मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ ।
गाउँपालिकाले ३ नम्बर वडाका ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरेको हो । लालपुर्जा प्राप्त गर्नेहरुमा वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् ।
उनीहरुलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले लालपुर्जा वितरण गरेका थिए । विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती वडाअध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए ।
बागमती गाउँपालिकाले पुर्जा वितरण गरेको यो तेस्रो पटक हो । यस अघि वडा नं ४ का भुमिहिन दलित ३ जना, भुमिहिन सुकुम्वासी २८ जना र वडा नं ५ का भुमिहिन सुकुमवासी २ जना गरि ३३ जनालाई लालपुर्जा वितरण गरिसकेको छ ।
प्रविधिक समस्या नआएमा गाउँपालिकाको जग्गा डेढ वर्ष भित्र नाप जाँच सकाएर अव्यबस्थित बसोबास गर्नेलाई पुर्जा वितरण गरिने तयारी गरेको जनाएको छ ।
गाउँपालिकाको वडा नं ३, ४ र ५ नापी कार्य सकिएको, वडा नं १,२ र ६ मा नापी कार्य अन्तिम चरणमा रहेको जनाएको छ । यसैगरी वडा नं ७ मा आधा जति नापी भएको र बाँकी वडा नं ८ र ९ मा पनि छिट्टै नापी कार्य अघि बढाउने छ ।
बागमती गाउँपालिकाले २०७६ सालदेखि जग्गा नापी कार्यको सुरुवात गरेको थियो । अहिले राष्ट्रिय भूमि आयोग गठन भइ कार्यविधि समेत निर्माण भएकोले सोही अनुसार नापी कार्य भैरहेको बताइएको छ । गाउँपालिकाले १० औं गाउँसभामा उनीहरुलाई पूर्जा वितरण गरेको हो ।

गाउँसभामा जग्गा दाता २३ जना सम्मानित
यसैबीच गाउँसभामा जग्गा दाता २३ जना सम्मानित भएका छन् । गाउँपालिकाको १०औ गाउँसभामा सरकारी कार्यालय स्थापना गर्न जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । जग्गादाताहरु तुलासा थोकर, डुब्वाङ पाख्रिन, मानकाजी जिम्बा, आइतेसिं पाख्रिन, बिजय जिम्बा, कार्शाङ पाख्रिन, सुवास घिसिङ, तिलकबहादुर माझीलगायत २३ जनालाई गाउँपालिका अध्यक्ष घलानले सम्मान गरेका हुन ।
उनीहरुले गाउँपालिकाका सरकारी संरचना निर्माणका लागि ३ कठ्ठासम्म जग्गा दान गरेका थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
गाउँपालिकाको १० औ गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । अध्यक्ष घलानले गाउँ सभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको छ ।
पालिकालाई संघीय वित्तीय समानीकरण अनुदान १० करोड ४३ लाख, संघीय सशर्त अनुदान २० करोड ८० लाख, समपुरक ८० लाख ,सशर्त अनुदान पुजिगत २ करोड २६ लाख प्राप्त भएको थियो । यसैगरि प्रदेश सरकारको सामनिकरण अनुदान १० करोड ३० लाख ९ हजार , सशर्त अनुदान चालू ३ करोड ८८ लाख ५४ हजार, सशर्त अनुदान पुजिगत ४५ लाख, विशेष अनुदान ५० लाख समपुरक अनुदान १ करोड प्राप्त भएको छ ।
यस्तै संघीय राजस्व बाँडफाँड ११ करोड ४६ लाख ४७ हजार, मालपोत कार्यलय (घर जग्गा रजिट्रेशन दस्तुर ) ५० लाख, राजस्व बाडफाड प्रदेश तर्फको २ करोड ८८ लाख ४५ हजार , बन रोयल्टी ५० लाख, दहत्तर बहत्तरको बिक्रीबाट हुने आय ५ करोड ७० लाख र गाउँपालिकाको आन्तरिक आम्दानी ४ करोड ७५ समेत गरि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट पारित भएको हो ।
