मकवानपुर । मोती जयन्ती एवम् बुबाको मुख हेर्ने दिन कुशे औशीको अवसरमा शनिबार खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको छ । साहित्य संगम मकवानपुरको आयोजना तथा बुढ्यौली साहित्य समाज मकवानपुरको प्रायोजनमा भएको कविता प्रतियोगितामा सहभागी ३४ जना प्रतियोगीमध्ये ३ जना कवि उत्कृष्ट घोषित भएका छन् ।
समर्पण न्यौपाने, स्वस्तिका दाहाल र इलिशा पराजुली उत्कृष्ट कवि घोषित भएका हुन । संगमको ३ सय २२ औ साहित्य सन्ध्या खुल्ला कविता प्रतियोगिता बिशेष भएको हो ।
कविहरु छवि अनित्य, विश्वनाथ सञ्जेल र घनश्याम घिमिरेको निर्णयबाट उत्कृष्ट कवि घोषित भएका तीनैजनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै उषाकिरण अधिकारी र गौरी कँडेललाई प्रोत्साहन पुरस्कृत प्रदान गरिएको छ । प्रोत्साहनस्वरुप जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । न्यौपानेले ‘बा’, दाहालले ‘बाबा’ र पराजुलीले ‘बाका रक्तनली’ शिर्षकमा कविता वाचन गरेका थिए ।
यस्तै अधिकारीले ‘बुबा’ र कँडेलले ‘बा’ शिर्षकमा कविता वाचन गरे । प्रतियोगितामा ३४ जना सहभागीमध्ये २८ जनाले मात्र कविता वाचन गरेका थिए ।
साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा कवि रामचन्द्र फुर्सती आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
मकवानपुर । हिमालयन राईडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । साइकल प्रयोगकर्ताको संस्था हिमालयन राईडर्स सोसाईटीको शनिबार हेटौंडामा भएको प्रथम साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समिति उपाध्यक्ष राजु थापामगर, महासचिव चन्द्रकुमार मानन्धर, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठ र सचिव लेखनाथ ढकाल चयन भएका छन् । यस्तै सदस्यमा बुद्धराम श्रेष्ठ, इश्वर पाण्डे, देवराज आचार्य, सोनिया राई, प्रदीप थापा चयन भएका छन् ।
सभाले सल्लाहकार समितिमा चेतनाथ आचार्य, भानुभक्त आचार्य, निमेष निखील, डा. तारालाल श्रेष्ठ, राममान श्रेष्ठ, रामेश्वर बास्कोटा र दीपेन्द्रचन्द ठकुरी चयन गरिएको छ । सोसाईटीका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता तथा हेटौंडा वडा नम्वर ५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख अतिथ्यतामा सभा भएको हो।
सभामा अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक रग्बी खेल हुँदैछ । भोलिबाट मकवानपुरको हेटौंडा ५ क्याम्पा रंङ्गशालामा खेल हुनेछ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर रग्बी संघले यसबारे जानकारी गराएको हो ।
खेलमा मकवानपुर रग्बी संघ र चितवन रग्बी संघका रग्बी टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । पत्रकार सम्मेलनमा मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट अगाडी मैत्रीपुर्ण खेल हुन लागेको बताए । खेलले दुई जिल्लाका खेलाडी बीच सम्बन्ध र मैत्रीभाव प्रकट हुने उनले बताए । अहिले मकवानपुरमा रग्बी नयाँ खेल जस्तै भएकाले कुनै संघसंस्थाले यस खेललाई चासो नदिएकोमा उनले गुनासो गरे । चासो कम भएकै कारण आर्थिक जोहो गर्न नसक्दा खेलाडीहरुसँग समेत रकम संकलन गरेको उनले बताए ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जिल्ला खेलकुद विकास समितिले रग्बी खेलको विकासमा आवश्यक सहयोग गरिने बताए । रग्बी संघ मकवानपुरका प्रशिक्षक विक्रम भारतीले अहिले मकवानपुरका रग्बी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताए । रग्बी अन्य खेलको तुलनामा जिल्लामा नयाँ भएका कारण खेलाडीले थोरै मिहेनत गरेमा राम्रो स्थान पाउन सक्ने उनले बताए ।
भाेली शनिबार हुने मैत्रीपुर्ण खेलमा मकवानपुर रग्बी टिमको पुरषतर्फको कप्तानी विकल भोलन र महिलातर्फको टिमको ज्योती बोम्जनले कप्तानी गर्नेछिन् । यस्तै चितवनको रग्बी टिमको पुरुषतर्फ यदु अधिकारी र महिलातर्फको टिमको पुस्तिका वाग्लेले कप्तानी गर्नेछिन् । यस अघि मकवानपुर रग्बी टिमले अन्य जिल्लाहरुमा आयोजना भएको प्रतियोगिताहरुमा भने सहभागिता जनाउँदै आएको थियो । मकवानपुरकाे पुरुष रग्बी टिम गत बैशाखमा चितवनमा भएको प्रतियोगितामा द्वितीय हुन सफल भएको थियो । यस्तै महिला रग्बी टिमले गत वर्ष काठमाडौंमा आयोजना भएको प्रतियोगितामा प्रथम उपाधी जितेको थियो ।
