मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार चट्याङ लागेर तथा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
मकवानपुरको बागमती गाउँपालिका गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा १ जनाको मृत्यु छ भने बकैया गाउँपालिकामा पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार जिल्लाको बागमती-४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।
उनका अनुसार बागमती-१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको हो ।
यसैगरि,मोटरसाईकलका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको बकैयामा रोपाइँ गर्न खेतमा पानी लगाउन पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको बकैया ६, गोवरस्थानका स्थानीय ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । शवलाई पोस्टमार्टमको लागि हेटौंडा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्ग महालक्ष्मी साहित्य पुस्स्कारबाट सम्मानित हुने भएका छन् । मकवानपुरकाे अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुस्स्कारबाट मुकारुङ्ग सम्मानित हुने भएका हुन् ।
५१ हजार रुपैयाँ राशीसहित उक्त पुरस्कार मुकारुङ्गलाई प्रदान गरिने मातृभूमि मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडकाे सोमबार संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएकाे हाे । मातृभूमिका अध्यक्ष माधव पोख्रेलले आगामी असार २४ गते हेटौंडामा एक कार्यक्रमको आयोजना गरी साहित्यकार मुकारुङ्गलाई ५१ हजार रुपैयाँ पुरस्कार राशीकाे उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिए ।
यस्तै, मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरिएको केशबलाल स्मृति मातृभुमि पत्रकारिता पुरस्कार २०७८ पत्रकार राममणि दाहाललाई प्रदान गरिने भएको हो । पत्रकार दाहाललाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
यसै गरी मातृभूमि साहित्य समाजले भाषा साहित्य कला लगायतका विभिन्न विधाका ६ जनालाई समेत पुरस्कार प्रदान गर्ने भएकाे छ । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हाे । भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् संर्वद्धन गर्ने गरी २०५६ सालमा स्थापना भएकाे समाजले आगामी असार २५ गते एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हो ।
मातृभूमि समाजले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारले विभिन्न विधाका स्रष्ट्रालाई सम्मान गर्ने भएकाे हाे । समाज अध्यक्ष पोखरेलले हातेमालो मातृभूमि युवा सृजनशील २०७८, गायिका सुनिता बुर्लाकोटी लुईटेल (हेटौंडा) र समाजका पुर्व अध्यक्ष राजबाबु पहाडी द्वारा स्थापित झलक बहादुर बानियाँ जीवन संघर्ष पुरस्कार मातृभूमि सम्मान, २०७८ हेटौडा १८ हर्नामाडी स्थित कमला आधारभूत विद्यालय कक्षा ७ की विद्यार्थी सृजना लोलाई प्रदान गरिने जानकारी दिए । लुईटेललाई १० हजार रुपैयाँ र लोलाई ६ हजार ५ सय रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिने भएको हो ।
यसैगरी, आशिष श्रेष्ठले बुवाको नाममा स्थापना गरेकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार, २०७८ समाजसेवी सिद्धिलाल श्रेष्ठ (हेटौंडा), समाजका उपाध्यक्ष कृष्ण प्रसाद दहालद्वारा बुवाको नाममा स्थापित इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ संचारकर्मी सुषमा केसी श्रेष्ठ (काठमाडौं), अर्चना रिजालद्वारा आफ्ना श्रीमानको नाममा स्थापित शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ गोकुल लाल श्रेष्ठ (मकवानपुर) र निरा गोर्खाली (मकवानपुर) लाई प्रदान गरिने भएको छ । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
यस्तै कार्यक्रममा मकवानपुरे साहित्यकार किशन पौडेलको लघुकथा ‘खुसी’ को गृह बिमोचन तथा पुस्तकको सक्षिप्त चिनारी हुने भएकाे छ । कार्यक्रममा विभिन्न स्रष्ट्राहरुकाे विभिन्न सिर्जनाहरु सुनिने अध्यक्ष पाेखरेलले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–७ मा ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गएको छ । धरान चतरा गाईघाट हेटौडा सडकखण्डअन्तर्गत बागमती ७ मा आइतबार दिउँसो विवाहकाे जन्ती लिएर सिन्धुली तर्फ जादै गरेकाे ना ७ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियाे ।