बाग्मती गाउँपालिकाले प्राप्त अनुदान बजेट ३९ करोड ५५ लाख ५६ हजारबाट आर्थिक विकास तर्फ ११.०१% ,सामाजिक विकास तर्फ २४.२७%,पुर्वधार विकास तर्फ २८.१५%,सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा ३.५०%, र कार्य सन्चालन तथा प्रशासनिक क्षेत्र ३३.०६% खर्च गर्ने अनुमान छ।
पालिकाले प्रत्येक वडालाई प्रवर्द्धन गर्न प्रत्येक वडामा एक चिस्यान केन्द्र स्थापन गर्ने लक्ष्य लिएको छ। कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कृषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था बजेटमा मिलाइएको अध्यक्ष घलानले जानकारी दिए ।
बागमती गाउँपालिकाको समृद्धिको आधार कृषि र पुर्वधार भन्ने मुल नारा सहित बागमती गाउँ पालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट निर्माण गरेको उनले बताए ।
मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यस वर्ष भट्टराईलाई प्रदान गर्न लागिएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै समाजले प्रदान गर्ने पुरस्कारको जानकारी दिइएको हो । मातृभूमि र महालक्ष्मी बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार यो वर्ष २१ औं पुरस्कार रहेको समाजका अध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिए ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठ सम्मानित हुने भएका छन । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।
महालक्ष्मी साहित्य पुरस्कार र केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार साउन ६ गते शनिबार हेटौंडामा विशेष कार्यक्रमकाबीच प्रदान गरिने आयोजकले जनाएको छ ।
वित्तीय क्षेत्रमा काम गरिरहेको संस्थाले साहित्यको श्रीवृद्धिका लागि साहित्य पुरस्कारमा सहकार्य गरेकोमा समाज अध्यक्ष पोखरेलले महालक्ष्मी विकास बैंक प्रती कृतज्ञता प्रकट गरे ।
मातृभूमिद्वारा ५ पुरस्कार प्रदान गर्ने घोषणा
मातृभूमि साहित्य समाजले यसवर्ष प्रदान गरिने ५ पुरस्कार समेत शुक्रबारको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
समाजले १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई प्रदान गर्ने भएको छ । यसैगरी ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित हुने भएका छन । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिने समाज अध्यक्ष पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । समाजले उल्लेखित पुरस्कार श्रावण ५ गते एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रीव आचार्य, महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धिताल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हेमन्त ढुंगेल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको भीमफेदीमा नक्षत्र बाटिका निर्माण गरि बृक्षारोपण गरिएको छ । भीमफेदी १ बुङ्दल क्षेत्रमा निर्माण गरिएको नक्षत्र बाटिकामा विहीबार राशी अनुसारका २७ जातका विरुवा राेपिएकाे हो ।
