मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेशका विभिन्न स्थानमा भइरहेकाे विकास निर्माण र विद्यालयहरुको अनुगमन गरेकी छन् । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा १ दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको मन्त्री मुक्तानले अनुगमन गरेकी हुन् ।
मन्त्रालय अन्तर्गत निर्माणाधिन तथा संचालित विद्यालय र बहुप्राविधिक शिक्षालयहरुको भवन, प्रयोगशालाहरु, निर्माणाधिन कभर्ड हल, १ विद्यालय एक उद्यम कार्यक्रम अन्तर्गत विद्यालयहरुमा संचालित हाँस पालन, धान खेती लगायतको मन्त्री मुक्तान सहितकाे टोलीले अनुगमन गरेको हाे ।
मन्त्री मोक्तानसहितको टोलीले भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यमिक विद्यालय, नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर २२ स्थित निर्माणाधिन कभर्ड हल, भरतपुर २३ स्थित भरतपुर बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको थियो । साथै, माडी नगरपालिकामा निर्माणाधिन कभर्ड हल, माडी ८ स्थित जनजीवन माध्यमिक विद्यालयमा प्रविधि सहयोग, तटबन्धन र वाल निर्माण, माडी ६ स्थित जनकल्याण माध्यमिक विद्यालयको हाँस पालन र धान खेती, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय र निर्माणाधिन भवन तथा माडी ५ स्थित दिवाकर मेमोरियल विद्यालयको निर्माणाधिन भवन र धान खेती अनुगमन गरिएको थियो ।

मन्त्री मोक्तानलाई विद्यालयहरुका प्रधानध्यापक तथा अध्यक्ष, बहुप्राविधिक शिक्षालयहरुका प्रमुख, निर्माण कम्पनीहरुका प्रतिनिधिले भएका विकास र प्रगति विवरण, बजेट, समस्या र थप सहयोगबारे अवगत गराएका थिए । मन्त्री मोक्तानसहितको टोलीलाई माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित विद्यालय, शिक्षालय, कम्पनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत समेत गरेका थिए ।
मन्त्री मोक्तानले विकास निर्माणमा ढिला सुस्ती अन्त्य गरी चाँडो र गुणस्तरीय विकास निर्माण गर्न सबैलाई आग्रह गर्दै कर्मचारीलाई सक्रिय रहन समेत निर्देशन दिएकी छन् । अनुगमन टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, आर्थिक मामिला मन्त्रालयका सचिव धनिराम शर्मा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बागमती प्रदेश कार्यालय हेटौंडाका निर्देशक टैलेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।
सम्प्रस पाैडेल
वन्दना त्यतै छ
फोटो त्यतै छ
अपलोड, डाउनलोड
वरदान त्यतै छ ।
छैन कुनै शङ्का र भय
गुगलेश्वर पिताकी जय ।
मैले गुगल बाबासँग मन्त्र मागेँ
बाबा एकाएक सर्च गर्न जागे
ल अब बालक ग्रुपमा शेयर गर्नू
आफ्नो प्रोसेस अरूकन भन्नु ।
यति भनिकन बाबा अलप भए
यस्ता मरमपूज्य बाबाकी जय ।
सत्ययुगमा पनि यस्तै हुँदो हो
विकासले चरम सीमा छुँदो हो
सेन्सरले अलप गराउँथे ती देउता
मरेका जीव पनि त ज्यूँदो भो ।
कथाकुथी गुथेरै नपत्याउने बनाइए
यिनै गुगल थिए ती जय गुगल जय ।
माता सरस्वती युट्युबमा सिकाउँछिन्
सब्सक्राइब र लाइक गर्नलाई बताउँछिन्
घण्टी बज्छ भिडियो अपलोड हुनासाथ
मिलियन भ्यूअर लिई संसारै तताउँछिन् ।
माताको वन्दना हरक्षण गरूँ
उनकै वृतान्त जताततै छरूँ ।
मनहरी गाउँपालिका, मकवानपुर
मकवानपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरले आइतबार स्टेशनरी तथा खेलकुद सामग्री सहयाेग गरेको छ । महासंघ स्थापना दिवसमा मनहरी –४ चिसापानीमा रहेको चेपाङ प्राविका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयाेग गरिएको हो ।
महासंघ स्थापना दिवस, श्रीपञ्चमी तथा राष्ट्रिय पुस्तक दिवसको अवसरमा चेपाङ प्राविका १ सय ५४ जना विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयाेग गरिएको अध्यक्ष विज्ञान रिमालले जानकारी दिए । रिमालका अनुसार विद्यालयका शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययनरत् विद्यार्थीलाई करिब १ लाख २५ हजार रुपैयाँ बराबरको शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएका हो ।
महासंघ केन्द्रीय सहकोषाध्यक्ष किरणवावु न्यौपाने तथा केन्द्रीय सदस्य वासु न्यौपानेले विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपाने तथा विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरको थिए । कार्यक्रममा महासंघ पूर्वअध्यक्ष प्रेमलाल श्रेष्ठ, उपाध्यक्ष पुष्कल न्यौपाने, सहसचिव अर्चना कार्की, सदस्य जमुनाकुमारी रुपाखेती, प्रल्हाद हुमागाईं, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति पुस्तकालय परिसरमा सरस्वती पूजा र पुस्तक दिवस मनाइएकाे छ । पुष्पलाल स्मृति पुस्तकालय आयोजनामा आइतबार सरस्वती पूजा (वसन्त पञ्चमी) तथा ९ औं पुस्तक दिवस मनाइएको हाे ।
साहित्य सङ्गम मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालयको साझेदारीमा सञ्चालित पुस्तकालयले सरस्वती पूजा तथा पुस्तक दिवसको अवसरमा ‘ पठन संस्कृतिको विकास गरौं’ विषयमा विमर्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो । पुस्तकालयमा सरस्वतीको पुजा गरेर प्रसाद वितरण गरिएको थियो ।
कार्यक्रममासर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, समिक्षक घनश्याम घिमिरे, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार रमेशमोहन अधिकारी, सुदर्शन अधिकारी, ह्यग्रिव आचार्य, श्यामकुमार बानियाँ, शान्तिप्रिय वन्दना, नवसर्जक चौतारीकी केन्द्रीय उपाध्यक्ष उषाकिरण अधिकारी, देवराज खरेल,साहित्यसेवी मुक्ती गोविन्द वैद्य, पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृति बारेमा आआफ्नो विचार राखेका थिए ।
कार्यक्रममा अनिल कोइराला, इलिसा पराजुली, प्रतिक्षा गुरुङ, रियाज कार्की, स्वस्तिका दाहाल, स्व्स्तिका बानियाँ, उज्वल बराल,समर्पण न्यौपानेलगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण पुस्तकालय प्रमुख डिबी बर्तौलाले गरेका थिए ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

मकवानपुर । आइतबार हेटाैडामा भएकाे सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा १० निवासी बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को मृत्यु भएको छ ।
आइतबार दिउँसो पूर्वपश्चिम सडकखण्ड अन्तरगत उक्त स्थानमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्वर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
दुर्घटनामा परी श्रेष्ठ घाइते भएका श्रेष्ठलाई उपचारको लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याइएको केहीबेरमा नै चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक दासले बताए ।
हेटाैडामा विगत लामाे समयदेखि चिया पसल चलाउँदै आएका श्रेष्ठ जेठा दाइको नामले पचिचित छन् ।