मकवानपुर । नवोदय म्याथ क्लवले अन्तरराष्ट्रिय पाइ डे (मार्च १४) का दिन ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदन अंग्रेजी माद्यमिक विद्यालयकाे म्याथ क्लवले ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ
म्याथ काउन्सिल मकवानपुरका सह–सचिव इन्द्रबहादुर कार्कीले गणित विषय घर, समाज र विद्यालयमा बढी उपयोग हुने भएकाले अरु विषयको तुलनामा महत्वपूर्ण रहेको बताए । ‘गणित विषय प्रयोगात्मक भएको बताउँदै उनले पढ्नमा कठिन भए पनि अभ्यासलाई निरन्तरता दिँदा यो विषय सहज रहेको बताए । गणित विषयप्रति विद्यार्थीको झुकाव बढी रहेकोमा उनले खुशी व्यक्त गरे ।
त्यसैगरी नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले म्याथ क्याम्पफाइर कार्यक्रमले गणित विषय पढ्नमा सहयोग मिलेको बताए । उनले नवोदय म्याथ क्याम्पफायर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे । व्यक्तिगत जीवनमा गणित विषयले कसरी असर पु¥याइरहेको छ भन्ने विषयलाई लिएर क्याम्पफायरमा विद्यार्थीहरुले जानकारी गराउने छन् ।
विद्यालयको प्राङ्गणमा स्टल निर्माण गरी विद्यार्थीहरुले टुकी बत्ती, टपरी, रङ्गोली, पानीघट्ट, राष्ट्रिय झण्डा, नाङ्लो, मुडा, मानापाथी, मादल, कोदालो, खुकुरी, हवनकुण्ड, घर, करुवा, गुन्द्री, ग्रामोफोन निर्माण गर्दा गणित विषयको प्रयोगको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्धत मिल्ने विद्यार्थी लिजा विष्टले बताइन् । म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने उनले बताइन् । गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम यस अघि भर्चुअल माध्यमबाट भएको थियो ।
नवोदय विद्यालयकाे म्याथ क्लवले अन्तरराष्ट्रिय पाइ डे मार्च १४ र असार १४ गते म्याथ क्याम्प फाइर कार्यक्रम गर्दै आइरहेको छ ।
रेणुका चाैलागाईं
१.
ढुङ्गा बोल्नुपर्छ अब माटो बोल्नुपर्छ
सहिदहरूको रगतको टाटो बोल्नुपर्छ
धेरै बोले सुकिला र बाठाहरू देशमा
यो देशको लागि अब लाटो बोल्नुपर्छ ।
२.
बाँझै छ गाउँमा खेतबारी शहर पसियो
छोडेर गाउँघर शुन्य पारी शहर पसियो
पाइदैन खान साँझ झोला भरेर नफर्के,
गमलामा फलाउन तरकारी शहर पसियो ।
काभ्रे हाल काठमाडाैं
चाैलागाईंकाे भरखरै विमाेचन भएकाे मुक्तक संग्रह ‘जीवनजस्ताे जीवन’बाट
मकवानपुर । नेपाली कांग्रेसले मकवानपुर सहित देशभर आगामी स्थानीय निर्वाचन लक्षित ‘घरघर जाऔं कांग्रेस जिताऔं’क़ अभियान आइतबारबाट सुरु गरेकाे छ । बागमती प्रदेशको राजधानी हेटाैडामा कांग्रेसले स्थानीय निर्वाचन जागरण घोषणा सभा आयोजना गर्दै अभियान सुरु गरिएको हाे । कांग्रेस केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले देशभर एकसाथ भर्चुअल मार्फत अभियानको सुरुवात गरेका हुन् ।
याेसँगै काँग्रेस मकवानपुरकाे समेत ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ शुरु भएकाे छ । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता तथा कांग्रेस पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आथित्यता, नेपाली काँग्रेस बागमती प्रदेशका सभापति तथा वागमती प्रदेशको संसदीय दलका नेता ईन्द बहादुर बानियाँको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको प्रमुख अतितथ पूर्व केन्द्रीय सदस्य घिमिरेले ‘नेपाली काँग्रेसका कार्यकर्ताहरु सवै स्थानीय तहका सबै वडामा पुगी कांग्रेसले गरेका कामको जानकारी लिन आग्रह गरे । ‘हरेक जनताको ढोका ढक्ढकाउनु पर्छ,सबैै कार्यकर्ताहरु चुनावको तयारीमा लाग्नु्स् ।’ घिमिरेले भने ‘जनताको माँझमा गई पार्टीको विषयमा र एमसीसीको विषयमा प्रष्ट पार्नुहाेस ।’ नेपाली काँग्रेसको जग बलियो बनाउँन अभियानले साथ दिने उनले बताए । ‘अभियान सफल बनाउन सकियो भने कांग्रेस विजयी हुने छ’ घिमिरेले भने ।