सव डिभिजन वन कार्यालय भैंसे र दरवार डाँडा समूदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा स्मृती नक्षत्र बाटिकाको शिलान्यास र विरुवा रोपिएको हो । बागमती प्रदेशमै पहिलो पटक भूमि पुजन र नक्षत्रको पुजा गरि राशी अनुसारका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
आचार्यका अनुसार १२ राशी, ९ ग्रह र २७ नक्षत्रहरुलाई आधार मानेर स्मृती नक्षत्र बाटिकामा विरुवा रोपिएको हो । ‘प्रकृति र संस्कृतिको संयोजनलाई हामीले मकवानपुरमा पहिलो पटक मकवानपुरमा प्रयोगमा ल्याएका छौ’ आचार्यले भने ‘धेरैलाई राशी अनुसार विरुवा हुन्छ भन्ने थाहा छैन, आजको कार्यले धेरै मानिसले आफ्नो राशी, नक्षत्र अनुसारको विरुवा चिह्न सक्नेछन ।’ नक्षत्र बगैंचामा केरा, अमला, समी, आँक, मौलश्री, रिठ्ठा, पलाँस, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, वर, लहरे पिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत,कटहर, कदम, आँप महुवा, नीमको विरुवा रोपिएको छ । डिभिजन वन कार्यालय राप्ती, मनहरीको सहयोगमा वन उपभोक्ता समूहबाट संरक्षण हुने गरी स्मृती नत्रक्ष वृक्षारोपण गरिएको हो ।
नक्षत्र बृक्षारोपणमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा, मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य, भीमफेदी वडा १ का वडाध्यक्ष सोमबहादुर स्याङुतान, मकवानपुरगढी ५ का वडाध्यक्ष दिपेश दाहाल, डिभिजन वन कार्यालय मकवानपुरका अच्युत प्रसाद उपाध्याय, वन निर्देशनालयका हेम पाठक, फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, प्रदेश वन तथा वातावरण मन्त्रालयका सञ्जिव सुवेदी, दरवार डाँडा सामूदायिक वनका अध्यक्ष पूर्ण बहादुर घलान, बुङ्दल सामूदायिक वनका अध्यक्ष चन्द्र प्रसाद दुलाल लगायत वन कार्यालयका कर्मचारी, वन उपभोक्ता तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

नक्षत्र के हो ?
पूर्वीय ज्योतिष शास्त्र अनुसार आकाश मण्डलमा भएका ताराहरूको समूह नै नक्षत्र हो जसलाई चन्द्र महल भनिन्छ । वैदिक ज्योतिषमा नक्षत्रलाई धेरै महत्त्वपूर्ण अङ्ग मानिएको छ ।
वेद जस्तो सर्व प्राचीन ग्रन्थमा पनि नक्षत्रको बारेमा विशेष जानकारी दिइएको छ । नक्षत्रले आफ्नो प्रभावबाट कुनैपनि व्यक्तिको जीवनमा परिवर्तन ल्याउने क्षमता राख्दछ । त्यसैले हाम्रो सनातन धर्ममा नक्षत्रको अवस्था हेरी प्रतिकूललाई अनुकूल बनाउने प्रयास र तत् सम्बन्धी ग्रहको पाठ, पूजा, यज्ञ, अनुष्ठान, साधना र व्रत आदि गर्ने विधान रहेको छ ।
वैदिक ज्योतिष शास्त्र अनुसार नक्षत्र, पञ्चाङ्ग (पात्रो) को महत्त्वपूर्ण अङ्ग हो । शास्त्रमा नक्षत्रको जम्मा सङ्ख्या २७ मानिएको छ र अभिजित नक्षत्र समेत जम्मा २८ नक्षत्र हुन्छ तर ज्योतिषीय गणना पद्धतिमा भने केवल २७ वटा नक्षत्रको प्रयोग हुन्छ।
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र प्रत्येक पाउसँग एकएकवटा अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट सनातन धर्मान्तर्गत नवजात शिशुको नामकरण गरिन्छ। यस प्रक्रियाबमोजिम बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुर्दछ। यसको गणना गणितीय र ज्योतिषीय बिधि अनुसार गरिएको हुन्छ l