बागमती–९, बेतिनीबाट दुलही लिन सिन्धुलीतर्फ जाँदै गरेको ट्याक्टर दर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक बालिका बागमती ७ पाथिभराकी १५ वर्षिय सलिना राई रहेकाे गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । दुर्घटना हुँदा ट्याक्टरमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएकाे छ । यस अघि भएकाे त्रुटीप्रति क्षमा सहित सच्याइएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बकैया गाउँपालिकाका बुद्ध मावि प्रथम भइ उपाधी जितेकाे छ ।
आइतबार सम्पन्न १२ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित बुद्ध मावि जिल्ला प्रथम भएकाे हाे । बुद्ध माविले यसअघि २०७७ साल चैतमा भएकाे ११ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रथम भइ उपाधी जितेको थियो ।
प्रतियोगितामा थाहा नगरपालिकाकाे जनकल्याण मावि द्वितीय भएको छ । ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित जनकल्याण द्वितीय भएको हो । यस्तै हेटौंडा उपमहानगरपालिकाका जनप्रिय मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तृतीय भएको छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा जिल्लाका १० स्थानीय तह मध्ये ७ स्थानीय तहले मात्र सहभागिता जनाएका थिए । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरुले असार २५ गतेबाट हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए ।
यसैगरी प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ थाहा नगरको सुृन्दरीदेवी मावि प्रथम, हेटौडाकाे अरनी मावि द्वितीय र कैलाशको कालिका मावि तृतीय भएको छ। यस्तै भलिवलको छात्रा तर्फ थाहाकाे जकल्याण मावि प्रथम, मकवानपुरगढीकाे भानुमावि द्वितीय र ईन्द्रसरोवरकाे कालिका मावि तृतीय भएको छ ।
कबड्डी खेल तर्फ छात्रमा हेटौंडाको जनप्रिय प्रथम, थाहा नगरको जनकल्याण द्वितीय र मकवानपुरगढीको चण्डीका मावि तृतीय भएको छ । यस्तै कबड्डीमा छात्रा तर्फ थाहा नगरकाे जनकल्यण प्रथम, हेटौडाकाे चन्द्रोदय मावि द्वितीय र मकवानपुरगढीको बंशगोपाल तृतीय भएको छ ।
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बकैयाकाे बुद्ध माविका आयुस नेगी, र हेटौडाकाे बालबोध माविका करुणा पाख्रीन, भलिवलमा थाहा नगरकाे सुन्दरीदेवी माविका पुजन गुरुङ र थाहा नगर कै जनकल्याण माविकी सविना रुम्वा तथा कबड्डीमा हेटाैडाकाे जनप्रिय माविका निश्चल थापा तथा थाहानगरकाे जनकल्याण माविकी कंचन घले उत्कृष्ठ भएका छन् ।
विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही,विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।
मकवानपुर । हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका कविता सुनिएका छन् । एकल कविता साँझ कार्यक्रम मार्फत हेटाैडा कवि श्रेष्ठका कविता वाचन भएका हुन् ।
नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ भएकाे हो । कार्यक्रममा कवि श्रेष्ठले दर्जनौं कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै होइन गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् । कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेकाे बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनकाे भनाई थियाे ।
कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वकाे चर्चा गरेका थिए । कवि तथा सस्कृती कर्मी श्रेष्ठको भनाइ नै कविताकाे गहन भाव लुकेकाे हुने उनले बताए । सरलता भित्र गहनता उनकाे अर्काे विशेषता हाे निखिलले भने । तरलबाद आन्दोलनका अभियान्ता श्रेष्ठकाे बारेमा समकालीन कविहरुले तरलताकाे सरलता सरलताकाे तरलता भन्ने गरेका उनले बताए ।
मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्यले बताए । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु म मुक्तिनाथ तिमिसँग भेटिएकाे दिन धर्मग्रन्थ बाघ लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरु रहेका छन् । तीनै कविताहरु आज सुनाइएका थिए । कविता वाचनकाे समयावधी भर मकवानपुरे संगीतकार पूर्ण विक्रम अधिकारीले श्रेष्ठलाई पार्श्व संगीतमा साथ दिएका थिए ।
कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा लगायत मकवानपुरका साहित्य तथा सांगितिक र अन्य क्षेत्रका व्यक्तिहरुकाे उपस्थिती रहेको थियो ।