मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले नेपाली कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सोमबार एक कार्यक्रमका बीच कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएका हुन ।
कांग्रेस बागमती प्रदेश सभापति बानियाँ तथा पदाधिकारीहरुले आर्थिक मामिला तथा कानुनमन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, ऊर्जा तथा जलस्रोत मन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन र मन्त्री रामकृष्ण चित्रकारलाई बधाई तथा शुभकामना दिएका छन् । कांग्रेस बागमती प्रदेशको मुख्य कार्यालय हेटौंडामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सभापति बानियाँले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आमजनताको आवश्यकतालाई ध्यानमा राखी जनप्रतिनिधिहरुले ल्याएको माग सम्बोधन गर्न आग्रह गरे ।
अहिले आर्थिक मन्दीले विश्वलाई नै आक्रान्त र प्रभाव पारिरहेको बताउँदै नेता बानियाँले प्रदेशमा परेको प्रभावलाई न्युनीकरण गर्दै बजेटले प्रदेशका जनताको विकास निर्माणको आकांक्षालाई परिपूर्ति गर्दै त्यसमा दत्तचित्त भएर लाग्न आग्रह समेत गरे । कार्यक्रममा कांग्रेस बागमती प्रदेशका महामन्त्रीद्वय राजु श्रेष्ठ र कञ्चनचन्द्र बादे, सहमहामन्त्री हरिशरण श्रेष्ठ, प्रदेश सदस्यहरु चम्फुरत्न लामा, प्रज्वल दवाडी, प्रभातकुमार तामाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश कार्यसमितिका मुख्य सचिव राजु नेपाल, नेपाली कांग्रेसबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । दैनिक जिविको पार्जनका लागि समस्यामा पर्दै आएका परिवारका बालवालिकाका लागि हेटौंडामा निःशुल्क डिप्लोमा कम्प्युटर तालिम प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा १६ र १७ का बिपन्न परिवारका बालवालिकालाई कम्प्युटर तालिम दिइएको हो । कम्प्युटर शिक्षामा चासो राख्ने तथा बेसिक कम्प्युटर काेर्ष लिइसकेका दुई वडाका बालबालिकालाई स्थानीय कम्प्युटर शिक्षा सञ्चालन समितिले डिप्लोमा कम्प्युटर सम्बन्धी निःशुल्क तालिम दिएको हो । छ महिने डिप्लोमा तालिम सकेका १६ र १७ का बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन् ।
उनले शिक्षा लिएकाहरुकाे उज्जवल भविष्यको कामना गर्दै बिद्यालय स्तरमा प्लस टु सक्ने बित्तीकै बैदेशीक मोहमा बालबालिका रहेकाले त्यसलाई रोक्नका लागि सोच्ने बेला भएकाे बताइन् । उनले बैदेशीक यात्रा होइन नेपालमा नै भबिष्य खोज्ने वाताबरण बनाउन जरुरी रहेकाे बताउँदै उपमहानगरका अन्य वडाहरुका बिद्यार्थिहरुलाई लक्षित गर्दै कम्प्युटर शिक्षा र लाईबेरीको व्यवस्थापन गर्ने बताइन् ।
त्यसक्षेत्रका कम्प्युटर शिक्षामा इच्छा राख्नेहरुलाई लक्षित गर्दै ५ वटा कम्प्युटरबाट सञ्चालन भएको तालिम केन्द्रमा अहिले १८ वटा कम्प्युटर रहेको छ । समितिले व्यवस्थापनका लागि केहि शुल्क लिएपनि बजारमा बेसीक र डिप्लोमा कक्षाका लागि लाग्ने भन्दा न्यून रहेको समितिका अध्यक्ष कृष्णबहादुर राईले बताए । दैनिक रुपमा शिक्षा लिने बिद्यार्थिको चाप उच्च रहेपनि बिद्युत व्यवस्थापनका लागि इन्भटरको समस्या रहेको बताए । तालिमका लागि समितिले २ जना प्रशिक्षकको व्यवस्था गरेको उनले जानकारी दिए ।
समितिका अध्यक्ष राईको अध्यक्षतामा भएको प्रमाणपत्र बितरण तथा डिप्लोमा कक्षा समापन कार्यक्रममा हेटौंडा १७ का वडा सदस्य कृष्ण अधिकारी, १६ का सदस्य संगिता बिश्वकर्मा, रेडक्रस सोसाईटी १६ र १७ का सभापति राजकुमार बास्तोला लगायकाले सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । समितिले दैनिक रुपमा कम्पुटरको बेसिक र डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्धिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् । जेठ १५ गते सोमबार मनाइँदै गरिएको १६ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले उक्त कुरा बताएका हुन् ।
नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रुपमा गणतन्त्र दिवसलाई प्रमुख शर्माले उल्लेख गरेका छन् । ‘यस महत्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले भनेका छन्,‘गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्घासुमन अर्पण गर्दै बेपत्ता,घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु ।’
प्रमुख शर्माले शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को बसन्त क्रान्तिको जगमा नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको उल्लेख गरेका छन् । ‘यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरंकुश, केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँने दिनका रुपमा स्मरण गर्दछौं’ प्रदेश प्रमुखको शुभकामना सन्देशमा भनिएकाे छ ।
