मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ । २७ साउनमा बाँनियाले प्रदेश सभाबाट विश्वासकाे मत लिन काँग्रेसले ३ बुँदे व्हिप जारी गरेकाे हाे ।
बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले २७ साउन दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।
दल नेता बानियाँले काँग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य काँग्रेस संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए । ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
जारी तीन बुँदामा ह्विपमा बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मत दिने रहेकाे लामिछानेले जानकारी दिए। २७ साउन दिउँसो १ बजे काँग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय समेत गरेकाे छ । बैठकले ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् ।
मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैंसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षको काठमाडौंमा छुट्टै बैठक बसी विश्वासको मतको विषयमा छलफल भएकाे बताइएको छ । मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ ।
कांग्रेस संसदीय दलको प्रवक्तामा लामिछाने
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछाने नियुक्त भएका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लामिछानेलाई प्रवक्तामा नियुक्त गरेको हो ।
लामिछाने प्रदेशका पूर्वमन्त्री हुनुहुन्छ । साउन ९ मा तत्कालीन संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई अविश्वास प्रस्ताव दर्ताको क्रममा लामिछानेसहित मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा सँगै उनीहरु लामा विरुद्धको अविश्वास प्रस्तावको पक्षमा खुलेका थिए । लामा विरुद्धको अविश्वास प्रस्ताव पारित उराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।
दलको मुख्य सचेतकमा बादे, महर्जनलाई सदस्य सचिवको जिम्मेवारी
काँग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले बादेलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम प्रदेशसभा सदस्य बादेलाई मुख्य सचेतकको जिम्मेवारी दिइएकाे हाे । संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा नियुक्त भएकाबादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री समेत हुन् ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । प्रदेश सरकारको पूर्वमन्त्री समेत रहनुभएका महर्जनलाई बानियाँले संसदीय दलको सदस्य–सचिवको जिम्मेवारी दिएका हुन् । महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित हुन् ।
मकवानपुर । बागमती प्रदेश सभा २७ साउनकाे लागि आव्हान गरिएकाे छ । प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरेकाे हाे ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन प्रदेश सभाकाे आव्हान गरिएकाे हाे । उक्त बैठकमा मुख्यमन्त्रीकाे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ । नेपालको संविधानको धारा १६७ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७५ को नियम ११२ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नेछन् ।
प्रदेश सरकारकाे बजेट पारित गर्दै गत २३ असारमा स्थगित बैठक मुख्यमन्त्रीकाे विश्वासको मतका लागि आह्वान गरिएको हो । साउन २० गते कांग्रेस–एमालेको गठबन्धनबाट नेपालको संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका बानियाँले बानियाँले आगामी भदौ १८ गतेसम्म प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मतकाे प्रक्रियाकाे लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका थिए । कांग्रेस बागमती प्रदेश सभापति समेत रहनुभएका बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ जना प्रदेशसभाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । बानियाँले प्रदेश सभामा विश्वासकाे मतका लागि ५६ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त गर्नु पर्नेछ ।
बानियाँले आफ्नै दलका नेता बहादुर सिंह लामाका विरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव पारित गर्दै दल नेता निर्वाचित भएका थिए । २२ साउनमा पद तथा गोपनीयताको सपथ लिएका उनले एक जना बिना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ जना मन्त्री नियुक्त गरेका थिए ।
बागमती प्रदेशमा १४ मन्त्रालय रहेका छन् । ८ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेकाे छ । विश्वासकाे मत लिएपछि मात्रै मुख्यमन्त्री बानियाँले सरकारलाई पूर्णता दिने बताइएकाे छ ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्।
रिक्त रहेकाे प्रमुख सचेतक पदमा श्रेष्ठलाई एमाले संसदीय दलको विधान २०७७ को दफा १३ अनुसार जिम्मेवारी दिइएको हो। संसदीय दलको कार्यालयमा नेता थपलियाले श्रेष्ठलाई प्रमुख सचेतककाे नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। यसअघि प्रमुख सचेतक रहेका मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो।
श्रेष्ठ मकवानपुरकाे निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। यसअघि उनी बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीसमेत भइसकेका छन्।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले गोकर्ण लामाकाे विशेष मुक्तक वाचन कार्यक्रम गरेको छ । मञ्चकाे २६ औं शृङ्खलामा लामाले बुधबार हेटौंडामा मुक्तक सुनाएका हुन् ।
मुक्तक मञ्च मकवानपुरका संस्थापक सचिव समेत रहेका लामाले केही प्रेमिल मुक्तक सहित बेरोजगारका पीडा, राजनीतिक व्यङ्ग्य, विदेशमा रहँदाकाे पीडावोध भावका मुक्तक सुनाएका थिए ।
रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका लामा विदामा एक महिना अघि नेपाल आएका हुन् । गोकर्णले विदेशमा रहँदा पनि लेखन कार्यलाई जारी राखेको बताउँदै कार्यक्रममा साहित्य लेखन, पत्रकारिताको अभ्यासको स्मरण समेत गरे ।
लामा नेपाल आउनु भएकाे मौकामा मुक्तक वाचन कार्यक्रम राखिएकाे मञ्च अध्यक्ष सागर तिमल्सिनाले बताए । गोकर्णले वाचन गरेका मुक्तकको साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले समीक्षात्मक टिप्पणी गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा अग्रज साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा अन्य मुक्तककारले प्रतिनिधि मुक्तक सुनाएका थिए ।