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद, २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिइने भएको छ । बागमती प्रदेश सकरले राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको हाे ।
नवौं राष्ट्रिय खेलकुद २०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले खेलाडीलाई प्राेत्साहन भत्ता उपलब्ध गराइने जानकारी दिए ।भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए ।
खेलकुद प्रतियाेगितामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी खेलका खेलाडीले स्वर्ण पदक प्राप्त गरे मासिक भत्ता पाउने छन् । प्रदेशले अर्को राष्ट्रिय प्रतियोगिताको व्यवस्था नभएसम्मका भत्ता दिने जनाएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । ३६ खेलमा प्रतिस्पर्धा हुने खेलकुदमा बागमती प्रदेशले सबै खेलमा सहभागिता जनाउनेछ । प्रतियाेगितामा प्रदेशको तर्फबाट ७ सय ९ जना खेलाडीहरु सहभागी हुने बताइएकाे छ ।
मकवानपुर । रेडियो मकवानपुरले जागरुक महिलालाई सम्मान गर्ने भएकाे छ । रेडियो मकवानपुरले गत बर्षमा झैं यस वर्षको हरितालिका तीजको अवसरमा जागरुक महिलालाई सम्मान गर्ने भएको हाे । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा भदाै ११ गते शनिबार तीज विशेष कार्यक्रमको आयोजना गर्दै जागरुक महिला सम्मान समेत गर्ने भएको हो।
रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा मकवानपुरका २ अग्रज महिलालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ । यस वर्षपनि मकवानपुरमा रहेर समाजमा विभिन्न योगदान पुर्याएका दुई जना महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिने भएको रेडियो मकवानपुर संचालक समिति अध्यक्ष आन्दराम पराजुलीले जानकारी दिए ।
भदाै ११ गते शनिबार बिहान ११ बजेबाट हेटौंडाको रोयल पार्टी प्यालेसमा रेडियो तीज विशेष कार्यक्रम हुने रेडियाेले जनाएकाे छ । लक्की ज्वेलर्सको मुख्य प्रायोजनमा हुने सम्मान तथा तीज विशेष सांस्कृति कार्यक्रममा बैंङ्किङ पार्टनर ज्योति विकास बैंक, डिजिटल पार्टनर सिजी डिजिटल रहेका छन् ।
रेडियो मकवानपुरको संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संरक्षक एवम् नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मकवानपुरका राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि सहित सहयोगी संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहनेछ । कार्यक्रममा सहभागीताका लागि रेडियोले सार्वजनिक रुपमा आव्हान गरेको छ ।
‘हामीले स्थापनाकालदेखि नै तीजमा दुई अगुवा महिलालाई जागरुक महिला सम्मान र बार्षिकोत्सवमा दुईजनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएका छौं’, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालले भने, ‘सामुदायिक रेडियो हुनुको नाताले समाजमा राम्रा काम गरिहेकाहरुलाई सम्मान गर्नु र वहाँहरुको उजागर गर्नु हाम्रो दायित्व हो । मकवानपुरबासीकै लागि आयोजित कार्यक्रम भएकोले सहभागिताको निम्ति म सबैलाई अनुरोध गर्न चाहन्छु ।’
कार्यक्रममा यस बर्षको तीजको सर्वाधिक लोकप्रिय गीत ‘पावैमा पाउजु छैन बरीलै….’ की गायिका स्वस्तिका ढकाल, सुनिता शर्मा लुईंटेलसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लक्की ज्वेलर्सको तर्फबाट कार्यक्रममा सहभागीमध्ये ३ जनाले लक्की ड्र मार्फत सुनको चन्द्रहार, सुनको चन्द्रमा र चाँदीको पाउजु प्राप्त गर्नेछन् भने कार्यक्रममा सबैभन्दा राम्रो नृत्य गर्ने एकजनाले पनि चाँदीको पाउजु पाउनेछन् ।
जागरुक महिला सम्मानको लागि रेडियो मकवानपुर संचालक समितिले छनौट समिति समेत बनाएको छ । रेडियो मकवानपुरले यसअघि २२ जनालाई जागरुक महिला सम्मान र २४ जनालाई सामुदायिक सम्मान प्रदान गरिसकेको छ ।