गणतन्त्रात्मक व्यवस्थामा हामी संघीयता,धर्मनिरपेक्षता,समानुपातिकता एवं समावेशीतासहितको संविधान प्राप्त गर्दै अधिकार सम्पन्न नागरिक भएको प्रमुख शर्माको भनाई छ । यही व्यवस्थाबाट हाम्रो देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार समेत निर्माण भएको उनको जोड छ । नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका सम्मानपूर्वक बाँच्न पाउँने, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सामाजिक सुरक्षा, श्रम, महिला, बालबालिका, दलितका हक जस्ता विषय हाम्रा लागि अत्यन्त सुखद् र खुशीको विषय भएको प्रमुख शर्माले सन्देशमा उल्लेख गरेका छन् । यी तमाम प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्दै अघि बढेमा गणतन्त्र थप दिगो र दरिलो हुँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन अवश्य हुने विश्वास उनले सन्देश मार्फत लिएका छन् ।
आजको ऐतिहासिक दिनको सन्दर्भलाई स्मरण गरिरहँदा हामीले प्राप्त गरेको उपलब्धिमाथि धावा बोल्नेबाट सचेत रहँदै मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता,राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्दै संविधानको मर्म र भावना अनुसार चल्नु हामी सबै नागरिकको दायित्व भएको प्रमुख शर्माको भनाई छ ।
प्रमुख शर्माले आफ्नो सन्देशमा हाम्रो जीवनलाई आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणसहित सभ्य र सुसंस्कृत बनाउँदै समुन्नत समाज निर्माणमा गणतन्त्रले सदैव मार्ग प्रसस्त गरोस् भन्ने कामना गरेका छन् । साथै, देश निर्माणको महाअभियानमा लामबद्द हुन सबैलाई यो दिवसले प्रेरणा मिलोस् भन्दै प्रमुख शर्माले शुभकामना व्यक्त गरेका छन् ।

मकवानपुर । संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
संविधान अनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी ब्यबस्था भएकोले संघीय सरकारले आज बजेट दुबै सदनको संयुक्त बैठकमा पेश गर्न लागेको हो।
जेठ ५ गते सदनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रम सदनमा छलफल पश्चात गत शनिबार पारित भएको थियो ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर करिब १७ खर्बको बजेट ल्याउने तयारी गरेको बताइएको छ ।
सामान्य भाषामा भन्दा बजेट भन्नाले सरकारको आय र व्ययको वार्षिक अनुमान हो । सरकारले हरेक वर्ष गर्ने खर्च तथा खर्च धान्नका लागि आवश्यक स्रोतको अनुमान नै बजेट हो ।
सरकारले बजेट तयार पारी कर उठाउन करको दररेटसमेत समावेश गरी राष्ट्रिय ढुकुटीमा जम्मा हुनसक्ने अनुमानित रकमलाई कुन—कुन क्षेत्रमा कति खर्च गर्ने भनी विस्तृत विवरणसहित स्वीकृतिका लागि संसद् समक्ष पेश गर्दछ ।
मकवानपुर । प्रदेश भित्रका प्रहरी चौकी निर्माणको लागि बागमती प्रदेश सरकारले ६ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले संघीय सरकार मातहतको ५ वटा प्रहरी चौकी भवनका निर्माणका गर्न उकत रकम ६ रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, मकवानपुरजिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि १ करोड ९८ लाख १ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ उपलबध गराउने निर्णय गरेको हो ।
यसैगरी चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार रुपैयाँ र जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आइतबारको बैठकले प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णय समेत गरेको छ । बैठकले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख दिने र नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र १ करोड १० लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेशका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रदेशका १० पालिकालाई १० लाख रुपैयाँका दरले स्थानीय विपद् कोषमा रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । दोलखाको गौरीशंकर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, र चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद्कोषमा १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले सिन्धुली अस्पतालमा यही जेठ ९ र १० गते हुन गएको भौतिक क्षतिको कारण इमर्जेन्सीबाहेक अन्य सेवा सञ्चालन गर्न अप्ठ्यारो परिरहेकाले अन्य सेवा सुचारु गर्न क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।