मकवानपुर । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले १९ र २० असोज बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिने निर्णय गरेकाे हाे ।
सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएकाे तथा विपद्काे अवस्था सृजना भएकाेले बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएकाे छ । लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरकाे हेटौंडा उवमहानगरपालिका वडा नम्बर १५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ काे सिमानासुथित चुरियामाई मन्दिरको उकालोमा भएको सवारी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।
बुधबार बिहान भएकाे दुर्घटनामा घाइते ६ मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जनकपुरबाट काठमाडौं जान आउँदै गरेको ना ७ ख ८५३७ नम्बरको बस चुरियामाई मन्दिर नजिक उकालोमा ब्रेक फेल भई पछाडि गुड्दा ना १२ प ३३६० र म.प्र. ०३–०२४ प ४४९५ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिदाँ ६ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी रहेकाे बारा प्रहरीले जनाएकाे छ । गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएकाे छ ।
पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी जनाएकाे छ । त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मकवानपुर । नेपालीहरुकाे महान पर्व दशैंकाे आज फूलपाती । यसै दिन ३ वटा नेपाली चलचित्रहरु प्रदर्शनमा आएकाे छ । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएकाे हाे । ३ वटा चलचित्र एक साथ प्रदर्शनमा ल्याएर पर्वलाई थप उल्लास बनाउन खाेजिएकाे बताइएकाे छ ।
चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने बताइएकाे छ । पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् भने निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् । चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
आजै प्रदर्शित अर्काे चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् ।
यसैगरी निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
३ वटै चलचित्रले दर्शकको राम्राे साथ पाएको छन्। बिहान ५:४५ देखि प्रदर्शन सुरुवात गरेको चलचित्रका अधिकांश शो हाउसफुल रहेकाे बताइएकाे छ। यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले गत बुधवारदेखि नै अग्रिम टिकट बुकिङ खुलाएका थिए। टिकट बुकिङकाे आधारमा बलिदानले बढी सो प्राप्त गरेकाे देखिन्छ । यस पछि हरिबहादुरकाे जुत्ता र माइतिघरले सो प्राप्त गरेका छन् ।
पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । आजबाट प्रदर्शनमा आएका चलचित्र मध्ये दर्शकहरूलाई कुन रुचिकर लाग्छ? त्यसको नजिता भने बाँकी नै छ। गत वर्षपनि दसैंमा ३ वटा चलचित्र प्रदर्शन आएका थिए । सो वर्ष ती चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैंमा पनि चलचित्रकर्मीले आशावादी छन् ।
मकवानपुर । बडादशैं २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ ।
घटस्थापनाको दिनदेखि शुरू हुने बडादशै कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ,यद्यपि आज फूलपातीसंगै बडा दशैको विशेष चहलपहल आरम्भ हुदैछ । विभिन्न शक्तिपीठहरूमा विविध धार्मिक चलनअनुसार पूजा अर्चना र धार्मिक कृयाकलापहरू सम्पन्न गरिन्छ ।
फूलपातीको दिनदेखि महाअष्टमी, महानवमी हुँदै विजयादशमीसम्मको यात्राले नेपाली समाजलाई आस्था, संस्कार र एकताको अनन्त धरोहरमा बाँध्ने कार्य गरेको प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गर्नुभएको छ।
“दशैं केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको उदयको अनन्त प्रेरणा हो” उहाँले सन्देशमा भन्नुभएको छ ।
बडादशै शक्तिको जागरण र आत्मबलको प्रतीक भएको देवकोटाले बताउनु भएको छ । “यसले दृढ निश्चय, धैर्य र न्यायको रक्षा गर्ने अटल भाव जगाउँछ” सन्देशमा भनिएको छ “यो पर्वले सत्य, धर्म र न्यायको विजयी क्षणलाई उजागर गर्दै समाजमा शान्ति र सहअस्तित्वको ज्योति फैलाउँछ।”
देश हाल रुपान्तरणको संवेदनशील चरणमा रहेको उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गर्नु भएको “हालैको आन्दोलन, जनधनको अपूरणीय क्षती र विकसित घटनाक्रमले आम नागरीकमा उल्लास देखिएको छैन, दशैको मुखमा यात्रुहरूले ठुलो सास्ती बेहोर्नुपरेको छ । पीडाबाट गुज्रेको बेला आम समुदायमा उल्लास र रौनकता देखिएको छैन ।”
यद्यपि पर्वले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा उहाँ व्यक्त गर्नुभएको छ । चुनौतीहरूको यो परिवेशलाई अवसरमा बदल्नका लागि दशैंले दिने संयम, साहस र सहकार्यको प्रेरणाले सबैलाई उर्जा प्रदान गर्नेछ भन्ने विश्वास उहाँले लिनुभएको छ ।
“यस महान् पर्वले नागरिकबीच आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वलाई अझ सुदृढ बनाओस्,, हरेक घर–घरमा सुख, शान्ति र समृद्धिको आशीर्वाद पुग्दै हाम्रो समाजलाई सभ्य, प्रगति र समृद्धिको दिशातर्फ अघि बढाउन सघाओस् भन्ने मेरो हार्दिक शुभेच्छा रहेको छ” सन्देशमा भनिएको छ ।
उहाँले पर्वमा तडकभडक र फजूल खर्च नगरी आ -आफ्नो गच्छे अनुसार पर्व मनाउन समेत प्रेरित गर्नुभएको छ ।