कार्यक्रममा कांग्रेस मकवानपुर पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पूर्व उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्लाका पदाधिकारी, संघीय तथा प्रदेश क्षेत्रका सभापति लगायत नेतृत्वहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले मनहरी मलेखु सडकको स्तरोन्नती गर्न १ अर्ब लगानी गर्ने भएकाे छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त सडक स्तरोन्नतीको लागि करिब १ अर्ब लगानी गर्ने योजना बनाएको भाैतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजाले बताए । ‘करिब १ अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको छ’ राज्यमन्त्री प्रजाले भने – ‘आगामी वर्ष प्रदेश सरकार र सघीय सरकारले गरेर यो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ ।’
राज्यमन्त्री प्रजाले शनिबार मनहरी–मलेखु सडक खण्डको स्थलगत अवलोकन पछी यस वर्ष लोजा–जिनाई खण्डकाे काम गर्नको लागि आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं बताए । मकवानपुरको मनहरी / राक्सिराङ गाउँपालिका हुँदै धादिङको बेनिघाट रोराङ मलेखु जाेड्ने उक्त सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान गरेका हुन् । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केहीदिनअघि मात्रै पूरा भएको हो ।
करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो । २ गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दीगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको हाे । २ गाउँपालिकाको अगुवाई तथा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुको प्राथमिकतामा उक्त सडकको ट्रयाक पूरा भएपछि हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।
मकवानपुर । हेटौंडाका १० जना साइकलयात्री केरुङदेखि ठोरीसम्मकाे साइकल यात्रामा निस्किएका छन् । उनीहरु उत्तरतर्फ चीनसँगको सीमा केरुङदेखि दक्षिण्तर्फ भारतको सीमानाका ठोरीसम्मको साइकल यात्रामा निस्केका छन् ।
हिमालयन राईडर्स सोसाईटीको संयोजकत्वमा आज फागुन २९ गते आइतबारदेखि रसुवाको केरुङ नाकाबाट साइकल यात्रा सुरु गर्न लागिएको हो । सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएको छ । टोलीमा सोसाइटीका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य समेत सहभागी रहेका छन् ।
विश्वव्यापी तापमानको वृद्धि, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिँदो व्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीव्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि कुरामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा सुरु गर्न लागिएको टोलीका सदस्य भानुभक्त आचार्यले बताए ।
टाेलीमा सोसाइटीका महासचिव एवम् ईन्जिनियर सागर पन्थी, सचिव राजु राना मगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठ, शैलेश दुतराजलगायत सहभागी रहेका छन् । टोलीमा बारा राइडर्स संघ सिमराका ३ जना साइकल यात्री पनि सहभागी रहेका संयोजक आचार्यले जानकारी दिए । बारा राइडर्स संघका कोषाध्यक्ष रामेश्वर बाँस्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी रहेका छन् ।
फागुन २९ गते आइतबार रसुवाको केरुङ नाकाबाट सुरु हुने साइकल यात्रा नुवाकोटको त्रिशुली, धादिङ, चितवनको नारायणगढबाट माडी हुँदै ठोरीसम्म गरिने भएको छ । टोली पर्साको ठोरीबाट बीरगन्ज हुँदै हेटौंडा फर्कने बताइएको छ । करिब ४ सय किलोमिटरको यात्रा ५ दिनमा पूरा गरिने आचार्यले जानकारी दिएका छन् ।
साइकल यात्राकाे समन्वयका लागि मकवानपुर उद्योग वाणिज्य संघले ५ वटै जिल्ला उद्योग वाणिज्य संघलाई पत्राचार गरेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए ।