मकवानपुर । हेटौंडा उपमहानगरपालिकका १ जनाको डेंगू संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, पदमपोखरीका राजेश प्रधानको डेंगू संक्रमणबाट विहीबार मृत्यु भएको हो ।
प्रधानलाई ३ दिन अघि हेटौंडास्थित सन्चो अस्पतालमा परीक्षण गराउँदा डेंगू संक्रमण पुष्टि भएको थियो । डेंगू संक्रमण देखिएपछि घरमै आराम गरेका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधबार थप उपचारका लागि चितवन भरतपुर लगिएको प्रधानको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक प्रधानलाई दोस्रो पटक डेंगू संक्रमण पुष्टि भएको थियो ।
हेटौंडामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि
यसैगरी हेटौंडा उपमहानगरपालिकामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगू संक्रमण पुष्टि भएका १२ जना हेटौंडा उपमहानगरपालिका भित्रका भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार, विहीबार थपिएसँगै हेटौंडामा साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमणको कूल संख्या ५४ जना पुगेको छ । जसमा २८ जना पुरुष र २६ जना महिला रहेका छन् ।
यस्तै, जिल्लामा साउन १ गतेदेखि विहीबारसम्म ५८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

