मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन । निर्वाचित सबै नेकपा एमालेका हुन । आइतबार सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरि नगर कार्यपालिकालाई पुर्णता दिने कानुनी ब्यबस्था छ । हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट नेकपा एमालेको ५१ जना र गठबन्धन दल बाट ४६ जना सदस्य निर्वाचित भएका थिए ।
हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्य एमालेबाट निर्वाचित ५ जनामा इश्वरी विश्वकर्मा(१) पातलीमाया गोङवा(१५), मञ्जु भुर्तेल(८), रुकमणी गोङवा (१२)र साधना श्रेष्ठ (१०) रहेका छन् । निर्वाचित ५ जनाले ५०/५० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी नगर कार्यपालिकाको लागि दलित वा अल्पसङ्ख्यकतर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अर्जुनबहादुर राई, बीरबहादुर विश्वकर्मा र शंकर राई रहेका छन् । निर्वाचित सबैले क्रमश ५०/५० मत प्राप्त गरेका हुन् ।
मकवानपुर । पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यन्त्री राजेन्द्र पाण्डेले शुभकामना व्यक्त गरेका छन् । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै शर्मा र पाण्डेले यसतर्फ लागि पर्न सबैलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको उल्लेख गरेका छन् । नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको दिनको स्मरणमा जारी गरिएको शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात अमर शहीदहरूप्रति श्रद्दासुमन अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दै शर्माद्वारा जारी सन्देशमा भनिएको छ “ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को जगमा शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको प्रतिनिधि जनता आफैंले छनौट गर्न पाउने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको पन्ध्रौ वर्षमा प्रवेश गरिरहँदा संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित गरिसकिएको छ । ’
यस्तै, सन्देशमा सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको पनि उल्लेख छ । उनले भनेका छन् “यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो । लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको छ ।”
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शहिदहरुको सपना साकार गर्न सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक रहेको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै उनले लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि पटक–पटक भएका आन्दोलन तथा विभिन्न आरोह–अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज चौध वर्ष पूरा भएको बताएका छन् ।
गणतन्त्र स्थापना पश्चात भर्खरै सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भई सकेको अवस्थामा सम्पन्न स्थानीय तहको निर्वाचनले संघीय गणतन्त्रको आधारभूत तहलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्याएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
राज्य सञ्चालनका सन्दर्भमा आम नेपालीको अपेक्षा तथा वीर अमर शहिदका सपना साकार पार्नु तीनै तहको सरकार सहित हामी सबैको सामुहिक दायित्व र कर्तव्यको रुपमा ग्रहण गर्न आवश्यक रहेको उनले सन्देशमा उल्लेख गरेका छ । लामो संघर्ष पश्चात संविधान सभाबाट जारी भएको संघिय¸ लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा¸ समावेशी लोकतन्त्रको रक्षाका लागि अझै पनि संगठित हुदैँ संविधान विरोधी¸ लोकतन्त्र विरोधी तत्वहरुलाई टाउको उठाउन नसक्ने बनाउन अरु बढि चनाखो हुन जरुरी रहेको पाण्डेले बताए । संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि अझै निरन्तर लागि रहन आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
सरस्वती पौडेल
किन हो अचेल मलाई मन,मन जस्तो लाग्दैन ।
बाच्न त बाचिरहेछ जीवन,जीवन जस्तो लाग्दैन ।
हिजो पेट भोको हुँदा मुखकै गाँस खोस्ने हरुले,
आज गरेको सम्बोधन , सम्बोधन जस्तो लाग्दैन ।
पिठ्युँ पछाडी सधैं खुट्टा तानिरहने उनीहरु नै हुन्,
अगाडी गरेको यो समर्थन ,समर्थन जस्तो लाग्दैन ।
स्वर्ग जस्तो घर त बाबा आमा हुँदा मात्रै हुने रहेछ,
