मकवानपुर । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२, सार्वजनिक गरिएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिकीकरण तथा सन् २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । उच्च अदालत पाटन हेटौँडा इजालसका न्यायाधीश माननीय मेरिना श्रेष्ठले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को सार्वजनिकण गरेकी हुन् । सार्वजनिक पुस्तकमा सन् २०२१ मा बागमती प्रदेशमा १ हजार १ सय ८३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश माननीय मेरिना श्रेष्ठले मानव अधिकारको अभिलेखिकरणमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताईन् । ‘मानव अधिकारको सम्बर्धन र संरक्षणमा राज्यको दायित्व भएकोले त्यसबाट राज्य अलग रहन सक्दैन’ श्रेष्ठले भनिन्– ‘ वर्ष पुस्तकको ३० औँ संस्करणमा आइपुग्दा इन्सेकले तथ्याङ्कको अभिलेखिकरणसँगै सङ्घीय संरचनाका ३ तहको सरकारले गरेको कामको समीक्षा पनि पुस्तकमा समेटिएको छ।’
न्यायाधीश श्रेष्ठले इन्सेकलले अभिलेख गरेको घटनाका पछाडि हुने कारणको खोजीबाट समस्यको पहिचान गर्न सकिने र त्यसको न्युनीकरणका लागि समेत तीनै तहका सरकारलाई सहयोग पुग्ने बताईन् । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले राज्यलाई जवाफदेही बनाउन र नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नकालागि सरकारले मानव अधिकारको क्षेत्रमा प्रत्येक वर्ष गरेको कामको मूल्याङ्कन गर्न नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक हुने गरेको बताए । वर्ष २०२१ मा कोभिड महामारीका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सबै घटनाहरू कानुनी प्रक्रियासम्म नआइपुगेको देखिएको गाैतमले जानकारी दिए। गाैतमले भने ‘कोभिडका कारण घटनाहरूको अनुगमन तथा प्रलेख गर्ने कार्यमा समेत बाधा पुगेकोले घटनाहरूको सङ्ख्यामा कमी देखिएको हाे।’
इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०२१ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजा १ सय ८३ जना पीडित भएको बताए । इन्सेक जिल्ला प्रतिनिधिहरूमार्फत सङ्कलित अभिलेख अनुसार वर्ष २०२१ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला, ४८ जना पुरुष गरी ८ सय ९० जना पीडित भएका छन् । यो सङ्ख्या गत वर्षभन्दा ८१ जनाले बढी हो ।

राज्य पक्षबाट हिरासतमा १ जनाको मृत्यु भएको, गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी जम्मा २ सय १५ जना पीडित भएको इन्सेकमा अभिलेख रहेको भण्डारीले बताए । यस्तै वर्ष २०२१ मा महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा प्रदेशमा ३ सय ८९ जना पीडित भएको इन्सेक वर्ष पुस्तकमा अभिलेख गरिएको छ । यस वर्ष बेचबिखनका प्रयासका घटनामा ७ जना, घरेलु हिंसाका घटनामा ३२ जना, कथित बोक्सीको आरोपमा ५ जना, बलात्कारका घटनामा १ सय ८७ जना, बलात्कार प्रयासका घटनामा ३२ जना, यौन दुर्व्यवहारको घटनामा २६ जना र बेचबिखनका घटनामा ७ जना महिला पीडित भएको अभिलेखमा छ ।
यसैगरी बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २४ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा ३ सय ३, यौन दुर्व्यवहारको घटनामा ३ जना बालक सहित १ सय ७ जना, बालबिवाहका ५ र विद्यालयमा शारीरिक सजाय दिइएका १ घटनामा बालबालिका पीडित भएको इन्सेकको वर्ष पुस्तकमा राखिएको उल्लेख गरिएकाे छ । अघिल्लो वर्ष सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए ।
कार्यक्रममा बागमती प्रदेशबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन र पीडितको न्यायका लागि बागमती प्रदेशबाट उत्कृष्ट प्रतिनिधिमा छनौट भएका सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई नगद ७ हजार रुपैयाँ सहित सम्पान पत्र र इन्सेकको लोगोसहितको प्रतिक चिह्नद्वारा सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सन् १९९२ देखि इन्सेकले हरेक वर्ष प्रजातन्त्र दिवसको दिन नेपाल मानव अधिकार वर्ष पुस्तकको इन्सेक केन्द्रीय कार्यालयले कार्यक्रममार्फत बिमोचन गर्दै आएको छ । प्रदेश स्थापना भएसँगै सातै प्रदेशमा समेत सार्वजनिक गर्दै आएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ । प्रदेश सरकारले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेसँगै आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले भने सहभागी भएन । कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसद्हरुको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता, सांसद् कोही पनि आएका थिएनन् । आयोजकले पनि विपक्षी दललाई सम्बोधन गरेन ।
त्यस्तै कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि देखिएनन् । प्रदेश प्रमुख शर्माले भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्यमन्त्री निमा लामा मात्रै देखिए ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीति जटिल अवस्थामा पुगेको बताए । पाण्डेले विदेशी अनुदान सहायता एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति जटिल बन्दै गएको बताएका हुन् ।
‘नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा जनहितको काम गर्नुपर्ने समयमा विदेशी अनुदान सहायताको विषयले राष्ट्रिय राजनीतिलाई नै जटिल मोडतर्फ धकेलेको छ ।’ मुख्यमन्त्री पाण्डेले भने– ‘ विदेशी अनुदानले नेपाली राजनीतिलाई विवाद पुर्याएकाे अहिलकाे अवस्थामा समस्याको समाधान मिलेर गर्नुपर्ने पर्छ ।’