आकाश मण्डललाई समान १२ भागमा विभाजित गर्दा आउने एक भागलाई राशी भनिन्छ भने आकाश मण्डललाई समान २७ भागमा विभाजन गर्दा आउने एक भागलाई नक्षत्र भनिन्छ । बैदिक ज्योतिष शास्त्र अनुसार राशी चक्र ३६० डिग्रीको हुन्छ र यो ३६० डिग्रीलाइ १२ राशिले भाग गर्दा एउटा राशिको भागमा ३० डिग्री हुन आउँछ यसैगरी नक्षत्रको लागि ३६० डिग्रीलाई २७ भागमा विभाजन गर्दा एउटा नक्षत्रको भागमा १३.१३ डिग्री (१३ डिग्री २० मिनट) हुन आउँछ ।
नक्षत्र वृक्षारोपण
हरेक नक्षत्रको आ-आफ्नो प्रभाव हुन्छ। जुन नक्षत्रमा जुन व्यक्तिको जन्म हुन्छ सोहि अनुरूप उसको व्यक्तित्व, व्यवहार र आचरण हुन्छ। सनातन धर्ममा रुख र नक्षत्र मानव जीवनको अभिन्न अंग मानिएको छ। पुराणहरु अनुसार २७ नक्षत्रहरु पृथ्वीमा २७ रुखहरुको रूपमा उत्पन्न भएका छन्। ति रुखहरुमा प्रत्येक नक्षत्रको दैवीय अंश विद्यमान रहेको हुन्छ। यी रुखहरुको सेवा वा पूजा गर्नु नै सम्बन्धित नक्षत्रको सेवा वा पूजा हुन् जान्छ।
सुख,शांति एवं दीर्घायुको लागि आ -आफ्नो नक्षत्र रुखको पूजा गर्नु राम्रो मानिन्छ। नक्षत्र वाटिकामा नक्षत्र संग मेल खाने गरि विरुवाहरुको चयन गरिन्छ। शारीरिक, मानसिक, अध्यात्मिक हिसाबले २७ नक्षत्रहरुकालागि सिफारिश गरिएका रुखहरु एकै स्थानमा रोप्नु राम्रो मानिन्छ। यसबाट व्यक्तिको कल्याण मात्र नभई वृक्षारोपणले पृथ्वीकोलागि योगदान समेत पुग्न जान्छ।
कुन नक्षत्रमा कुन बिरुवा ?
• अश्विनी नक्षत्रमा कुचिला (Strychnos nuxvomica)
• भरणी नक्षत्रमा अमला (Phyllanthus emblica/Emblica officinalis)
• कृतिका नक्षत्रमा डुमरी (Ficus racemosa)
• रोहिणी नक्षत्रमा जामुन(Syzygium cumini)
• मृगशिरा नक्षत्रमा खयर(Acacia chundra)
• आद्रा नक्षत्रमा सिसौ(Dalbergia sissoo) अगर वुद
• पुनर्वसु नक्षत्रमा बांस(Dendrocalamus strictus/Bambusa arundinacea)
• पुष्य नक्षत्रमा पीपल(Ficus religiousa)
• अश्लेषा नक्षत्रमा नागकेसर(Mesua ferrea)
• मघा नक्षत्रमा बर(Ficus bengalensis)
• पूर्व फाल्गुनी नक्षत्रमा पलास(Butea monosperma)
• उत्तर फाल्गुनी नक्षत्रमा पहरे पिपल (Ficus rumphii) काभ्रो
• हस्त नक्षत्रमा जाई अथवा रीठा (Jasminum grandiflora/or Sapindus mukorossi)
• चित्रा नक्षत्रमा वेल (Aegle marmelos)
• स्वाति नक्षत्रमा अर्जुन(Terminalia arjuna)
• विशाखा नक्षत्रमा कंकेरो (Mytenus emarginata) नाग्केसर
• अनुराधा नक्षत्रमा बकुलपुष्प(Mimusops elengi) नाग्केसर
• ज्येष्ठा नक्षत्रमा सिमल(Bombax ceiba)
• मूल नक्षत्रमा राजवृक्ष (Cassia fistula)
• पूर्वाषाढ़ा नक्षत्रमा बेत(Calamus rotang)
• उत्तराषाढ़ा नक्षत्रमा कटहर (Artocarpus heterophyllus)
• श्रवण नक्षत्रमा आँक (Calotropis gigantea)
• धनिष्ठा/श्रविष्ठा नक्षत्रमा शमी (Prosopis cineraria) jand
• शतभिषा/शततारका नक्षत्रमा कदम(Anthocephalus cadamba)
• पूर्वभाद्रपद/पूर्वप्रोष्ठपदा नक्षत्रमा आँप(Mangifera indica)
• उत्तरभाद्रपद/उत्तरप्रोष्ठपदा नक्षत्रमा नीम(Azadirachta indica) र
• रेवती नक्षत्रमा महुआ (Madhuca indica) ।
हामीहरुले पनि नक्षत्र वृक्षारोपण शुरु गर्ने हो कि ?
