मकवानपुर । साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्ग महालक्ष्मी साहित्य पुस्स्कारबाट सम्मानित हुने भएका छन् । मकवानपुरकाे अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुस्स्कारबाट मुकारुङ्ग सम्मानित हुने भएका हुन् ।
५१ हजार रुपैयाँ राशीसहित उक्त पुरस्कार मुकारुङ्गलाई प्रदान गरिने मातृभूमि मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडकाे सोमबार संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएकाे हाे । मातृभूमिका अध्यक्ष माधव पोख्रेलले आगामी असार २४ गते हेटौंडामा एक कार्यक्रमको आयोजना गरी साहित्यकार मुकारुङ्गलाई ५१ हजार रुपैयाँ पुरस्कार राशीकाे उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिए ।
यस्तै, मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरिएको केशबलाल स्मृति मातृभुमि पत्रकारिता पुरस्कार २०७८ पत्रकार राममणि दाहाललाई प्रदान गरिने भएको हो । पत्रकार दाहाललाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
यसै गरी मातृभूमि साहित्य समाजले भाषा साहित्य कला लगायतका विभिन्न विधाका ६ जनालाई समेत पुरस्कार प्रदान गर्ने भएकाे छ । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हाे । भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् संर्वद्धन गर्ने गरी २०५६ सालमा स्थापना भएकाे समाजले आगामी असार २५ गते एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हो ।
मातृभूमि समाजले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारले विभिन्न विधाका स्रष्ट्रालाई सम्मान गर्ने भएकाे हाे । समाज अध्यक्ष पोखरेलले हातेमालो मातृभूमि युवा सृजनशील २०७८, गायिका सुनिता बुर्लाकोटी लुईटेल (हेटौंडा) र समाजका पुर्व अध्यक्ष राजबाबु पहाडी द्वारा स्थापित झलक बहादुर बानियाँ जीवन संघर्ष पुरस्कार मातृभूमि सम्मान, २०७८ हेटौडा १८ हर्नामाडी स्थित कमला आधारभूत विद्यालय कक्षा ७ की विद्यार्थी सृजना लोलाई प्रदान गरिने जानकारी दिए । लुईटेललाई १० हजार रुपैयाँ र लोलाई ६ हजार ५ सय रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिने भएको हो ।
यसैगरी, आशिष श्रेष्ठले बुवाको नाममा स्थापना गरेकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार, २०७८ समाजसेवी सिद्धिलाल श्रेष्ठ (हेटौंडा), समाजका उपाध्यक्ष कृष्ण प्रसाद दहालद्वारा बुवाको नाममा स्थापित इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ संचारकर्मी सुषमा केसी श्रेष्ठ (काठमाडौं), अर्चना रिजालद्वारा आफ्ना श्रीमानको नाममा स्थापित शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ गोकुल लाल श्रेष्ठ (मकवानपुर) र निरा गोर्खाली (मकवानपुर) लाई प्रदान गरिने भएको छ । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
यस्तै कार्यक्रममा मकवानपुरे साहित्यकार किशन पौडेलको लघुकथा ‘खुसी’ को गृह बिमोचन तथा पुस्तकको सक्षिप्त चिनारी हुने भएकाे छ । कार्यक्रममा विभिन्न स्रष्ट्राहरुकाे विभिन्न सिर्जनाहरु सुनिने अध्यक्ष पाेखरेलले जानकारी दिए ।

