मकवानपुर । लियो क्लब अफ हेटौंडा सुर्योदयको अध्यक्षमा निकित पोखरेल चयन भएका छन् । शनिबार बसेको क्लबकाे बैठकले आगामी लायन वर्ष २०२२/२३ को लागि पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।
यसैगरी क्लबको प्रथम उपाध्यक्षमा सबिन रिजाल, द्वितीय उपाध्यक्षमा रमेश सापकोटा, तृतीय उपाध्यक्षमा अभि मैनाली, सचिवमा भाबुक नेपाल र कोषाध्यक्षमा कुमार ढकाल चयन भएका छन् ।
बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका एरिया चिफ किशोरकुमार टण्डन, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका रिजन चेयरपर्सन शुभम लम्साल ‘विप्लव’ को उपस्तिथि रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा निर्वाचन अभ्यास गरिएको छ । बिद्यालयको सदन क्याप्टेन तथा उपक्याप्टेनको निर्वाचन अभ्यास शुक्रबार गरिएको हो । मतगणनाको प्रत्यक्ष अपडेट दिइँदै गरिएको निर्वाचनमा देशको आम निर्वाचनको झल्को दिइएको थियो ।
बिद्यालयको निर्वाचनमा चारवटा सदनका छुट्टाछुट्टै निर्वाचन बुथ कायम गरिएको थियो । निर्वाचनबाट चारवटा सदनका ४ हाउस क्याप्टेन तथा ८ जना उपक्याप्टेन चुनिएका छन् ।
जसमध्ये सर्वाधिक १ सय ८ मत प्राप्त गर्ने कक्षा १० की सुरक्षा घिमिरे रातो सदनकी क्याप्टेन चुनिएकी छिन् । यस्तै १ सय ५ मत प्राप्त गरी कक्षा १० का अनुसन्धान चापागाईँ सोही सदनका उपक्याप्टेन चुनिए भने प्राविधिकतर्फबाट आमोस राई निलो सदनको क्याप्टेन तथा मधुकुमारी ठाकुर सोही सदनकी उपक्याप्टेन चुनिएकी हुन् ।
यसैगरी हरियो सदनतर्फ नेपाली माध्यमबाट अरुण मिश्र क्याप्टेन तथा निरज बलामी उपक्याप्टेन चुनिँदा मिश्रले ६६ र बलामीले १ सय ३ मत प्राप्त गरेका थिए ।
विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्था सम्बन्धी व्यवहारिक ज्ञान हासिल गराउनका लागि निर्वाचनको अभ्यास गरिएको अंग्रेजी माध्यम संयोजक तथा निर्वाचन संयोजक रविन श्रेष्ठले बताए ।
विद्यालयमा नेपाली माध्यम, अंग्रेजी माध्यम र प्राविधिक तहका विद्यार्थीहरूले उत्साहजनक रुपमा प्रत्यक्ष चुनावमा सहभागिता जनाएका थिए । निर्वाचन आयोगबाट गरिने निर्वाचनको झल्को दिनेगरी भएको सदनको निर्वाचनमा विद्यार्थीहरू सकृय रुपमा सहभागी भएका शिक्षक सम्प्रस पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूले निर्वाचन कानूनमा ब्यबस्था भएका नमूना मतपत्र, चुनाव चिन्ह, प्रचारप्रसार तथा मौन अवधि सबै निर्देशनहरूको पूर्णरुपमा पालना गरेका थिए । साथै उनीहरूले कक्षा कक्षामा गई आफ्नो एजेण्डासहित आफ्नो चिन्हमा मतदानका लागि आह्वान गरेका थिए ।
शिक्षक अभिभावक सघं समिति सदस्य बुद्धप्रसाद दाहाल तथा गोविन्द दुलालले रिबन काटेर उद्घाटन गरेको निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई शिक्षकहरूले चुनावका लागि सहजिकरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गगाधर रिमालले सामुदायिक विद्यालयमा यस्ता निर्वाचन लगायतका क्रियाकलापले विद्यार्थीहरूमा नेतृत्व विकासमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने र त्यसले अपनत्व बोध गराउने भन्दै निर्वाचित सबैलाई बधाई दिए ।
निर्वाचित विद्यार्थीहरूलाई टिका तथा खादासहित बधाई दिइएको थियो ।
निर्वाचित सदनका पदाधिकारीलाई आइतबार प्रार्थनाक्रममा सपथ खुवाइने कार्यक्रम रहेको छ । कार्यक्रमको आन्तरिक व्यवस्थापन तथा निर्वाचन सम्वन्धी सबै डकुमेन्टको व्यवस्थापकीय पक्ष शिक्षक पौडेलले गरेका थिए।
