मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा जारी जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल पुष १७ गते शनिवार हुने भएको छ । फाइनल खेलमा आयोजक आमभञ्ज्याङ्ग युवा क्लव ‘ए’ र सहिद सुनिता स्मृति युवा क्लव भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजकले आग्रा युवा क्लवलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । त्यस्तै शुक्रबार नै भएको सेमिफाइनल खेलमा सहिद सुनिता स्मृति युवा क्लवले छाहारी युवा क्लवलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । शनिबार हुने फाइनल खेल दिउसो १ बजेबाट सुरु हुने प्रतियोगिताका संयोजक ईन्द्र प्रसाद संजेलले जानकारी दिए ।
त्यस्तै तेस्रो स्थानका लागि छाहारी युवा क्लवले आग्रा युवा क्लवको सामना गर्ने छ । उक्त खेल बिहान ९ वजे हुने आयोजक आमभञ्ज्याङ युवा क्लबले जनाएको छ ।आमभञ्ज्याङ युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १२ टिम सहभागि रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि,प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।
मकवानपुर । जेसीआई हेटौंडाको नेतृत्व चयन सर्वसम्मत भएको छ । वर्ष २०२२ को अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पवन कुमार कंशाकारको उम्मेदवारी परेकोमा बर्तौलाले सहमतिका लागि आफूभन्दा अग्रज पवनकुमारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएसँगै १० वर्षपछि जेसीआई हेटौंडाको नेतृत्व सर्वसम्मत भएकाे हाे ।
निर्वाचन आयुक्त राजदेव बनियाँले विहीबार दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु घोषणा गरेका छन् । यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन ।
२ जना कार्यकारिणी उपाध्यक्षमा शिव कुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत भएका छन् । यसै गरी उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्य समेत सर्वसम्मत चयन भएका छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडास्थित राप्ती खोलामा अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । विहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिकास्थित राप्तिखाेलाबा उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना ६ त ३७८३, ना ४ त ५७०७, ना ६ त २९१७, ना ६ त १०५१, ना ७ त ५९७२ नम्बरको र एउटा अन्टेस्ट ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । उक्त ट्याकटरमा अवैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहिको लागि जिल्ला समन्वय समितिको कार्यालय पठाइएको जनाइएको छ।
मकवानपुर । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि हेटौंडामा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागमति प्रदेशमा हुने निर्वाचन कार्यक्रम संचालनका लागि हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयाेगले ७ वटै प्रदेशमा केही समय अघी निर्वाचन अधिकृत नियुक्त गरेकाे थियाे । बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत ताेकेकाे थियाे । विहीबार स्थापना भएकाे कार्यालयबाट बागमती प्रदेशमा १ जान महिला र अन्य १ गरी २ जनाको निर्वाचन कार्यक्रम संचालन हुने जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट १ जना महिला र १ जना अन्य गरी २ जनाको पद रिक्त हुँदैछ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसैगरी माघ १२ गते विहान ९ बजे देखि ३ बजे सम्म हुने मतदान कार्यक्रम भने हेटौंडा ८ मा रहेको हेटौंडा औधोगिक व्यवस्थापन लिमिटेडको सभागृहमा हुने छ ।
मतदानका लागि बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जनाले सहमागिता जनाउने छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशका निर्वाचन कार्यालयका प्रमुख लुमनाथ पोखरेल, जिल्ला अदालतको मुख्य न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल पत्रकार महासंघ मकवानुरका अध्यक्ष मणीराज गौतम लगायतको उपस्थिति रहेको थियो ।