मकवानपुर । जग्गा किर्तेको आरोप लागेपछि मकवानपुरको एक स्थानीय तहको जननिर्वाचित वडाध्यक्षसहित १० जना फरार भएका छन ।
किर्ते कागजात मार्फत छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका मकवानपुर जिल्ला थाहा नगरपालिका वडाध्यक्षसहित १० जना फरार रहेका हुन् ।
जग्गा किर्ते गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि थाहा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिव ओब्जङ बहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, उनका छोरा राजु गुरुङ, १२ नम्बर वडा कै रामशरण गुरुङ, कृष्ण बहादुर गुरुङ, सुकुमान स्याङ्तान, राम बहादुर स्याङ्तान र नरेश घलान फरार भएका हुन् । अदालतले उनीहरूको नाममा पक्राउ पूर्जी जारी भएपछि सबै फरार भएका हुन् ।
उनीहरुको खोजी भैरहेको पालुङ प्रहरीले जनाएको छ ।
स्याङ्जामाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सतराज गुरुङ पक्राउ परेपछि घटनाको भन्डाफोर भएको हो ।
गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरु तयार गरी विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले बताए ।
गुरुङले किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी सङ्गठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको बताएका छन् । गुरुङले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर उक्त जग्गा बिक्री गर्न भने भ्याएनन् ।
सोही आधारमा मकवानपुरको थाहा नगरपालिका १२ घर भई काठमाडौंको कपन बस्ने सतराज गुरुङलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं राखी अनुसन्धान गरिरहेको छ । उक्त जग्गा बिकीका लागि बैना गर्न लाग्दा प्रहरीले फेला पारेको थियो ।
कांग्रेस निकट वडा अध्यक्ष स्यान्तान गत स्थानीय तह निर्वाचनमा नेकपा माओबादी र नेकपा एकीकृत समाजबादी सहितको गठबन्धनबाट निर्वाचित भएका थिए ।
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । सोमबार जिल्लाका ४ सामुदायिक क्याम्पसमा अध्ययनरत ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको जिसस मकवानपुरले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा मकवानपुर बहुमुखी क्याम्पसबाट सम्झना महर्जन, पूर्णिमा पोखरेल, निष्मा घिमिरे, सुजिना श्रेष्ठ र उसिपा पौडेलसहित ६ जना रहेका छन् ।
यस्तै हेटौँडा क्याम्पसबाट निमा महत, आशिष घलान, अजिता बिडारी र ज्योति पुडासैनीसहित ४ जना रहेका छन् । यसैगरी वंशगोपाल बहुमुखी क्याम्पसबाट अनुजा ढकाल, उत्कर्ष पौडेल, सन्तोष पुडासैनी र सुभाष राई सहित ४ विद्यार्थी रहेका छन् । थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसबाट एलिना मोक्तान, सविता अधिकारी, देवनाथ वाईबा, सरु थोकर, सुनिता भट्ट, खुशी थोकर, पुष्पा पाख्रिन र रोजिना बलामी सहित ८ जना रहेको जिससले जानकारी दिएको छ ।
यस्तै निर्मल बहुमुखी क्याम्पसका पावल प्रजा, विष्णुमाया थोकर, समिना थोकर, गोमा स्याङ्तान, सुनिता बल, सुनिल थिङ, अस्मिता थिङ र सुस्मिता स्याङ्तान सहित ९ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । छात्रवृत्ति पाउनेमा मनहरी बहुमुखी क्याम्पसबाट गुणराज स्याङ्बो, शितल लामा, दिपेन्द्र प्रजा, मनिराज मोक्तान, लेबी भोलन र निराजन अर्यालसहित ६ जना रहेका छन् । यस्तै पदमपोखरी बहुमुखी क्याम्पसका मिरा वाईबाले छात्रवृत्ति पाएका छन् । हटिया जनप्रिय बहुमुखी क्याम्पसबाट छात्रवृत्ति पाउनेमा सरस्वती ढकाल, बिनिता तिमल्सिना, सुजता राई, मुना गोले, पुष्पा बास्तोला, प्रमिला स्याङ्बो र आइश्री भोलन सहित ७ रहेका छन् ।
छात्रवृत्ति वितरण कार्यक्रममा जिसस मकवानपुरका प्रमुख ललित घलानले जिल्लाभित्रका सामुदायिक क्याम्पसमा अध्ययनरत आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृृत्ति वितरण गरिएको बताए । जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख दीनानाथ गौैतम, जिससका सदस्यहरु, क्याम्पस प्रमुखलगायको उपस्थिति रहेको थियो ।
मकवानपुर । बाढी पहिरोलगायतको मौसमजन्य प्रकोपको कारण मर्कामा परेका बागमती प्रदेशवासीहरुलाई सरकारले वास्ता नगरेको भन्नेबारे पटक पटक संसदमा कुरा उठेपछि प्रदेश सरकारले सुरक्षा योजना सार्वजनिक गरेको छ ।
