मकवानपुर । बाढी पहिरोलगायतको मौसमजन्य प्रकोपको कारण मर्कामा परेका बागमती प्रदेशवासीहरुलाई सरकारले वास्ता नगरेको भन्नेबारे पटक पटक संसदमा कुरा उठेपछि प्रदेश सरकारले सुरक्षा योजना सार्वजनिक गरेको छ ।
यस वर्षको मनसुन शुरु भैसकेको छ । मनसुनका कारण विभिन्न जिल्लामा बाढि पहिरोले क्षति पु-याएको छ । जसको क्षतिबारे प्रारम्भिक सर्वेक्षण समेत नगरिएको अवस्थामा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्वन्धी प्रतिकार्यको योजना निर्माण गरेकोछ ।
बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्नेगरि प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघसंस्थाहरुका लागि विषयगत क्षेत्र तय गरि ति मन्त्रालयको ठोस ठोसमा कार्य जिम्मेवारीसमेत तोकेको छ । मुख्यमन्त्रीको अध्यक्षता रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्संग सम्बन्धित पूर्वतयारीदेखि पुनर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिनेछ ।
आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसंग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ । त्यस्तै प्रदेश विपद् कोष संचालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने छ ।
आजको बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । साथै आज एक कार्यक्रमका बीच मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरेका छन् ।
बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरु, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो । एक साताअघि प्रदेश सभाको बैठकमा सुन्य समयमा बोल्ने सांसदहरुले क्षति विवरण र सरकारले प्रदान गरेको राहतबारे जानकारी माग गरेका थिए ।

