मकवानपुर । प्रज्ञा कुञ्ज माध्यमिक विद्यालयकी निर्देशक सपना खरेलले पिताकाे सम्झनामा चित्रकला प्रदर्शनी गरेकी छिन् । सपनाले पिता दयाराम खरेलको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर पुष्प सजावटको शिल्पकला प्रदर्शनीमा ल्याएकी हुन् ।
नेपाल कला परिषद् बबरमहलमा माघ १३ गतेदेखि सुरु भएकाे चित्रकला प्रदर्शनी माघ १७ गतेसम्म चल्ने बताइएकाे छ । उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धरले गरेका हुन् । प्रदर्शनी उद्घाटन गर्दै मानन्धरले आधुनिक समाजमा चित्रकलाको भूमिकामा नारी उपस्थितिकाे प्रशंसा गरेका थिए ।
यसैगरी काठमाडौँ विश्वविद्यालयका प्रा. भीमप्रसाद श्रेष्ठले सपना खरेलका चित्रमा नेपाल र जापानका विशेषता झल्कनुले युगीन चेतनाको झल्को दिएकाे बताए । जापानी दूतावासकी सांस्कृतिक अधिकृत सातो मायोकुले कलाकारिताको प्रशंसा गर्दै जापानी कलाकारितालाई नेपालमा पनि स्थान दिएकोमा सपना खरेललाई धन्यवाद ज्ञापन गरेका थिए । शिल्पाञ्जली नाम दिइएको कला प्रदर्शनीमा सपनाले आफू जापानमा रहँदा सिकेको सिकाइ र अनुभवलाई समेटेर जापानी शैलीगत पुष्प सजावट गर्ने कलालाई प्रस्तुत गरेकाे बताइन् ।

इन्जिनियर्स विद आउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मीले कला, साहित्य र संगीतको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबै अतिथिजनहरूमा धन्यवाद ज्ञापन गरेका थिए । अस्मि कार्की र अनुष्का रेग्मीको संचालन तथा स्वागत मन्तव्य चित्रकार खरेरलले स्वयं गरेकाे चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा ललितकलासँग सम्बन्धित व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।
गोल्डेन गेट कलेजका निर्देशक सम्झना खरेलकाे विशेष उपस्थिति रहेको प्रदर्शनीमा बिक्री भएकाे चित्रबाट प्राप्त हुने रकम कुनै परोपकारी कार्यमा सहयाेग गरिने चित्रकार खरेलले बताइन् ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा उक्त प्रतियोगिता हुने भएको हाे ।
माघ १६ गते सहिद दिवसका दिन हेटौंडामा प्रतियोगिताकाे आयाेजना शनिबार हेटाैंडामा पत्रकार सम्मेलन गरि जानकारी गराइएकाे हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले वडा कार्यालयले सीमित आर्थिक स्रोत हुँदा पनि शिक्षा र खेलकुद क्षेत्र काम गरिरहेको बताए ।
४ नम्बर वडामा कभर्डहल, भलिबल कोर्ट, एथ्लेटिक्स ट्रयाक निर्माणमा वडा कार्यालयले सहयाेग गरेकाे सिग्देलले जानकारी दिए । खेलकुद राष्ट्रपति समर्पित हुने भन्दै प्रतियोगिता आयोजनामा सबै निकायले भूमिका खेल्नुपर्ने उनकाे भनाइ थियाे । खेल तथा खेलाडीलाई प्रत्साहन गर्न आगामी बजेटमा शिक्षा र खेलकुदमा समेत भौतिक पुर्वाधारमा छुट्याएको बजेट बराबरकाे बजेट विनियाेजन गर्न पहल गरिने उनले बताए ।
प्रतियाेगितामा सहभागी जनाउनेले माघ १५ गते भित्र नाम दर्ता गरिसक्नुपर्ने बताइएकाे छ । ४ नम्बर वडा कार्यालयबाट सुरू हुने दौड पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने जनाईएको छ । दौड ३ किलोमिटरको हुनेछ । प्रतियोगिातमा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार तृतीय हुनेलाई ३ हजार चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी स्लो स्कुटी रेस तर्फ प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । दौडमा १ सय ५० जाना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा आयोजकले गरेकाे छ। संस्थागत र सामुदायिक विधालयका शिक्षकहरूले प्रतियाेगितामा सहभागी हुन पाउने बताइएकाे छ । सेवा निवृत्त शिक्षकहरूले पनि दौडमा सहभागी हुन सक्ने शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले प्रतियोगितामा प्राविधिक सहयोग रहने प्रतिबद्वता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले खेलकुद गतिविधि बढाउन सबै निकायले सहयोग गरेकोमा खुशी व्यक्त गरे । समितिले गर्न नसकेको खेलकुल गतिविधिहरू वडा कार्यालयले गर्न लागेकोमा वडा अध्यक्ष सिग्देलको खड्गीले प्रशंसा समेत गरेका छन् ।
मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी ६ नयाँबस्तीमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ का अन्दाजी ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तितुङको उपचारको क्रममा चितवन जिल्लाको भरतपुर स्थिय पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्याङ्कर चालक चितवन जिल्लाको राप्ती नगरपालिका–२ का ३६ वर्षीय ईश्वर बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
मोटरसाइकल दुर्घटनामा ४ जना घाइते,१ जना गम्भीर
मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुडेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोर हिमाल जिम्बा गम्भीर घाइते भएका छन् । सोही दुर्घटनामा अन्य ३ जना घाइते भएका छन । शुक्रबार साँझ ६ बजेको समयमा हेटौंडा–सिन्धुली सडकखण्डको बकैया–३, हात्तीसुडेमा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । हात्तीसुडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १७ वर्षीय जिम्बा गम्भीर घाइते भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ ।
यस्तै बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १८ वर्षीय बसन्त डङ्गोल, मोटरसाइकलमा सवार बकैया–३, बाघमाराका २२ वर्षीय तीर्थ लामिछाने र २३ वर्षीय सुजन गुरुङ घाइते भएका छन् ।
डंगोल र लामिछानेको अवस्था मध्यम रहेको र गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेटौंडा ल्याइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।
नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता प्रकाश चापागाईले जानकारी दिए ।

मकवानपुर । नेकपा एमाले मकवानपुरले बागमती प्रदेशमा एमालेको तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई स्वागत तथा सम्मान गरेको छ । एमाले मकवानपुरले बुधबार प्रदेश सरकारमा नियुक्ति भएका ३ जना मन्त्रीलाई विहीबार सम्मान गरेको हो ।
प्रदेश मन्त्रिपरिषदमा मकवानपुरका अध्यक्ष समेत रहेका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशब प्रसाद पोख्रेल कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् ।
एमाले मकवानपुरले एक कार्यक्रमबीच तीनै जनालाई स्वागत तथा सम्मान गरेको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, हरि बहादुर महत, जिल्ला सचिव नविन सिग्देललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।