मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा पहिरोमा परी १ जना प्रहरीको मृत्यु भएको छ । भिमफेदी–२, भैंसेमा पहिरोमा परी प्रहरी चौकी भैंसेमा कार्यरत प्रहरी जवान कृति बहादुर नेपालीको ज्यान गएको हो ।
जाजरकोट जिल्ला, शिवालय नगरपालिका–८ का २२ वर्षीय नेपाली मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल ईलाका प्रहरी चौकी भैंसेमा कार्यरत रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
विहीबार भैंसे चेकपोष्टमा डिउटीमा रहेका नेपाली चिप्लिएर लडी सामान्य घाईते भएका थिए । घाइते नेपालीको हेटौंडा अस्पतालमा उपचार गरि फर्कने क्रममा राति सुख्खा पहिरो खस्दा ढुङ्गाले लागि मोटारसाइकल चालक प्रहरी जवान सुनिल मेचेसहित नेपाली घाइते भएका थिए ।
घाईते नेपाली र मेचेलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएमा उपचारको क्रममा नेपालीको रातिनै मृत्यु भएको हो । मोटरसाइकल चालक मेचेको अवस्था भने सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
रमा सुवेदी
यो अन्तिम भेट हुनेछ
तिम्रो अनि मेरो
यो भेटपछि
तिमीले मलाई भुल्नु पर्नेछ
मैले पनि तिमीलाई बिर्सिनु पर्नेछ
सदाका लागि एकले
अर्कालाई बिर्सिनु अघि
स्मृतिका पानाहरुमा
एक अर्कालाई थुनेर राख्नु अघि
सधैंका लागि अपरिचित,
अन्जान अनि
अनभिज्ञ बनिदिनु अघि
बाटामा देख्दा पनि
नदेखे झैं गर्नु पर्ने
बाध्यतामा पर्नु अघि
कुमै ठोक्किँदा पनि
अस्तित्वै नमानेर
अघि बढ्ने स्थितिमा पुग्नु अघि
आउ आज अन्तिम पटक
त्यो पहिलो प्रेम अनि
पहिलो भेटलाई ब्यूताइदिउँ
तिमी र मैले
पहिलो पटक
एक अर्कालाई देख्दा
हाम्रो ओठमा आएको
प्रेमिल मुस्कान
आँखामा देखिएको मादकता
मनमा उठेका तरंगका छालहरू
विचारमा आएका सुनामी
शरीरमा फुटेका ज्वालामुखी
सबैलाई ब्यूउँझाइदिउँ
ब्यूँताएर सधैंका लागि
निभाइदिउँ
रुँदा रुँदै हाँसिदिउँ
हाँस्दा हाँस्दै रोइदिउ
यो अन्तिम भेटलाई
पहिलो भेट जस्तै
अमर बनाइदिँउ
पहिलो पटक भेट्दै गरेका
नवीन प्रेमी जोडी बनेर
कहिल्यै नमेटिने यादहरू बनाइदिउँ
कहिल्यै धमिलो नहुने सम्झनाहरू बुनिदिउँ
यो भेटबाट तिमी आफ्नो
जीवनभरलाई पुग्ने गरी
मेरो स्मृति लैजानु
म पनि तिमीलाई
मन, मुटु, आँखा अनि
मस्तिष्कभरी खाँदेर
कहिले नमेटिने तिम्रो तस्वीर
तिम्रो छाप लिएर जानेछु
तनभरि अनि मनभरि
तिमीलाई सजाएर
भविष्यमा छुट्टिनु पर्दाका गुनासोहरू
समेत फितलो हुने गरी
तड्पिनु पर्दाका पीडाहरु पनि
फिक्का हुने गरी
अविस्मरणीय बनाइदिउँ
स्मृतिमा अमर बनाइदिउँ
पहिलो भेट जस्तै, यो अन्तिम भेटलाई
हेटौंडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकका १ जनाको डेंगू संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, पदमपोखरीका राजेश प्रधानको डेंगू संक्रमणबाट विहीबार मृत्यु भएको हो ।
प्रधानलाई ३ दिन अघि हेटौंडास्थित सन्चो अस्पतालमा परीक्षण गराउँदा डेंगू संक्रमण पुष्टि भएको थियो । डेंगू संक्रमण देखिएपछि घरमै आराम गरेका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधबार थप उपचारका लागि चितवन भरतपुर लगिएको प्रधानको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक प्रधानलाई दोस्रो पटक डेंगू संक्रमण पुष्टि भएको थियो ।
हेटौंडामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि
यसैगरी हेटौंडा उपमहानगरपालिकामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगू संक्रमण पुष्टि भएका १२ जना हेटौंडा उपमहानगरपालिका भित्रका भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार, विहीबार थपिएसँगै हेटौंडामा साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमणको कूल संख्या ५४ जना पुगेको छ । जसमा २८ जना पुरुष र २६ जना महिला रहेका छन् ।
यस्तै, जिल्लामा साउन १ गतेदेखि विहीबारसम्म ५८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर बागमती गाउंपालिका ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये अर्काे १ जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहानकाे पहिरोमा परेर बेपत्ता भएका मध्ये ८ महिनाकी दिब्या पहरी मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।
विहीबार ६:४८ बजेको समयमा जिल्ला सिन्धुली हरिहरपुर गाउँपालिका ३ बनौलीस्थित बागमती खोलाको किनारमा दिब्या मृत भेटिएकाे मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । पहिरोमा बगाएका बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान ज्वाई २५ बर्षीय जीवन पहरी, नाती ४ बर्षीय मिलन पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको कार्कीले बताए ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण मंगलबार साउन २३ गते बिहान ४ बजेको पहिरोले घर बगाउँदा ७ जना बेपत्ता भएकाेमा अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्याङ्तानकाे मंगलबार विहानै उद्दार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियाे ।
पहिरोले स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, ८ महिनाकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्दाजी १६/१७ वर्षका पासाङ घिसिङलाई बगाएकाे थियाे ।
पहिराे परी बेपत्ता भएका सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङकाे मात्रै जीवित उद्दार गरिएकाे छ । घिसिङकाे हेटौडा अस्पतालमा उपचार भइरहेकाे छ ।
मकवानपुर । मकवानपुर बागमती गाउंपालिका ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये अर्काे १ जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहानकाे पहिरोमा परेर बेपत्ता भएका मध्ये १ जना पुरुषकाे शव फेला परेको प्रहरीले जनाएकाे छ ।
सिन्धुली हरिहरपुर १ कोकरे स्थीत बागमती नदीकाे बिच बगरमा ६० बर्षका अक्कल बहादुर स्याङ्तान मृत अबस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । बुधबारनै उक्त स्थानमा स्याङ्तानको छोरी २२ वर्षकी शिला पहरी मृत अवस्थामा फेला परेकी थिइन् ।
अविरल वर्षाकाे कारण मंगलबार विहान ४ बजे गएकाे पहिराेमा परी ७ जान वेपत्ता भएकाेमा सन्त माया स्याङ्तानलाई मंगलबार नै उद्दार गरी स्थानीय स्वास्थ्यमा लैजादा मृत्यु भएकाे थियाे । पहिराेले बगाएका सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार बेलुका जीवितै उद्दार गरिएकाे थियाे ।
पहिरोमा बगाएका अक्कल बहदुरका ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी र नातिनी डेढ बर्षीय दिब्या पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।