मकवानपुर । मकवानपुरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आइतबार ६ हजार जनाले अवलोकन गरेको अनुमान गरिएको छ । महोत्सवको बाह्रौं दिन आइतबार करिब ४० लाख बराबरको कारोबार भएको अनुमान आयोजक मकवानपुर उद्योग संगले गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा माघ ११ गतेबाट सुरु भएको महोत्सवमा आइतबार युवा पुस्ता माझ चर्चित गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकहरुलाई नचाएकी थिइन् । उनले बोल माया…, लाउन्न दाजै पिरती…, भीर मौरी भीरैमा…, गलबन्दी च्यातियो…, ए फुलमाया यता आइजो…, हिमाल फुल हिउँमै सरेको…, सोल्टी बजारमा…, नयाँ नयाँ लुगा फेरे लगायत थुप्रै गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै आजै गायक सुजील कर्माचार्यले भुमो भुमा…, मानिलेउ संसारकै तिमी राम्री लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
महोत्सवको अन्तिम दिन भोली सोमबार चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भएको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । आइतबार आइडलबाट राजेश दर्नाल बाहिरेका छन् भने बाकीँ ५ जना फाइनल प्रवेश गरी आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् ।

महोत्सवमा आज आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।
मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्धक रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
मकवानपुर । राक्सिराङ गाउँपालिका ५ स्थित बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले खानेपानी धाराको उद्घाटन गरे पछी उक्त योजना स्थानीय बाङदीराङ खानेपानी तथा सरसफाई योजना समितिलाई हस्तान्तरण गरेका हुन ।
रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको ३० वटा खानेपानी धारा शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । कुल बजेट १२ लाख ७० हजार ५ सय ६५ र श्रमदान ४ लाख ९० हजार ७ सय २५ रुपैयाँ गरी खानेपानी निर्माणमा जम्मा १७ लाख ६१ हजार २ सय ९० रुपैयाँ लागत रहेको बताईएको छ ।
खानेपानी योजना अन्तर्गत बाङदिराङका २८ घरधुरीमा खानेपानीको धारा जडान भएको छ । सबैजसो घरधुरीमा धारा पुर्याउने लक्ष्यका साथ खानेपानी योजना सञ्चालन रिकभर परियोजनाले जनाएको छ ।
खानेपानी, सिचाई, कृषि, आवासको कार्य क्षेत्र बनाउदै आएका सीआरएस नेपाल, लुमन्ती, सप्रोस नेपालको गाउँ बस्तिमा जागरण शिक्षासंगै व्यावसायिक रोजगारी मुलक बनाउन सफल रहेको प्रमुख घलानले बताए । त्यस्तै, खानेपानी तत्कालको लागि समस्या समाधान भए पनि दिर्घकालिन हुने गरि क्षेत्रअधिकार बढाउन समेत उनले आग्रह गरे ।

खानेपानी धारा उद्घाटन पछि समितिको कोषाध्यक्ष रुक्मिणी बर्तौलाले भनिन -‘पहिले खानेपानीको लागि धाउनु पर्ने हुन्थ्यो, महिला दिदीबहिनीको दैनिकी पानी ओसार्नु मै बित्थ्यो । सीआरएस नेपाल, लुमन्ती र सप्रोस नेपालको सहयोग पछि घरघरमै पानी आएको छ ।’ ‘हाल ३१ घरमा ३० वटा धारा संचालनमा आइसकेको छ’ उनले भनिन ‘धाराबाट खेरा गएको पानीबाट तरकारी बाली लगाएका छौ ।’
त्यस्तै, रिकभर परियोजना मार्फत निर्माण भएको घरको अनुगमन गरिएको छ । जसमा जिल्ला समन्वय समिति, भुकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुर, राक्सिराङ गाउँपालिका तथा वडा लगायतको टिमले अनुगमन गरिएको छ ।
समितिको अध्यक्ष हर्कबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख सानुकाजी लुईटेल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, डिएलपीयु प्रमुख रबिन पाठक, सीआरएस नेपालकी संजिता श्रेष्ठ, सप्रोस नेपालको कार्यक्रम संयोजक भानु लिम्बु, महेश्वर ढकाल लगायतको उपस्थिति थियो ।
मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा कार्यक्रम भएको हो ।
माघ २० गते शुक्रबार हेटौंडा ४ रोयल पार्टी प्यालेसमा २६ वटा स्टलमा सामाजिक, गणित र विज्ञान प्रदर्शनी गरिएको थियो । हेटौंडा ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहेको प्रदर्शनी संगै सास्कृतिक कार्यक्रम समेत भएको हो ।
शिक्षामा गुणस्तर सुधारका लागि असल र रचनात्मक प्रयत्न गर्न, शिक्षालाई प्रतिस्पर्धात्मक बनाउन, एकअर्काकाे शैक्षिक अनुभवलाई आदानप्रदान गर्न, शिक्षामा गरिएकाे आजकाे खर्च हाेईन, भाेलीकाे लागि लगानी हाे, भन्ने स्थापित गर्न,शिक्षामा बजेट, श्राेत, साधन र प्रविधिलाई प्रवर्द्वन गर्न, शैक्षिक क्षेत्रमा हामी केही न केही परिवर्तन गर्न, शैक्षिक जागरणकाे माध्यमद्वारा सामाजिक रूपान्तरण गर्ने उदेश्यले बृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरिएको ४ नम्बर वडा अध्यक्ष नविन सिक्देलले बताए ।
दिनभर चलेको प्रदर्शनीको करिब १० हजार जनाले अवलोकन गरेको बताइएको छ ।

मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा उक्त कार्यक्रम हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नविन सिग्देलले शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । माघ २० गते दिनभर हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने सिग्देलले बताए ।
शिक्षालाई प्रतिस्पर्धातमक बनाउने गरी गुणस्तर सुधारको काममा लागिएको बताउदै उनले पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी गरिने जानकारी दिए । १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा हेटौंडा वडा नम्बर ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहने बताइएको छ ।