मकवानपुर । मकवानपुरे गायिका चन्द्रादेवी लामा बलको ‘सम्झेर ल्याउँदा’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो सोमबार हेटौंडामा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो निषाद संगीत पाठशालाका प्रशिक्षक रमेश तिमल्सिनाले औपचारिक रुपमा सार्वजनिक गरेका हुन । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायिका लामाले गीतमा जीवनका भोगाईहरु समावेश गरिएको बताईन् । गीतमा गायिका चन्द्रादेवी लामाका बुवा एवम् मकवानपुरे समाजसेवी तथा लेखक देवेन्द्र लामाको शब्द र संगीत रहेको छ । भिडियोमा गायिका लामासहित नारायण प्रसाद गौतम र निवेदिका गौतमले अभिनय गरेका छन् ।
म्युजिक भिडियोलाई मकवानपुरे कलाकार तथा निर्देशक विक्रम लुङ्वाले निर्देशन तथा सम्पादन गरेका हुन् भने धन पाख्रिनले छायाँकन गरेका छन् । म्युजिक भिडियो युट्युबमार्फत पनि सार्वजनिक भएकाे गायिका लामाले बताईन् । गीतलाई सरगम स्टुडियोमा अर्पण थिङले मिक्सिङ तथा रेकर्डिङ गरेका हुन् । गीतमा आगा लामाले संगीत संयोजन गरेका छन् । शिक्षिका समेत रहेकी गायिका लामा सामाजिक सेवामा समेत सक्रिय छिन् ।
मकवानपुर । मोटरसाइकल चोरी गर्ने २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली मरिण गाउँपालिका वडा नम्वर ३ बस्ने २३ वर्षीय टोपबहादुर वाईवा र सोही ठाउँ बस्ने २० वर्षीय अरुण मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
बागमती गाउँपालिका वडा नम्वर २ राईगाउँ बस्ने छबिलाल बक्जनको बा.प्र.०३–००३ प ३१३० नं. को २२० सि.सि. को पल्सर मोरटसाइकल चोरी गर्ने उनीहरुलाई पक्राउ गरिएकाे हाे । वाईवा र माेक्तानलाई ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बागमती–४ बाट पक्राउ गरेको हो ।
बम्जनले आइतबार बिहान आफ्नो घर अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुन साथ खोजतलास गर्दा उनीहरुको साथबाट बरामद भएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सापकोटाले बताए । पक्राउ परेका दुबै जानलाई सोमबार मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । सत्ता साझेदार गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाएकाे छ ।
पाँच दलीय गठबन्धनकाे साेमबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभामा रिक्त हुने सिटहरुमा आगामी १२ माघमा हुने निर्वाचनकाे लागि भागबण्डामा उम्मेदवार उठाउने निर्णय गरेको हो । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको बैठककाे निर्णय अनुसार नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
राष्ट्रियसभामा नेकपा एमालेकाे ८, कांग्रेसकाे ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ । सत्ता गठबन्धनमा भागबण्डा मिलेसँगै एमालेले आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ । पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।
लक्ष्मी सुवाल
१.
कुनै पिडाले आज सम्म अत्याउन सकेन मलाई
केही पलको कुनै खुशीले मत्याउन सकेन मलाई
केबल दुई थोपा आँसु झर्यो त किन हार मान्नु
आज सम्म कुनै निराशाले लत्याउन सकेन मलाई
२.
आज फेरि पुरानो घाउ पोल्न थाल्यो र त रोएँ
थामिएनन आखामा आँसु बग्न थाल्यो र त रोएँ
भुल्दै थिएँ अतितका याद गाह्रो भयो सकिन फेरि
बलेको यो मनको दियो निभ्न थाल्यो र त रोएँ
३.
कान्छो छोरो थाल थाप्छ कन्छि छोरी बड्को
एउटा आउँछ आमा भन्दै रुंदै आउँछ अर्को
आउने बाटो कहिँ छैन रिनै रिनले पिरोल्दैछ
बिहान बेलुकी छाक तार्न गाह्रो भा छ घरको ।
४.
न्यायलाई नै अन्यायमा पार्छ यो समाजले
सहिलाई नै गलत भनी तार्छ यो समाजले
मन भन्दा नि आजभोली धनकै राज चल्छ
पीडितलाई नै जाल बुनि मार्छ यो समाजले ।
चाँगुनारायण भक्तपुर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ नकौलीमा रहेकाे कालिका आधारभूत बिधालयकाका बिद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । तामाङ समुदायको बालबालिका अध्ययन गर्ने उक्त बिधालयका १ सय ७० जना विद्यार्थीलाई न्यानाे कपडा स्वीटर वितरण गरिएको हो ।
सन अफ लाईफका सदस्य एवं स्वास्थकर्मी राजु गुरुङ्गको सहयोग तथा हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष सबिन न्यौपानेको समन्वयमा विद्यार्थीलाई स्वीटर प्रदान गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष सबिन न्यौपानेले जाडोको समयमा न्यानो कपडाको अभावमा बिद्यार्थीहरु समयमा बिधालय नआउने समस्या समाधान हुने बताए । न्यानो कपडा वितरण गर्दै सहयोगी राजु गुरुङ्गले सस्थाले जिल्लाका विभिन्न बिधालयमा सहयोग पुर्याउदै आएको बताए ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक सुकदेव काफ्लेले आर्थिक अवस्था नाजुक रहेका विद्यार्थीहरु जाडोकै कारण बिधालय अनुपस्थित भैरहेका अवस्थामा सहयोगीदाताबाट बिद्यार्थीहरुलाई न्यानो कपडा सहयोगले राहत महसुस भएको भन्दै सहयोगीदातालाई धन्यवाद व्यक्त गरे ।