मकवानपुर । नेपालीहरुकाे महान पर्व दशैंकाे आज फूलपाती । यसै दिन ३ वटा नेपाली चलचित्रहरु प्रदर्शनमा आएकाे छ । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएकाे हाे । ३ वटा चलचित्र एक साथ प्रदर्शनमा ल्याएर पर्वलाई थप उल्लास बनाउन खाेजिएकाे बताइएकाे छ ।
चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने बताइएकाे छ । पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् भने निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् । चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
आजै प्रदर्शित अर्काे चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् ।
यसैगरी निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
३ वटै चलचित्रले दर्शकको राम्राे साथ पाएको छन्। बिहान ५:४५ देखि प्रदर्शन सुरुवात गरेको चलचित्रका अधिकांश शो हाउसफुल रहेकाे बताइएकाे छ। यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले गत बुधवारदेखि नै अग्रिम टिकट बुकिङ खुलाएका थिए। टिकट बुकिङकाे आधारमा बलिदानले बढी सो प्राप्त गरेकाे देखिन्छ । यस पछि हरिबहादुरकाे जुत्ता र माइतिघरले सो प्राप्त गरेका छन् ।
पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । आजबाट प्रदर्शनमा आएका चलचित्र मध्ये दर्शकहरूलाई कुन रुचिकर लाग्छ? त्यसको नजिता भने बाँकी नै छ। गत वर्षपनि दसैंमा ३ वटा चलचित्र प्रदर्शन आएका थिए । सो वर्ष ती चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैंमा पनि चलचित्रकर्मीले आशावादी छन् ।

