मकवानपुर । बागमती प्रदेश सभा २७ साउनकाे लागि आव्हान गरिएकाे छ । प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरेकाे हाे ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन प्रदेश सभाकाे आव्हान गरिएकाे हाे । उक्त बैठकमा मुख्यमन्त्रीकाे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ । नेपालको संविधानको धारा १६७ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७५ को नियम ११२ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नेछन् ।
प्रदेश सरकारकाे बजेट पारित गर्दै गत २३ असारमा स्थगित बैठक मुख्यमन्त्रीकाे विश्वासको मतका लागि आह्वान गरिएको हो । साउन २० गते कांग्रेस–एमालेको गठबन्धनबाट नेपालको संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका बानियाँले बानियाँले आगामी भदौ १८ गतेसम्म प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मतकाे प्रक्रियाकाे लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका थिए । कांग्रेस बागमती प्रदेश सभापति समेत रहनुभएका बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ जना प्रदेशसभाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । बानियाँले प्रदेश सभामा विश्वासकाे मतका लागि ५६ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त गर्नु पर्नेछ ।
बानियाँले आफ्नै दलका नेता बहादुर सिंह लामाका विरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव पारित गर्दै दल नेता निर्वाचित भएका थिए । २२ साउनमा पद तथा गोपनीयताको सपथ लिएका उनले एक जना बिना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ जना मन्त्री नियुक्त गरेका थिए ।
बागमती प्रदेशमा १४ मन्त्रालय रहेका छन् । ८ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेकाे छ । विश्वासकाे मत लिएपछि मात्रै मुख्यमन्त्री बानियाँले सरकारलाई पूर्णता दिने बताइएकाे छ ।