निर्वाचन कार्यक्रममा सहायक प्रअ रामआशिष मण्डल, कक्षा ११ र१२ संयोजक कल्याणकृष्ण प्याकुरेल, मावि तह संयोजक नीर बहादुर खड्का, रविन श्रेष्ठ, प्राथमिक तह संयोजक केपी अधिकारी, व्यवस्थापन समिति शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षता निर्वाचन कार्यक्रम भएको हो ।
मकवानपुर । माटो जोगाऔं अभियानका अभियन्ताहरुलाई हेटौडामा स्वागत गरिएको छ । शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघले अभियानलाई स्वागत गरेको हो ।
माटो जाेगानउकाे लागि गरिएकाे अभियानमा ३५ सय किलोमिटर दौड सुरु गरिएकाे छ । काठमाडौंबाट जेठ ३० गतेदेखि सुरु भएको दाैडका धावक नविन पुन मगरलगायतको टोलीलाई हेटौंडामा संघ अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत गरेका हुन् । स्वागत तथा अभियान सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष गुप्ताले माटो जीवनको लागि अत्यन्त महत्वपूर्ण भएकोले अहिलेको पुस्ताको आवश्यकता पूर्तिसँगसँगै भावी पुस्ताको लागि समेत माटो जोगाउन पर्ने बताए ।
यसैगरी माटो जोगाऔं अभियानका अभियन्ताहरुको टोलीलाई प्राज्ञिक विद्यार्थी नेपाल र ईशा फाउण्डेशन नेपालका प्रतिनिधिहरुले समेत हेटौडामा स्वागत गरेका छन् । हेटौंडाको बुद्धचोकमा विभिन्न नाराहरु उद्घोष गर्दै स्वागत एवम् अभिनन्दन गरेको ती संस्थाले जानकारी दिएको छ ।
यस्तै असार ४ गते शनिबार विहान ८ बजे मकवानपुर उद्योग वाणिज्य संघको हलमा माटो जोगाऔं अभियान अन्तर्गत कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रम अघी बिहान ७ बजे पैदल तथा साईकल ¥याली आयोजना हुने बताइएकाे छ।
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित ललित कुमार घलानले पद तथा गाेपनियताको सपथ लिएका छन् । विहीबार दिउँसाे भएकाे निर्वाचनबाट घलान जिसस मकवानपुर प्रमुखमा निर्वाचित भएका थिए ।
घलानलाई प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पद तथा गोपनियताकाे सपथ खुवाएका थिए । सपथ ग्रहण लगत्तै प्रमुख घलानले उपप्रमुख सानुकाजी लुईटेल र निर्वाचित महिला तथा अन्य ७ सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । निर्वाचन पश्चात निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै जिसस मकवानपुरका नवनिर्वाचित प्रमुख ललितबहादुर घलानलाई निवर्तमान प्रमुख रघुनाथ खुलालले जिम्मेवारी हस्तान्तरण गरेका छन् । जिससकाे विहीबारकाे निर्वाचनबाट निर्वाचित घलानलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराएर जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडाकाे रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाडाैंले सुख्खायाममा लाग्ने डढेलो नियन्त्रणमा सहयोगकाे लागि रानी वन समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको हो।
वन समूहलाई डढेलो नियन्त्रणका लागि जाँदा लगाउने पोशाक, कोदालो, बन्चरो, पानीका बोतल, जुता, मोजा, सावेल, हेलमेट, टचलाईट, औषधी, प्याक पम्प, फेस मास्क लगायतका करिव ३ लाखको सामाग्री प्रदान गरिएको हो। प्राधिकरणले रानी सामुदायिक वन लगायत गोरख बहादुर गण, सुपारेटार ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तनहुँ र बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई पनि डढेलो नियन्त्रण सामग्री प्रदान गरेको प्राधिकरणका शाखा अधिकृत गंगा सुवेदी भट्टराईले बताइन्।
समूहले प्राप्त भएका सामाग्रीहरुलार्ई कसरी प्रयोग गर्ने विषयमा विज्ञहरुलाई बोलाएर तालिम प्रदान गरिने वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । वर्षेनी लाग्ने डढेलोले वनको नोक्सान हुदै गएको छ । यस्ता सामाग्रीले वनमा लाग्ने डढेलो नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने रानी वन समूहले जनाएको छ ।