रित्तो भएपछिको घर आगन,आगन जस्तो लाग्दैन ।
यो मन ,जलाइ रहदा यो समयले हर क्षण यसै गरि,
त्यो समाधी माथी को ज्वलन,ज्वलन जस्तो लाग्दैन ।
लुकाई रहन्छन पर्दा भित्र रहस्यमय दृश्यहरु सधैं
पर्दा बाहिर को झुटो मञ्चन,मञ्चन जस्तो लाग्दैन।
भरतपुर चितवन
मकवानपुर । बागमती प्रदेशसभामा १६ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाे छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाको आज शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ आर्थिक मामिला मन्त्री शालिकराज जम्मकट्टेलले दिएका थिए । त्यस पछी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १६ गते दिउँसो २ बजे बस्ने तथा उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी सदनलाई गराएकाे थिए ।
शनिबारको बैठकमा सांसदहरुले सरकारले ल्याएको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जम्मकट्टेलले सदनमा छलफलमा उठाइएका विषयमा जवाफ दिएका थिए ।
मन्त्री जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको बताए । उनले सोही अनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए ।
मन्त्री जम्मकट्टेलले भने ‘केही रचनात्मक सुझावहरु पनि प्राप्त भएका छन् । केही असन्तुष्टिहरु पनि व्यक्त भएका छन् । समग्रमा सबैको मतको सम्मान गर्दै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्छौँ ।’ उनले वर्तमान सरकारले मन्त्रालय थप गरी प्रशासनिक खर्च बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु स्वभाविक भएको बताए ।
उनले प्रतिपक्षले भने झै सरकारले कुनै पनि योजनाहरु कटौती नगरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले सरकारले कार्यान्वयनमा आउन नसक्ने योजनाहरुलाई रोकेर त्यसको सट्टामा अन्य योजनाहरु अघि सारेको बताए ।
उनले काठमाडौको चेभारबार हेटौडासम्म सिधै हेटौडा सुरुङ मार्ग बन्ने गरी योजना कार्यान्वयन गरिने गरी कार्यक्रम समावेश गरिएको बताए । यसैगरी प्रदेश सरकारले बस किन्ने हाम्रो फरक मत रहेके बताए । सरकारले बस किनेर घाटा हुने छ । यसको लागि पब्लिक क्षेत्रलाई दिने हो । यो निजी क्षेत्रको काम हे । सरकारले विद्धुतीय सवारी साधनको लागि चार्चिङ सेन्टर खोलिसकेकोले निजी क्षेत्रले वस चलाउने गरी कार्यक्रम ल्याउने बताए ।
उनले राजनीतिक नियुक्ती गरेको व्यक्ति अर्को सरकार आउँदा स्वतः छोडेर जानु पर्ने उनले बताए । एउटा सरकारले नियुक्ती गरको व्यक्तिसँग अर्को सरकार आउँदा स्पिड नमिल्ने भएकोले छोड्नु पर्ने उनको धारणा थियो । उनले श्रमिक, बेराेजगार, कृषि, शिक्षा, दलित समुदाय, जन आन्दाेलनको घाइतेहरु लगायतको समस्या समाधान हुने गरी केही नयाँ पन समेत दिने गरी कार्यक्रम ल्याइने बताए ।
मकवानपुर । १५ औं गणतन्त्र दिवस २०७९ काे अवसरमा खुला दाैड प्रतियाेगिता भएको छ । प्रदेश खेलकुद विकास परिसद्को आयोजनामा शनिवार भएकाे खुला दौड प्रतियाेगितामा पुरुष तर्फ सञ्जीव मिजार र महिला तर्फ भिष्मा बस्नेत प्रथम भएका छन् ।
संजीवले प्रतियोगितामा ६ कि.मि. २३ दशमलब २६ मिनेटमा निर्धारित दुरि पार गरी प्रथम भएका हुन्। यस्तै प्रतियोगितामा नारायण जिसीले २३ दशमलब ३१ र गणेश बहादुर कुँवरले २३ दशमलब ४७ मिनेटमा निर्धारित दुरी पार गरी दोस्रो र तृतीय भएका थिए ।
यस्तै, महिला तर्फ भिष्मा बस्नेतले २७ दशमलब ३८ मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । प्रतियोगितामा बसन्ती गोले २८ दशमलब ४२ मिनेटमा र दूर्गा स्वतीले ३० दशमलब ३५ मिनेटमा निर्धारित दुरी पार गरी द्वितीय र तृतीय भएका छन् ।
प्रतियाेगितामा प्रथम हुने संजीव र भिष्माले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले नगद १० हजार र तृतिय हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दौड प्रतियोगिता बिहान ६ बजे बुद्ध चोकबाट सुरु भएको थियो । स्वास्थ्यका लागि खेलकुद र राष्ट्रको लागि खेलकुद नाराको साथ प्रतियोगिताको आयोजना भएको थियो ।
यसैबीच गणतन्त्र दिवसको अवसरमा शनिबार हेटौंडामा भएकाे रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । कार्यक्रम १५ औं गणतन्त्र दिवस–२०७९ प्रदेश स्तरीय मुल समारोह समिति हेटौंडाको आयोजनामा कार्यक्रम भएको रक्त सञ्चार केन्द्र हेटौैंडाले जनाएकाे छ ।