मकवानपुर । मकवानपुरकाे हेटौंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता १९ कात्तिक बुधबारबाट सुरु हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौंडा उपमहानगरपालिका वडा नं. ६ स्थित गौरिटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा देशका सात वटै प्रदेशका लिग च्याम्पियन क्लबसहित १० टोलीको सहभागिता रहने सोमबार हेटौंडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे छ । २ मंसिरसम्म हुने प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा फेअर प्ले टिमले ५०/५० हजार रुपैयाँ तथा र ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी तथा उत्कृष्ट गोलकिपरले २५/२५ हजार रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । यसैगरी प्लेयर अफ द म्यादले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्दा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा गाईघाट फुटवल क्लब (उदयपुर), देउराली युथ क्लब (धनकुटा), नव जागृति क्लब (बारा), चित्लाङ्ग फुटवल क्लब (काठमाडौं), टाईगर्स टिम (दोलखा), जन जागृति युवा क्लव (बर्दिया), काक्रे विहार युथ क्लब (सुर्खेत), विजय स्पोर्टस् क्लब (कैलाली), हैरान्स क्लब (तनहुँ, लालीगुराँस एसोसियन क्लब (कास्की) प्रतियोगिताको उद्घाटन खेल चित्लाङ एफसी र देउराली युथ क्लबबीच हुने एन्फा प्रवक्ता शाहले जनाकारी दिए । प्रतियोगितामा सहभागी टिमलाई तयारी खर्च वापत ७ लाख प्रदान गरिने समेत उनले बताए ।
एन्फा फुटवल विकास कार्यक्रम अर्न्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेकाे उनले जानकारी दिए । सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलहरु खेलाईने बताइएकाे छ । प्रत्येक समुहको विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्ने आयोजकले जनाएकाे छ । एन्फाले सेमिफाईनल पुग्ने ४ वटा टिम यसै वर्ष संचालन हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिएकाे छ ।
प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागि हेटौंडा उपमहानगरपालिका भित्रको २ वटा खेल मैदानको व्यवस्था गरिएको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएकाे छ । प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । प्रतियोगिताको लागि १ करोड ५४ लाख ५४ हजार ४ सय २५ रुपैयाँ लाग्ने आयोजकले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ अबैध रुपमा बिक्री गर्ने ट्याङ्कर चालक सहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ ।
नेपाल आयल निगम, अमलेखगंजबाट नेपाल आयल निगम, थानकोट डिपोकाे लागि पेट्रोलियम पदार्थ लैजादै गरेको ना.४.ख ९३७७ नम्बरको ट्याङ्करबाट अवैध रूपमा पट्रोल झिक्ने कार्य भईरहेको अवस्थामा मकवानपुर प्रहरीले उक्त ट्याङ्कर चालक तथा पेट्रोल पम्पमा काम गर्ने ३ जनालाई नियन्त्रणमा लिइएकाे जनाएकाे छ ।
मकवानपुरकाे मनहरी गाउँपालिका वडा नं. ८ स्थित जय शिव शरणम् फ्यूल सेटर प्रा.लि. उक्त ट्याङ्करबाट पेट्राेलियम पदार्थ झिक्दै गरेका अवस्थामा चालक पम्पमा काम गर्ने ३ जनासहित ४ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक माधवप्रसाद दाहालले सेवाबाट अवकाश पाएका छन् । उमेर हदका कारण अवकाश भएका उनकाे आइतबार बिदाइ गरिएको छ ।
गत शनिबारबाट ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश भएपछि आइतबार बिद्यालयले उनकाे बिदाइ गरेको हो । दाहालको अवकाश पश्चात निमित्त प्रअकाे जिम्मेवारी विद्यालयमै कार्यरत सहायक प्रअ सूर्यप्रसाद घिमिरेलाई दिइएको छ । दाहालकाे बिदाइ कार्यक्रममा निमित्त प्रअ घिमिरेकाे स्वागत समेत गरिएकाे हाे ।
दाहाल ५ जेठ २०४८ मा माध्यमिक तहको गणित बिषय शिक्षकको रुपमा भुटनदेवी माविमा नियुक्त भइ करिब ३५ वर्ष सेवारत रहे । २०६३ सालमा स्थायी नियुक्ति भए पश्चात दाहाल ७ कात्तिक २०६७ देखि उक्त बिद्यालयको प्रअ नियुक्त भइ कार्यरत थिए । उहाँकाे प्रअ कार्यकालमा २०७० सालबाट साधारणतर्फ अंँग्रेजी माध्यमसँगै प्राबिधिक धारतर्फ पनि पठनपाठन शुरु भएको विद्यालयले जनाएकाे छ । करिब ७ सयको संख्यामा अध्ययन रहेकाे विद्यालयमा साधारण र प्राविधिक धारतर्फ समेत गरि २४ सय बिद्यार्थीहरु अध्ययनरत छन् ।
बिदाइ कार्यक्रममा दाहालले भने ‘विद्यालय मेरो मुटु हो, मलाई माया गरिरहँदा विद्यालयको शैक्षिक विकासमा समेत योगदान गर्नुहाेस् ।’ बिद्यालयले समपसापेक्ष परिस्कृत बिषय तथा कार्यक्रमहरु थप्दै जानुपर्ने सुझाव समेत दिए । उनले विद्यार्थी संख्या वृद्धिसँगै गुणस्तरीय शिक्षामा समेत ध्यान दिनुपर्ने उनले जोड दिए । आफू निवृत भए पनि बाँकी समय समेत शिक्षासँगै सामाजिक क्षेत्रमा विताउने उनले बताए ।
बिदाइ कार्यक्रममा हेटौंडा उपहानगरपालिका २ नम्बर वडाध्यक्ष तथा भुटनदेवी अल्मुनाई एसोशियसन अध्यक्ष बिष्णु गोपाल महर्जन, विद्यालयका निमित्त प्रधानाध्यापक सुर्य प्रसाद घिमिरे, श्रमिक माविका प्रअ तथा शैक्षिक गुणस्तर सुधार समिति ४ नम्बर वडा संयोजक श्रीराम दाहाल, विद्यालयका पूर्व प्रधानाध्यापक देव श्रेष्ठ लगायतले दाहालकाे सेवा निवृत्त जीवन सहज क्रियाशीलताकाे कामना गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आधुनिक माविका प्रअ रामसागर गुरागाईं, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शैक्षिक व्यक्तित्व तथा बिद्यालयका शिक्षक, कर्मचारीलगायतकाकाे उपस्थिति थियो ।
मकवानपुर । अविरल वर्षासँगै पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ज्यामिरेमा पहरो खस्दा उक्त सडकखण्ड अबरुद्ध भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
निरन्तर परिरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सडक डिभिजन कार्यालयकाे समन्वयमा पहिरो खसेको स्थानमा बाटो खुलाउने प्रयास भइरहेको छ । प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यो सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ । प्रहरीका अनुसार हेटौंडा काठमाडो जाने अन्य सडक खण्डमा अवरोध रहेकाे छैन ।
मकवानपुर । आज बिहीबार देशभरकाे साधारणतया बदली रहने छ । बिहान वदली भइ कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभावका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभावका कारण वदली भइरहेकाे महाशाखाले जनाएकाे छ । बिहीबार (आज) दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।