यस वर्षको मनसुन शुरु भैसकेको छ । मनसुनका कारण विभिन्न जिल्लामा बाढि पहिरोले क्षति पु-याएको छ । जसको क्षतिबारे प्रारम्भिक सर्वेक्षण समेत नगरिएको अवस्थामा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्वन्धी प्रतिकार्यको योजना निर्माण गरेकोछ ।
बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्नेगरि प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघसंस्थाहरुका लागि विषयगत क्षेत्र तय गरि ति मन्त्रालयको ठोस ठोसमा कार्य जिम्मेवारीसमेत तोकेको छ । मुख्यमन्त्रीको अध्यक्षता रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्संग सम्बन्धित पूर्वतयारीदेखि पुनर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिनेछ ।
आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसंग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ । त्यस्तै प्रदेश विपद् कोष संचालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने छ ।
आजको बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । साथै आज एक कार्यक्रमका बीच मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरेका छन् ।
बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरु, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो । एक साताअघि प्रदेश सभाको बैठकमा सुन्य समयमा बोल्ने सांसदहरुले क्षति विवरण र सरकारले प्रदान गरेको राहतबारे जानकारी माग गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको छ । हेटौडा ६ चौघडामा रहेकाे सामुदायिक वन समूहले बागमती प्रदेशबाट उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको हाे ।
बागमती प्रदेशभित्रका सामुदायिक वन समूहमध्ये उत्कृष्ट हुँदै समूहले एकलाख पुरस्कार प्राप्त गरेको हाे । बागमती प्रदेश वन निर्देशनालय हेटौडामा भएकाे बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको पुरस्कार प्रदान गर्ने निर्णय गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
वन समूहले वनको विकास, समूहको स्वीकृत विधान तथा कार्ययोजना बमोजिमका कामहरु सम्पन्न गरेको, संस्थागत विकास लगायतका काम पारदर्शी ढंगले सम्पन्न गरेकाे सूचकहरुकाे आधारमा पुरस्कार प्रदान गरेको वन निर्देशनालयले जनाएको छ । यसैगरी समयमै साधारणसभा, लेखापरीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन, आयआर्जन, पर्यापर्यटन, प्रचारप्रसार, आर्थिक प्रतिवेदन लगायतका कामहरु समेत समूहले व्यवस्थित राख्ने गरेको लगायतका आधार समेत लिइएकाे निर्देशनालयले जनाएको छ ।
यसअघि समूहले सर्वमान्य गणेशमान सिह वन संरक्षण पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्लास्तरीय पुरस्कारहरु प्राप्त गरिसकेको अध्यक्ष न्यौपानेले बताए ।
मकवानपुर । मकवानपुर जिल्लामा रहेका राजनीतिक दलहरुले हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्न ऐक्यबद्धता जनाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत हेटौडा बजार क्षेत्रमा पर्ने सडक २५ मिटर विस्तार गर्ने विषयमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख सहमत भएका हुन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा जिल्ला क्रियाशील राजनीतिक दलका प्रमुखवीच आयोजित छलफलमा सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको सूचनामा ऐक्यबद्धता जनाउँदै सडक विस्तार गर्ने विषयमा सम्बन्धित सवै निकाय अनुरोध समेत गरेको छ ।
‘सडक विस्तार गर्दा सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार घरधनीहरुको हकमा उचित मुआब्जा तथा क्षतिपूर्ति एवम् व्यवसायीलाई उचित व्यवस्थापनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय दलहरुले गरेका छन् ।
नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको छलफलमा नेकपा एमाले जिल्ला अध्यक्ष एवम् प्रदेश सदस्य एकालाल श्रेष्ठ, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान तथा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


