक संघ मकवानपुरको संस्थागत विकासका तत्परता देखाँउदै बानियाँले लेखक संघलाई अक्षयकोष खडा गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली लेखक संघका निवर्तमान केन्द्रीय अध्यक्ष डा. नवराज लम्सालले लेखकहरूको जिम्मेवारीपूर्ण भूमिकाले समग्र राजनीतिलाई नै दिशानिर्देश गर्ने भएकाेले नेपालको लोकतान्त्रिक आन्दोलनमा लेखकहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘मुलुकलाई सही मार्गमा लैजानेतर्फ लेखकको लेखनी हुनुपर्छ लम्सालले भने– ‘बेला बखतमा यस्ता वैचारिक विमर्श आवश्यक रहन्छ । मुलुकको विकासमा लेखकको उत्तिकै योगदान हुनेछ ।’

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा उनले लेखकबाट प्रशंसाको मात्र अपेक्षा नगरी आलोचना पनि गर्ने जानकारी गराएका थिए । ‘विधानतः नेपाली लेखक संघ लोकतान्त्रिक समाजवादी संस्कृति निर्माणको दिशामा छ । यसमा हामी अडिग र प्रतिबद्ध छौं ’ अनित्यले भने ।
कार्यक्रममा लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुर सदस्य विनिता महत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

मकवानपुर । संघीय अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) आज आइतबार हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने बताइएकाे छ ।
नेकपा एकता विभाजनपछि हुने भएको वाइसीएल हेटौंडा नगरकोे प्रथम सम्मेलनलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लागेको केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । उनका अनुसार, शर्मासँगै वाइसीएल केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा), संयोजक सुमन देवकोटा (अब्दुल) पनि हेटौंडा आउने भएका छन् ।
सम्मेलनलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पार्टी मकवानपुर जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख पाख्रिनले बताए । आइतबार हुने सम्मेलनले वाइसीएल हेटौंडा उपमहानगर कमिटीको नयाँ नेतृत्वसहितको कमिटी निर्माण गर्ने जनाइएको छ ।