पाण्डेले बागमती प्रदेशलाई समृद्ध तुल्याउन सरकारले न्यूनतम साझा कार्यक्रम बनाई दत्तचित्तले लागिरहेको उल्लेख गरे । उनले अब बागमतीलाई डिजिटल एवम् उज्यालो प्रदेश बनाउने बताए ।
मकवानपुर । बागमती प्रदेशमा हेटौंडाबाट बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप अभियानको सुरु भएपछि पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाइएकाे छ । कोरोना रोकथाममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा १२ वर्ष देखी १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप ४८ प्रतिशतलाई लगाइएको प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले बताए ।
हेटौंडामा रेडियो थाहा सञ्चारको १४ औं वार्षिकोत्सवको छैटाै दिन आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री लामाले प्रदेशभरमा ९६ प्रतिशतले पहिलो मात्राको खोप र ९५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको बताए । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको, समूदायमा नै पुगी अभियान सञ्चालन गरिएकाले पनि खोप लगाउनेको संख्या वृद्धि भइरहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना कहरका बीच हामीले खोप अभियान, राहत वितरण, खाद्यान्न वितरण, व्यवस्थापन तर्फ ध्यान, लकडाउन, अक्सिजन व्यवस्थापन, सुरक्षा निकाय परिचालन, माक्स अभियान जस्ता विभिन्न कार्यक्रमहरु गरि कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेकाे बताए ।
विन्दवासिनी मिडिया प्रा।लिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संरक्षक अजयराज सुमार्गी, स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाई, हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, नारायणी संघका प्रवन्धक सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतले कोरोना रोकथामका विषयमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, रेडियोका प्रवन्धक अरुणराज सुमार्गी, सहकारी अस्पतालका अध्यक्ष बिष्णुगोपाल महर्जन, उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्री, पुरानो गोरख गणका सेनानी दिपेन्द्र प्रसाद सिंह, सार्वजानिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, होटल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतको आतिथ्यता रहेको थियो ।
रेडियाेकाे बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको साताैं दिन फागुन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह र साहित्य सम्मेलन हुने रेडियोका स्टेसन म्यानेजर मणीराज गौतमले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन फागुन १ गते आईतबार पर्यावरण प्रवर्द्धनकाे लागि रेडियोले साइकल र्याली गरेको थियो । दोस्रो दिन फागुन २ गते सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
यस्तै तेस्रो दिन फागुन ३ गते मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम र चौथो दिन ४ गते बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक सरोकारवाला बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पाचाैं दिन ५ गते विहीबार सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ? विषयक माविस्तरीय वक्तृत्वकला गरिएकाे गाैतमले बताए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका ७० परिवारलाई न्यानाे कपडा वितरण गरिएकाे छ । कांग्रेस मनहरी–२ ले कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ (ख) का सभापति रन्जन कालाखेतीको समन्वय र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको आर्थिक सहयोगमा बिहिबार मनहरी वडा नम्वर २ का ७० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
कांग्रेसले मनहरी–२ को भिमान, ट्याङ्किदमार, सर्सिधाप, गोगनघारीकाे विपन्न परिवारलाई कपडा विरतण गरेको हो । कांग्रेस मनहरी–२ का सभापति प्रेम गोङ्बाको सभाध्यक्षमा भएको कार्यक्रममा क्षेत्रिय सभापति कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय कोषाध्यक्ष रघुनाथ खतिवडाको विशेष आतिथ्यता रहेको थियो भने कांग्रेस मनहरी गाउँपालिकाका सह–सचिव चट्टान स्याङ्तान, कांग्रेस मनहरी–२ का उपसभापति शान्ति थिङ, करण डिम्डुङ, क्षेत्रिय प्रतिनिधि चन्द्रबहादुर मोक्तानलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद नियमावली संशोधन गरेकाे छ । नियमावली संशोधन गरेसँगै जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा पदमुक्त भएका छन् ।
खेलकुद नियमावली संशोधन गरेर प्रदेश सरकारले समिति अध्यक्षको पधावधी २ वर्षमात्रै कायम गरेसँगै लामा पदमुक्त भएका हुन् । अघिल्लाे सरकारले खेलकुद नियमावली बनाउँदा समिति अध्यक्ष र सदस्यकाे पदावधी उल्लेख गरेकाे थिएन् । ‘अघिल्लो सरकारले पदावधी नै कायम नगरी नियुक्त दिएकाले त्यसलाई व्यवस्थित गर्न नियमावली संसोधन गरेर २ बर्षको पधावधी कायम गरिएको हो ।’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले भने ।
लामालाई तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार कायम रहँदा २०७६ माघ २२ गते समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । प्रदेश सरकारको खेलकुद नियमावली संशोधनकाे निर्णयअनुसार लामासँगै नियुक्त भएका प्रदेशका अन्य जिल्लाका खेलकुद विकास समिति अध्यक्ष पनि पदमुक्त भएका छन् ।