मकवानपुर । लेखक संघ मकवानपुरले नेपालकाे लाेकतान्त्रिक आन्दाेलन र लेखन विषयमा बैचारिक विमर्श गरेकाे छ । नेपाली लेखक संघको आयोजनामा शनिबार हेटौंडामा भएको वैचारिक विमर्श कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र प्रमुख वक्ता डा. नवराज लम्साल रहेका थिए ।
प्रमुख अतिथी बानियाँले नेपाली लेखक संघ मकवानपुरले लेखले समाजमा फैलिएकाे भ्रम र झुटलाई चिर्न सक्नुपर्ने बताए । भ्रम र सत्यको भेद छुट्याउन लेखकहरूले नै सक्ने भएकाले भ्रमलाई चिर्दै सत्यको दिशामा अघि बढ्न उनले हौसला दिएका छन् । लेखक संघ मकवानपुरको संस्थागत विकासका तत्परता देखाँउदै बानियाँले लेखक संघलाई अक्षयकोष खडा गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली लेखक संघका निवर्तमान केन्द्रीय अध्यक्ष डा. नवराज लम्सालले लेखकहरूको जिम्मेवारीपूर्ण भूमिकाले समग्र राजनीतिलाई नै दिशानिर्देश गर्ने भएकाेले नेपालको लोकतान्त्रिक आन्दोलनमा लेखकहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘मुलुकलाई सही मार्गमा लैजानेतर्फ लेखकको लेखनी हुनुपर्छ लम्सालले भने– ‘बेला बखतमा यस्ता वैचारिक विमर्श आवश्यक रहन्छ । मुलुकको विकासमा लेखकको उत्तिकै योगदान हुनेछ ।’

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा उनले लेखकबाट प्रशंसाको मात्र अपेक्षा नगरी आलोचना पनि गर्ने जानकारी गराएका थिए । ‘विधानतः नेपाली लेखक संघ लोकतान्त्रिक समाजवादी संस्कृति निर्माणको दिशामा छ । यसमा हामी अडिग र प्रतिबद्ध छौं ’ अनित्यले भने ।
कार्यक्रममा लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुर सदस्य विनिता महत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