नव ग्रह वृक्षारोपण
सूर्य, चंद्र, मंगल, बुध, बृहस्पति, शुक्र,शनि, राहू र केतु गरि नौ वटा ग्रह हाम्रो धर्म संस्कृतिले मानि आएको छ । ग्रहको सकारात्मक र नकारात्मक प्रभाव दुवै हुने मान्यता रही आएको छ। नव ग्रहको पूजाबाट सकारात्मक ब्रह्मांडीय ऊर्जा प्राप्त हुने बिश्वास गरिन्छ। नवग्रह वाटिकामा नवग्रह मंडल अनुसार विरुवाहरु रोपणकालागि स्थान छुट्ट्याइन्छ ।
हरेक ग्रह अनुसार यज्ञकोलागि समिधाको प्रकार तय गरिएको हुन्छ र सोहि अनुसार प्रजातिहरु मिलान हुने गरी विरुवाहरु रोपिन्छन।
सूर्यमा आँक (Calotropis gigantea), चंद्रमामा पलाश(Butea monosperma), मंगलमा खयर (Acacia catechu), बुधमा अपमार्ग (Achryanthes aspera), बृहस्पतिमा पीपल(Ficus religiosa), शुक्रमा डुमरी(Ficus racemosus), शनिमा शमी(Prosopis spicigira), राहुमा दुबो(Pao cynasuroides) र केतुमा कुश(Eragrostis cynasuroides)।
ग्रहको विपरीत असरबाट बच्नको लागि यी प्रजातीहरुको समिधा प्रयोग गरिन्छ । धर्म शास्त्र अनुसार आँकको समिधाले रोगको नाश गर्दछ,पलाशले सबै कार्य सिद्ध गर्दछ,खयरले क्रोध र अवसादबाट मुक्ति दिने,अपमार्गले बुद्धि विकास र निर्णय क्षमता वृद्धि गर्ने, पीपलले प्रजा (सन्तति)लाई काम गराउने,डुमरीले स्वर्गको अनुभूति दिलाउने,शमीले पाप नाश गर्ने,दूवोले दीर्घायु दिने र कुशले सबै मनोरथ सिद्ध गर्ने विश्वास गरिन्छ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा १५ राताेमाटेबाट ४७ लाख बराबरकाे सुन सहित १ जनालाई निययन्त्रमा लिएकाे छ । हेटौडा १५ रातोमाटे स्थित हेटाैडा पथलैया सडकखण्डमा काठमाडौंबाट बिरगंजतर्फ जादै गरेको ना १ ज ७४९० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमाेका यात्रु प्रभु साह साेनारले ल्याएकाे सुन बरामद गरी नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नम्बर–१ का ३५ वर्षीय सोनारमाथि शंका लागि शरीर तथा झोला खानतलासी गर्ने क्रममा निजको साथबाट भन्सार छली गरी ल्याएको पहेलो धातु सुन ४ सय ८९ ग्राम ३७ मिली ग्राम बरामद गरि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
बरामद गरिएकाे सुनको विहीबारको बजार मुल्य ४७ लाख ३६ हजार ७ सय ५९ रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।
यसैगरी मकवानपुर प्रहरीले हेटौंडा १५, रातोमाटेस्थित सडकखण्डबाट साढे ३ लाखभन्दा बढीको कपडा तथा खाद्यान्न बरामद गरेको छ ।
प्रहरीले असार २५ र २६ गते हेटौडा पथलैया सडकखण्डमा सवारी जाँच गर्ने क्रममा यात्रुबाहक बसका डिक्कीबाट भन्सार छली ल्याइएको ३ लाख ५७ हजार ८ सय ८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
उक्त कपडा र खाद्यान्न प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरेको कपडा तथा खाद्यान्न आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
