मकवानपुर । मकवानपुरकाे हेटौंडामा नेपाल संवत ११४२ मनाइएकाे छ । नेपाल संवत् ११४२ काे अवसरमा हेटैडाका् मुख्य बजार क्षेत्रमा नेवारी समुदायहरुले र्याली गरेरका छन् । हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् याे वर्ष ११४२ कार्तिक १९ गते देशभर विविध कार्यक्रम आयोजना गरी मनाईइकाे छ ।
नेपाल संवतकाे अवसरमा हेटौंडाको पीपलबोटमा र्याली निकालेर बजार क्षेत्रको परिक्रम गरिएको थियो । हेटौंडाका नेवार समुदायहरुले यो पर्वलाई भव्य रुपमा मनाएका छन् । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएकाे पाइन्छ ।
गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको गरेको र नेपालमा मौलिक संवतसमेत चलाएकोले उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो ।
यसैबीच, आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।
मकवानपुर । मकवानपुरको बकैयामा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । बकैया -३ हात्तीसुँडेमा देउसी भैलो खेलेर हेटौंडा फर्किदा बकैया-४ अजिङ्गरेमा बस दुर्घटना भएका हाे ।
कार्तिक १८ गते राती राष्ट्रिय लोकदोहरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु सवार बागमती प्रदेश ०३-००१ ख १३०९ नंबरको बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा २१ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
गम्भिर घाईते हुनेहरुमा हेटौंडा ५ सानोपोखरा बस्ने ४० वर्षीया निरु खड्का, हेटौंडा २ मनकामना चोक बस्ने ४९ वर्षीय बेल लो, राक्सिराङ् ३ बस्ने ४२ वर्षीय रविन कुमार चेपाङ्, हेटौंडा-११ नवलपुर बस्ने ३६ वषीया सम्झना बिष्ट र हेटौंडा-५ पिप्ले बस्ने ४८ वर्षीया लक्ष्मी तिमिल्सिना रहेको छन् ।
गम्भिर घाईते भएका ३ जना खड्का,लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । अन्य घाइतेहरुकाे उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल,संचो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औ जन्मजयन्तीको अवसरमा रेडियो थाहा सञ्चार हेटौंडा ९९.६ मेघाहर्जले कवि सम्मेलनको आयोजना गरेको छ ।
देवकोटा जयन्तीको अवसरमा हरेक वर्ष जस्तै रेडियो थाहा सञ्चारले यस वर्ष पनि कवि सम्मेलनको आयोजना गरेको हो । कवि सम्मेलनमा मकवानपुरको २६ जना साहित्यकारहरुले रचना वाचन गरेका थिए । रेडियोले देवकोटा जयन्तीको अवसरमा आयोजित कवि सम्मेलनमा रेडियोको संस्थापक स्टेशन म्यानेजर शिव तिवारीलाई सम्मान समेत गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले महाकवि देवकोटाको जन्मजयन्तीमा रेडियो थाहा सञ्चारले गर्दै आएको कवि सम्मेलनले निरन्तरताकाे शुभकामना दिएका थिए । कार्यक्रमको सभाध्यक्ष रेडियो थाहासञ्चारको सन्चालक अरुणराज सुमार्गीले मकवानपुरको साहित्यको विकासमा देवकोटा जयन्तीको अवसरमा रेडियोले उर्जा थप्नको लागि कवि सम्मेलन गर्दै आएको बताए ।
कार्यक्रमा हयग्रिव आचार्य , कवि तथा समालोचक निमेष निखिल , मातृभुमिको सम्पादक देवराज खरेल, समालोचक घनश्याम घिमिरे, साहित्य सङ्गम मकवानपुरको अध्यक्ष अनिता न्यौपाने , मातृभूमि साहित्य समाजको अध्यक्ष माधव पोख्रेल, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, लेखक संघ मकवानपुरको अध्यक्ष छवि अनित्य, प्रलेस मकवानपुरको अध्यक्ष शान्ति प्रियवन्दना कविहरु पुरुषोत्तम आचार्य, एस लामा र केशव समर्पण लगायत साहित्यकारहरुकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । तिहारको तेस्रो दिन आज कार्तिक १८ गते लक्ष्मीपूजा गरी मनाइदैछ । आज बिहान घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ । साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत सरसफाइ गरी दीपावली गरिन्छ । कार्तिक कृष्ण औँसीको रातलाई वर्षभरी मनाइने चार प्रमुख रात्रिमध्ये सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।
मैनबत्ती बाल्ने चलन बढ्दै गए पनि दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएकाे धर्मशास्त्रविद् बताउँछन् । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मी पूजाका अवसरमा सहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
कार्तिक कृष्ण चतुर्दशीमा नदी, तलाउ वा धारामा गइ स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएकाे छ । कुकुर तिहार र नरक चतुर्दशी तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन हिजो र नरक चतुर्दशी तेस्रो दिन आज परेको हाे ।
मकवानपुर । हेटौडामा नेपाली कांग्रेस साँस्कृतिक विभागको शुभकामना आदानप्रदान कार्यक्रम भएकाे छ । दीपावली, नेपाल संवत तथा छठपर्वको अवसर पारेर साँस्कृतिक विभागकाे आयोजनामा शुभकामना आदानप्रदान तथा बृहत चियापान कार्यक्रम गरिएकाे हाे ।
चर्चित सेलिब्रेटीहरुको उपस्थितीमा कात्तिक १७ गते बुधबार हेटौडामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, गायक सुगम पोखरेल, कृष्ण काफले,लोक गायिका राधिका हमाल लगायतका कलाकारकाे सहभागिता रहेकाे साँस्कृतिक विभाग मकवानपुरका प्रमुख शुसान्त कुमार श्रेष्ठले बताए । ।
शुभकामना आदानप्रदान तथा बृहत चियापान कार्यक्रममा कलाकारहरुले आआफनो प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकाे श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँ आनन्दराम पराजुली रामकृष्ण काेइराला लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालसहितको टिमलाई सम्मान गरिएको थियो ।